समीरलाई विराजको ३ करोड मूल्य पर्ने विलासी गाडी उपहार
काठमाडौं । समीर भट्ट सबैभन्दा महंगो गाडी चढ्ने नेपाली कलाकार बन्ने भएका छन् । ‘१२ गाउँ’ फिल्मको सुपरहिट सफलतापछि निर्देशक पिता विराज भट्टले छोरा समीरको लागि ३ करोडभन्दा धेरै मूल्य पर्ने गाडी खरिद गरेका छन् ।
शुक्रबार विराजले चावहिलस्थित टोयोटाको शोरुमबाट ‘ल्याण्ड क्रुजर २५०’ मोडलको गाडी किनेका हुन् । रोचक कुरा के छ भने, ‘१२ गाउँ २’को निर्माण इजाजत लिएको केही दिनमै विराजले छोराको लागि विलासी गाडी खरिद गरेका हुन् ।
गाडी किनेपछि शोरुमभित्रै उनले केक काटे अनि आफै हाँकेर घरतिर लागे । बुझिएअनुसार, इटहरीमा छायांकन भैरहेको फिल्म ‘बलिदान’को सेटमै पुगेर विराजले छोरालाई महंगो उपहार दिन लागेका हुन् । पछिल्लो समय कलाकारले गाडी र घर किन्नु नौलो होइन तर, दर्शकमाझ यो कुराले अर्थ राख्छ ।
विराज निर्देशित ‘१२ गाउँ’ले १९ करोड ५७ लाख रुपैयाँ ग्रस कमाइ गरेको तथ्यांक चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ । यो फिल्मबाट उनले १० करोड रुपैयाँ नाफा कमाएको अनुमान छ ।