आफ्नै खेल मैदानका लागि पहल गरिदिन देउवासँग पारालिम्पिक खेलाडीको माग
२७ पुस, काठमाडौं । राष्ट्रिय पारालिम्पिक कमिटि (एनपीसी) नेपालले पारालिम्पिक खेलाडीका लागि आफ्नै खेल मैदानको माग गरेको छ ।
शारीरिक र अशक्त नागरिकहरुको हितमा विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाराखेलकुद गर्दै आएको कमिटीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यस्तो माग गरेको हो ।
शनिबार विहान देउवा निवास बुढानिलकण्ठ पुगी कमिटीका पदाधिकारीले आफ्नै खेल मैदानको माग सहित अन्य विषयसहितको ज्ञापनपत्र बुझाएको हो । पाँचबुँदे ज्ञापनपत्र बुझाउन राष्ट्रिय पारालिम्पिक कमिटिका अध्यक्ष राधा घलेको नेतृत्वमा पदाधिकारीको टोली देउवा निवास पुगेको थियो ।
टोलीले एउटा पारा रंगशालासहित उचित खेल मैदान को माग गर्दै देउवालाई पारा खेलकुद मार्फत नेपालीले अन्तराष्ट्रिय मञ्चमा नेपालीलाई चिनाउने काम गरेको जानकारी गराएको थियो ।
कमिटीका संयोजक ओमनाथ सिवाकोटीले राष्ट्रिय पारालिम्पिक कमिटी अन्तर्गत २२ वटा विविध पारा खेलकुद रहेको भन्दै नेपालको कुल जनसंख्याको १० प्रतिशत शारीरिक अशक्त नागरिकका लागि काम गर्दै आएको बताए ।
राष्ट्रिय पारालिम्पिक कमिटीसँग १० हजार पारा खेलाडी रहेका छन् । अहिलेसम्म ५० जना भन्दा बढी खेलाडीले अन्तराष्ट्रिय क्षेत्रमा सहभागिता जनाइसकेका छन् ।
सन् २०२४ मा नेपालले पेरिस पारालिम्पिकमा काँस्य पदक प्राप्त गरेको थियो । तेक्वान्दो मार्फत पलेशा गोवर्धनले काँस्य पदक जितेकी थिइन् ।
राष्ट्रका लागि खेल्ने शारीरिक अशक्त खेलाडीहरूका लागि विभिन्न समस्या रहेको जानकारी दिँदै टोलीले बुँदागत रूपमा रूपमा सभापति देउवासमक्ष रंगशाला र खेल सामग्रीको अन्य सुविधा नभएको गुनासो गरेका थिए ।
पारालिम्पिक कमिटीका पदाधिकारीलाई जवाफ दिँदै कांग्रेस सभापति देउवाले सबै समस्याको समाधान हुने भन्दै आवश्यक कदम चालिने आश्वासन दिएका थिए ।
टोलीले हेटौंडामा छिट्टै एउटा रंगशाला बनाइदिन पनि विशेष माग गरेको थियो ।
भेटमा पारा सुटिङ्गका महासचिव मुक्तिनाथ अधिकारीले ज्ञापनपत्र हस्तान्तरण गर्दै संयुक्त राष्ट्रसंघको जेनेभा सन्धिको आर्टिकल २५ ले अशक्त नागरिकहरूको अधिकारलाई सम्बोधन गरेको स्मरण गराएका थिए ।