स्पीनरको कसिलो बलिङमा ब्याटरको संघर्ष – Online Khabar
२१ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत आइतबार पहिलो दिनको दुवै खेल सकिएको छ ।
आइतबार पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा धनुषाको जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशबीच पहिलो दिनको खेल भएको थियो ।
पर्सामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको थियो । आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।
पुलिसका ललित राजवंशी एक्लैले सात विकेट लिए । ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १-१ विकेट हात पारे । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका थिए ।
जवाफमा पुलिसले पहिलो दिनको समाप्तिमा २४ ओभर खेलेर ७ विकेटको क्षतिमा १०३ रन बनाएको छ । पुलिस अब अग्रताबाट १८ रन मात्र पछाडि छ । उसका गुल्शन झा ३४ रनमा अविजित छन् । आर्मीका साहब आलमले ५ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिएका छन् ।
त्यसैगरी जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको मधेशले ३५.२ ओभरमा अलआउट हुँदै १०२ रन बनाएको थियो । मधेशका मयन यादवले सर्वाधिक २१ रन बनाए । बागमतीका सन्दीप लमािछानेले ५ विकेट लिँदा सुर्य तामाङले ३ विकेट तथा नन्दन यादव र प्रतिश जिसीले १-१ विकेट लिए ।
जवाफमा बागमतीले १३ ओभर खेल्दा २ विकेट गुमाएर ३४ रन बनाएको छ । बागमतीका शुभ कंसाकार २२ तथा इशान पाण्डे ९ रन बनाएर खेलिरहेका छन् । मधेशका रुपेश सिंह र विशाल पटेलले १-१ विकेट लिएका छन् ।
पहिलो दिनको खेलमा स्पीनरहरूले घातक बलिङ गर्दा ब्याटरहरूले संघर्ष गरे । पहिलो दिन खसेका कुल २९ विकेटमध्ये २२ विकेट स्पीनरको नाममा रह्यो । तीन खेलाडीले ५-विकेट फिगर पूरा गरेकोमा ललितले ७ विकेट नै लिए ।
सोमबार दुवै खेलको दोस्रो दिनको खेल विहानदेखि सुरू हुनेछ ।