क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा – Online Khabar
२२ पुस, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनाको घोषणा गरेका छन् । यद्यपि लिबरल पार्टीबाट नयाँ नेता नचुनिएसम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नेछन् ।
आज आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले दलको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि सत्ता हस्तान्तरण गर्ने जनाए ।
राजीनामाको घोषणा गर्दै उनले आफूलाई योद्धाको संज्ञा दिए । उनले भने, ‘प्रधानमन्त्रीको रूपमा हरेक दिन सेवा गर्न पाउनु मेरो लागि गर्वको कुरा हो । हामीले महामारीका बेला सेवा गर्यौँं । बलियो लोकतान्त्रका लागि काम गर्यौँं । तपाईंहरू सबैलाई थाहा छ म योद्धा हुँ ।’
उनले सन् २०१५ मा प्रधानमन्त्री बनेदेखि नै क्यानडाको हितका लागि र मध्यम वर्गीय जनतालाई माथि उकास्नका लागि काम गरेको बताए ।
तर, उनले किन राजीनामा दिए भन्नेमा चाहिँ चासो छ । जानकारहरू भन्छन्– ट्रुडोको लोकप्रियता खस्किँदै गएको थियो । त्यसैले लिबरल पार्टीका नेताहरूले नै राजीनामा दिन दबाब दिँदै आएका थिए । त्यसैले उनले राजीनामा दिएको बीबीसीले जनाएको छ ।
क्यानडामा सन् २०२५ को अक्टोबर महिनामा चुनाव हुँदैछ ।