#समाचार

पछि हट्ने मुडमा छैनन् जनार्दन – Online Khabar

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेपछि शंखपार्कस्थित एक पार्टी प्यालेसमा हुने छ ।

त्यसअघि आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने छ । स्थायी समिति बैठक केन्द्रीय समिति बैठककै तयारीमा केन्द्रित हुने छ ।

एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । प्रचण्डको प्रतिवेदनमा राजनीतिक परिस्थितिको समीक्षा, संगठन पुनर्निर्माण, नेताहरुको कार्यविभाजनका साथै जनपरिचालन अभियान लगायतका विषय समेटिएका छन् ।

एक नेताका अनुसार उनको प्रतिवेदनमा आफू नेतृत्वको पछिल्लो सरकारले गरेका सुशासनका कामको विवरण समेटिएको छ । त्यसपछि बनेको कांग्रेस–एमालेको गठबन्धन सरकारले अलोकप्रिय भएको भन्दै उनले जनताले माओवादी केन्द्रलाई नै रुचाएको निष्कर्षसमेत प्रतिवेदनमा छ । त्यसको आधारको रुपमा उनले स्थानीय तह निर्वाचनको परिणामलाई समेत उद्धृत गरेका छन् । साथै प्रचण्डले माओवादी घटकलाई एकठाउँमा ल्याउने विषय पनि प्रतिवेदनमा समेटेको स्रोतले बतायो ।

केन्द्रीय समितिको बैठक सुरु हुनुअघि बसेको स्थायी समिति बैठकमा अधिकांश नेताहरुले पार्टीको आन्तरिक एकतामा जोड दिँदै अन्तरसंघर्ष तत्काल थाती राखेर महाधिवेशनबाट हल गर्नुपर्ने धारणा राखेका थिए । अन्तरसंघर्षको बहस थाती राख्ने प्रस्तावमा उपमहासचिव शर्मा भने तयार छैनन् ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी रुपान्तरणका लागि महाधिवेशनमा जानुपर्ने मत राख्दै आएका छन् । हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको प्रस्ताव शर्माले राखेका छन् । अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव छ ।

गत साउनमा बसेको स्थायी समिति बैठकमा प्रस्तुत गरेको यो प्रस्तावमा शर्माले विहीबार र शुक्रबारको स्थायी समिति बैठकमा पनि अडान कायम राखेका थिए । केही नेताहरुले विशेष महाधिवेशन नै बोलाउनुपर्ने माग राखेका थिए ।

तर मिडियामा अन्तरसंघर्षको बहस थाती राख्ने निर्णय स्थायी समिति बैठकबाट भएको भनी समाचार सार्वजनिक भएको भन्दै शर्माले असन्तुष्टि जनाएका छन् । स्थायी समिति बैठकमा केन्द्रीय समिति बैठकका लागि एजेन्डा प्रस्तुत गरिएको, स्थायी समिति सदस्यले आफ्ना सुझाव प्रस्तुत गरेको र केन्द्रीय समितिमा छलफल बहस पश्चात निष्कर्षमा पुग्ने अध्यक्षले उद्घोष गरेको बाहेक कुनै निर्णय नभएको शर्माको भनाइ छ ।

उनले आफ्ना प्रस्तावमाथि केन्द्रीय समिति बैठकमै बहस गरेर आवश्यक निर्णय होस् भन्ने चाहेको निकटस्थहरुलाई बताएका छन् । ‘उहाँ (जनार्दन शर्मा) पछि हट्ने मुडमा हुनुहुन्न । पार्टी रुपान्तरणका लागि राखेका प्रस्तावमाथि बहस गर्दै निर्णय होस् भन्ने उहाँको चाहना छ,’ उनी निकट एक केन्द्रीय सदस्यले भने । त्यसैले आजबाट सुरु हुने केन्द्रीय समिति बैठकप्रति शर्माका प्रस्तावमाथिको बहसमा चासो व्यक्त भइरहेको छ ।

माओवादी केन्द्रले ६ महिनासम्म राजनीतिक अभियान चलाएर महाधिवेशनको मिति तोक्ने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मध्यपहाडी र हुलाकी राजमार्ग केन्द्रित गरी ६ महिनासम्म राजनीतिक अभियान चलाउने प्रस्ताव गरेका छन् । सो प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गरिसकेको छ । अब केन्द्रीय समितिबाट पनि निर्णय गराएर अभियान चलाउने र त्यसपछि महाधिवेशनको मिति तोक्ने माओवादी केन्द्रको तयारी छ ।

पछि हट्ने मुडमा छैनन् जनार्दन – Online Khabar

जनावरलाई थापेको धरापमा युवक परे, ४ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *