बाँझोपन भएका पशुको पहिचान गर्दै बिदुर नगरपालिका – Online Khabar
२० पुस, त्रिशुली (नुवाकोट) । नुवाकोटको बिदुर नगरपालिकाले बाँझोपन भएका पशुको पहिचान गरी उपचार गर्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरेको छ ।
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहयोगमा नगरपालिकाको पशु सेवा शाखाले ‘गाईभैँसीमा हुने बाँझोपन पहिचान र उपचार’ शिविर सञ्चालनमा ल्याएको हो ।
नगरप्रमुख राजन श्रेष्ठले प्रविधिमार्फत भिडियो एक्सरेको सहयोगमा चिकित्सकले समस्याको पहिचान गर्ने र निवारणका लागि औषधिसहितको परामर्श सेवा उपलब्ध दिने जानकारी दिए ।
उनका अनुसार गाईभैँसीमा हुने बाँझोपनको पहिचान गरी समस्या समाधान गर्न परीक्षण थालिएको हो ।
हालसम्म आठ वटा वडामा १८ किसानले पालेका २१ गाई र तीन वटा भैँसीमा समस्याको पहिचान भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । ‘किसानले पालेका गाईभैँसीमा बाँझोपनको समस्या भएपछि किसानलाई पशुधनको सुरक्षणमा चुनौती थपिएकाले पालिकाबाट निःशुल्क शिविरमार्फत समस्याको पहिचान र निवारणको प्रयास थालिएको हो’, उनले भने ।
नगरप्रमुख श्रेष्ठले शिविरमार्फत किसानलाई आफूले पालन गरेको पशुचौपायको नियमित जाँच तथा परीक्षण गर्न र आवश्यकताअनुसार खाद्यतत्व उपलब्ध गराउन सजग गराइएको बताए ।
बाँझोपन समस्या पहिचान गरी निवारणका लागि सञ्चालन गरिएको शिविरमार्फत समस्या पहिचान भएका पशुमा खाद्यतत्वको सन्तुलन नहुँदा बाँझोपनको समस्या देखिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा शत्रुधन शाहले जानकारी दिए ।
किसानले उन्नत जातका पशु पालन गरे पनि सोहीअनुसार बासस्थान र खानपान मिलाउन नसकेकाले समस्या आएको उनले बताए ।
पशु चिकित्सक र प्राविधिकको टोलीद्वारा विदुरका किसानले पालन गरेका गाईभैँसीको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मार्फत पाठेघर र डिम्बको अवस्था परीक्षण गरी समस्या पहिचान गरिएको विदुर नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा सुजता अधिकारीले जानकारी दिए ।
उनका अनुसार पशुलाई बाँझोपन हुनबाट जोगाउन पशु प्राविधिकको सल्लाहमा जुका र नाम्लेको औषधि खुवाउन, खनिज, प्रोटिनलगायत पौष्टिक तत्व पाइने घाँसपातसहितको खुराक खुवाउन किसानलाई सुझाव दिइएको छ ।