#समाचार

पुम्दीकोटबाट नजर डुलाउँदा (तस्वीरहरु) – Online Khabar

१९ पुस, काठमाडौं । देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा पहिचान बनाएको पोखरा पुग्ने जो कोही स्वदेशी तथा विदेशी पाहुनाको भ्रमण सूचीमा पर्छ पुम्दीकोट ।

पोखरा महानगरपालिकाको वडा नं. २२ मा पर्ने पुम्दीकोट पाहुनाहरुको प्रमुख रोजाइमा पर्नुको मुख्य कारण त्यहाँबाट देखिने मनमोहक दृश्य नै हो । पोखरा मुख्य बजार क्षेत्रदेखि करिब १३ किलोमिटर दूरीमा रहेको पुम्दीकोटबाट निलाम्मे फैलिएको तालतलैया, बजारदेखि विभिन्न हिमशृंखला एकै नजरमा नियाल्न पाइन्छ ।

पुम्दीकोटबाट पुम्दीकोटमात्रै होइन, सिंगो पोखरा अवलोकन गर्न पाउने सुविधा मिल्छ।

पुम्दीकोटमै ह्वाइट स्तूप पहिलेदेखि भएकाले बौद्ध धर्मालम्बीसहित अन्य शान्त अनुरागी त्यहाँ पुगिरहन्थे । पछिल्लो समय पुम्दीकोटमै महादेव (शिव)को मूर्ति स्थापना भएपछि धार्मिक पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ ।

उत्तरतर्फ विभिन्न हिमशृङ्खलासँगै सराङकोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न पाइने भएकाले पनि आन्तरिक र बाह्य पर्यटक केहीबेरलाई भए पनि पुम्दीकोट उकालो उक्लिन्छन्।

पुम्दीकोटबाट माच्छापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलासँगै, फेवाताल, पोखरा बजार, लेखनाथ लगायतका ठाउँहरूको समेत अवलोकन गर्न सकिन्छ । पुम्दीकोटको विशाल महादेव मूर्ति भएको परिसरको दक्षिण पश्चिम कुना जहाँबाट हिमाली शृङ्खलाहरू एकसाथ देख्न सकिन्छ । यहाँबाट विभिन्न ११ वटा हिमशिखर एकसाथ अवलोकन गर्न सकिन्छ ।

यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार नौ सय ३७ मिटरको अन्नपूर्ण दोस्रो, सात हजार पाँच सय ५५ मिटरको अन्नपूर्ण तेस्रो, सात हजार पाँच सय २५ मिटरको अन्नपूर्ण चौथो, सात हजार चार सय ८५ मिटरको खाङसारकाङ र सात हजार दुई सय ९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल देख्न सकिन्छ ।

त्यस्तै छ हजार नौ सय ९७ मिटरको माछापुच्छ्रे, छ हजार नौ सय ८३ मिटरको लमजुङ, छ हजार चार सय ४१ मिटरको घान्द्रुक हिउँचुली र पाँच हजार सात सय ८१ मिटरको मर्दी हिमाल अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो ।

 

पुम्दीकोटबाट नजर डुलाउँदा (तस्वीरहरु) – Online Khabar

माधव रेग्मी – Online Khabar

Leave a comment

Your email address will not be published. Required fields are marked *