जाडोमा लगाइने बाक्लो कोटले पनि बढाउँछ गर्दन र काँधको समस्या
दिनभर अफिस जाने र औपचारिक पहिरन लगाउनेहरूको दिनचर्यामा कोट एक महत्वपूर्ण हिस्सा हो । जाडोयाममा त चिसो मौसममा न्यानो बनाउने र व्यक्तित्वलाई आकर्षक देखाउने हुँदा पनि प्राय:ले बाक्लो कोट लगाउन रुचाउँछन् ।
तर धेरैले थाहा नपाएको कुरा के हो भने लामो समयसम्म कोट लगाउँदा गर्दन र काँध दुख्ने समस्या देखा पर्न सक्छ । यो समस्या तब गम्भीर बन्न सक्छ, जब छाम्दा पनि कडा हुने खालको कपडामा तयार भएको भारी वा गलत फिट भएका कोट लगाइन्छ ।
कसरी समस्या पार्छ ?
कोटले समस्या पार्ने दुई अवस्था छन् । एउटा कोटको बनावट, अर्को शरीरको भारी वजन । कडा कपडाबाट बनेका वा काँध र गलामा गह्रौं डिजाइन भएको कोटले शरीरको प्राकृतिक गतिशीलतामा बाधा पुर्याउँछ । काँध, गर्दन र मांसपेशीमा अनावश्यक दबाब पार्छ ।
अर्को समस्या भनेको कोटको फिटिङ हो । धेरै कसिलो वा खुकुलो हुने कोट लगाउँदा शरीरको सन्तुलन बिग्रिन सक्छ । कसिलो कोटले गर्दन र काँधमा अत्यधिक दबाब पार्छ भने फितलो कोटले निरन्तर हलचल हुँदा मांसपेशीलाई थकान पुर्याउँछ ।
यसले गर्दा गर्दन दुख्ने, काँध अरलो हुने र कहिलेकाहीं टाउको दुख्ने समस्या समेत देखिन्छ । त्यसमाथि पनि मोटोपन भएको व्यक्तिमा बोसो सबै ठाँउमा हुन्छ । यस्तोमा कसिलो र गह्रौं कोटले गतिशीलतामा बाधा पुर्याइरहेको हुन्छ ।
ऊन वा अन्य भारी सामग्रीबाट बनेका कोट दिनभर लगाउँदा काँध र गर्दनको मांसपेशीमा थकान महसुस हुन थाल्छ । गह्रौं कपडाको तौलले मांसपेशीलाई लामो समयसम्म तनावमा राख्छ, जसले गर्दा दुखाइको समस्या झन् गहिरो बन्न सक्छ । यस्ता कोटले हात चलाउन र हिंड्न समेत असहज गराउने मांसपेशी दुख्ने हुनसक्छ ।
एकछिन वा एक दिनमा यो समस्या भएको अनुभव नभए पनि दैनिक लगाउने हो भने भारीकोटको दबाब लामो समयसम्म रहँदा मांसपेशीमा थकान पैदा गर्ने, गल्ने, सुन्निने र दीर्घकालीन दुखाइको समस्या हुनसक्छ । विशेषगरी अफिसमा दिनभर कुर्सीमा बस्नुपर्दा कोटको असहजता झन् बढी महसुस हुन्छ ।
त्यसो भए कोट लगाउनै हुन्न ?
कोटले समस्या दिन्छ भनेर लगाउनै हुन्न भन्ने आशय कदापि होइन । यस्ता समस्याबाट बच्न केही सावधानी र छनोटमा ध्यान दिएर कोट लगाउन सकिन्छ । कोट किन्ने क्रममा सधैं हल्का र सहज कपडाका कोट छनोट गर्नुपर्छ ।
धेरै कडा वा गह्रौं सामग्रीबाट बनेका कोट किनेर समस्या बढाउनुको सट्टा, लचिलो र हल्का कपडा रोज्नु उपयुक्त हुन्छ । फिटिङ पनि सही हुनुपर्छ । अर्थात्, कोट लगाउँदा न त धेरै कसिलो, न त धेरै खुकुलो अनुभव हुने छनोट गर्नुपर्छ । यसले गर्दन र काँधमा अनावश्यक दबाब पर्ने सम्भावना कम गर्छ ।
कोट लगाएको बेलामा दैनिक गरिने काम विशेषगरी अफिसमा हुँदा बीचबीचमा विश्राम लिने बानी बसाल्नुपर्छ । कोट लगाएर निरन्तर बस्नुभन्दा समय–समयमा कोट खोल्नु र मांसपेशीलाई आराम दिनु आवश्यक छ ।
साथै, गर्दन र काँधको हल्का व्यायाम गर्दा मांसपेशीको तनाव कम गर्न मद्दत हुन्छ । जस्तै, गर्दनलाई हल्का दायाँबायाँ घुमाउने, काँधलाई माथि र तल तन्काउने जस्ता साधारण व्यायामले पनि ठूलो प्रभाव पार्न सक्छ ।
कतिपय अस्पतालमा भारी पहिरन लगाएरै पनि दीर्घकालीन दुखाइ लिएर आउने गरेको पाइन्छ । कोट लगाउँदा आउने असहजता र यसले निम्त्याउने समस्या कुनै नजरअन्दाज गरी हल्का रूपमा लिने बानीले दीर्घकालीन दुखाइ गराउन सक्छ ।
त्यसैले अत्यधिक दुखाइ महसुस भइरहेको खण्डमा एकपटक विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ । फिजियोथेरापी, एक्युप्रेसर वा अन्य थेराप्युटिक विकल्पहरुले पनि दुखाइ कम गर्न सक्छ । यस्ता उपचार प्रक्रियाले केवल दुखाइ मात्र कम गर्दैन । दीर्घकालीन रूपमा मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
कोट लगाउँदा मात्र होइन । सबैले गर्दन र काँध स्वस्थ राख्नका लागि जीवनशैलीमा साना परिवर्तन आवश्यक हुन्छ ।