त्रिविमा पाठ्यक्रम परिमार्जनबारे छलफल – Online Khabar
१६ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले पाठ्यक्रम परिमार्जनबारे छलफल शुरु गरेको छ । यसै वर्ष स्तरोन्नति भएको केन्द्रीय विभागले मानविकी तथा सामाजिक शास्त्र संकायका चार पूर्वडिनहरूलाई बोलाएर पाठ्यक्रम परिमार्जनबारे छलफल गरेको हो ।
द्वन्द्व, शान्ति, विकासका आयाम र परिवेश फेरिएको भन्दै विभागले समय अनुकूल पाठ्यक्रम परिमार्जन गर्न छलफल कार्यक्रम गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. शिवलाल भुसालले श्रमबजार केन्द्रित कार्यक्रम बनाउन सुझाव दिए । उनले द्वन्द्वका आयामहरु फेरिएको भन्दै प्राज्ञिक पहिचानका विषयमा केन्द्रित हुन सुझाव दिए ।
पूर्वडिन एवं प्राध्यापक डा. नवराज कणेलले अनुसन्धानमुखी पाठ्यक्रममा जोड दिए । नयाँ पाठ्यक्रम निर्माण गर्दा विश्वपरिवेश र नेपालको आवश्यकता ध्यान दिन सुझाव दिँदै उनले विश्वविद्यालयका कार्यक्रमहरुलाई अनुसन्धान केन्द्रित बनाउनुपर्ने बताए ।
पूर्वडिन प्राध्यापक डा. रमेश कुँवरले ज्ञान र प्रविधिको खाडललाई कम गर्ने पाठ्यक्रमको आवश्यकता औंल्याए । उनले अन्तर–विधात्मक विषयवस्तुलाई समावेश गर्न सुझाव दिए ।
निवर्तमान डिन प्राध्यापक डा. कुसुम शाक्यले विद्यालयहरुले काम गर्दै अध्ययन गर्न उपयुक्त हुने पाठ्यक्रम निर्माण गर्न सुझाव दिइन् । उनले एम.ए. तहको कार्यक्रम सकेसम्म दुई वर्ष अवधिको उचित हुने बताइन् ।
द्वन्द्व, शान्ति र विकास अध्ययन विभागका प्रमुख डा. पिताम्बर भण्डारीले द्वन्द्व, शान्ति र विकासका बहुआयामिक पक्षहरू समेट्न खोजेको बताए । उनले रणनीतिक अध्ययन र अन्तर्राष्ट्रिय सम्बन्ध एवं अर्थ–राजनीतिका सम्बन्धका विषयहरु कार्यक्रममा थपिएको बताए ।