#समाचार

नेता बने, नेपाल बनेन – Online Khabar

एक भक्त थिए, जो अत्यन्त संस्कारी र त्यागी। समाजका दु:ख, पीडा, रोदनमा सदा आफूलाई दुखाउँथे। समाजका हरेक दु:ख र कष्टमा मल्हम लगाउन सधैं दौडिन्थे। एक दिन समाजलाई विद्यमान दु:ख, पीडा, रोदनबाट सदाका लागि मुक्त गर्न महादेवको तपस्यामा बस्ने निर्णय गरे।

विना बस्त्र जाडोयाममा हिमालको काखमा र गर्मीमा तराईको गर्मीमा आगो माथि तपस्या गर्न थाले। घाम, पानी, भोक, निद्रा सबै त्यागेर दशकौं तपस्यामा लीन भए। उनको त्यो त्याग र  तपस्या देखेर महादेव अत्यन्त खुशी भए र भक्तको अगाडि प्रकट भए। भक्तको त्यति कठोर त्याग र तपस्या देखेर जस्तोसुकै वरदान मागे पनि दिने निष्कर्षमा पुगे। र आफ्नो लागि यति कठोर त्याग र तपस्या गर्ने भक्त कत्तिको सामाजिक रहेछ भनेर बुझ्ने प्रयास गरे।

महादेवः भक्त म तिम्रो कठोर त्याग र तपस्याले मोहित छु। मैले दिन मिल्ने र सक्ने सबै वरदान दिन तयार छु तर तिमीले एक शर्त मान्नुपर्छ।

भक्तः सबै शर्त मान्न तयार छु महादेव।

महादेवः के माग्छौ माग, तर तिमीले एक चिज माग्दा तिम्रो छिमेकीले दुई चिज प्राप्त गर्दछ। जस्तो तिमीले एउटा घर माग्यौ भने छिमेकीले दुइटा घर पाउनेछ।

महादेवको उक्त शर्त पश्चात् भक्तले हुन्छ प्रभु भन्दै वरदानका लागि सोच्न थाल्यो। आफूले दशकौं त्याग र तपस्या गरेको तर त्यसको दुई गुणा प्रतिफल छिमेकीलाई हुने महादेवको वचनले नकारात्मक वरदान माग्ने सोचाइमा पुग्यो।

सम्झ्यो, घरै जोडिएको छिमेकी र दिनहुँ उसगँको झगडा। आफ्नो खेतमा लगाएको गहुँ छिमेकीको गोरुले आफ्नो खेतमा खाँदा भएको झगडा, धानखेतमा लगाएको पानीको कुलो मारिदिएको, खानेपानीको पाइप काटिदिएको इत्यादि घटनाहरू। भित्रभित्रै क्रोधले जल्दै वरदानका लागि सोच्न थाल्यो, यस्तो वरदान मागुँ कि मैले एक चिज गुमाउँदा छिमेकीको दुई चिज गुमोस्। धेरै सोच पश्चात् भक्तले आफूलाई दिनहुँ दु:ख दिने छिमेकLलाई तह लगाउन आफ्नो एक आँखा फुटाइदिने वरदान माग्न पुग्छ, जुन वरदान अनुसार छिमेकीको दुइटै आँखा फुटोस्।

मानव जीवन र समाजमा आउने हरेक किसिमका दु:ख, कष्ट, रोग र क्लेशबाट मुक्ति पाउन  दशकौं त्याग र तपस्या बसेको भक्त र उसले मागेको वरदानको कथाले हाम्रा राजनीतिक दल र नेताहरूको चरित्रलाई प्रतिनिधित्व गरेको छ।

राजनीतिक आन्दोलनमा दल र नेताहरू निकै इमानदार र निष्ठावान् भएर लागे। यसै कारण जनताको साथ पनि पाए। जब सत्तामा पुगे, क्लेप्टोक्रेट शासक बन्न पुगे। लोकतान्त्रिक विधिबाट निर्वाचित हुनेहरू नै सर्वसत्तावादी भए, अझ भनौं पपुलिस्ट डिक्टेटर र सँगै मौलायो हिप्पोक्रेसी र नेपोटिज्म।

जब कुनै पनि मुलुकका शासक, लिडरबाट ल्याडरमा रूपान्तरण हुन्छन्, तब मुलुकमा लथालिंग, अस्तव्यस्त र कुशासन मौलाउँछ। डारों एसमोग्लु र जेम्स ए रविन्सनद्वारा लिखित ‘ह्वाई नेसन्स फेल’ किताबमा भ्रष्ट र तानाशाह शासकले कसरी राष्ट्रलाई कमजोर र असफल बनाउँछन् भन्ने कुरामा विभिन्न मुलुकको उदाहरण उल्लेख गरेका छन्। जोसेफ मोबुतु, मेन्गेत्सु, मुगाबे, साइका स्टेभेन्स, सुहार्तो, मार्कोस जस्ता निरंकुश र क्लेप्टोक्रेट शासकहरूका कारण कंगो, इथिओपिया, जिम्बावे, सियरा लियोन, इन्डोनेसिया र फिलिपिन्स जस्ता मुलुकहरू कंगाल बनेका थिए। आज हाम्रो मुलुक पनि ठूलो आर्थिक र सामाजिक संकटले झेलिएको छ।

२०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले युरोपेली मापदण्डको नेपाल बनाउने घोषणा गरे। गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सिंगापुर र स्विट्जरल्याण्ड बनाउने भाषण गरे। दुईतिहाइ जनमत प्राप्त नेकपा नेतृत्वको सरकार प्रमुख केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन सोच अगाडि सारे।

पञ्चायतको विकल्पमा गणतन्त्र आयो, नेताको विकल्पमा नेता आए, दलको विकल्पमा दलहरू आए, र मुलुकको विकासको लागि सबै असफल रहे। दल र नेताहरू सफल हुँदा मुलुकको विकासले फड्को मार्न सकेन। कारण, तन्त्र फेरिए पनि क्लेप्टोक्रेट शासकहरू फेरिएनन्, यसैले सामाजिक अपराध बेथिति, विसंगति, बेरोजगारी, भ्रष्टाचार र कुसंस्कार मौलायो

तर काङ्ग्रेसले भनेको युरोपेली मापदण्डको नेपाल कहिल्यै बनेन, माओवादीले भनेको सिंगापुर र स्विट्जरल्याण्ड बनेन र एमालेले भनेको नेपाल र नेपाली समृद्ध र सुखी पनि बनेनन्। तल प्रस्तुत तथ्यांकहरूले मुलुकको समग्र पक्षको अहिलेको परिदृश्यलाई उजागर गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्याङ्क अनुसार कात्तिक मसान्तसम्म दैनिक औसतमा १६२ मुद्दा दर्ता भएका छन्। आत्महत्याका दैनिक २० घटना र जबरजस्ती करणीका दैनिक ७ मुद्दा दर्ता हुने गरेका छन्। चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएका छन्। तथ्यांकले अपराधका घटनाहरू  दिनहुँ बढ्दो क्रममा रहेको देखाउँछ। मुख्यगरी आत्महत्या र अपराधका घटना आर्थिक संकटका कारण घटेको देखिन्छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार गत वर्ष मात्र २६ हजार ९१८ उजुरी परेका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनलले बर्सेनि सार्वजनिक गर्ने भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्कमा सन् २०२३ मा नेपाल १०८औं स्थानमा थियो भने त्यसअघि सन् २०२२ मा ११०औं र सन् २०२१ मा ११७औं थियो। महालेखाको तथ्यांकले ४ देखि ६ खर्बसम्म बेरुजु भएको देखाउँछ। दुवै तथ्यको निष्कर्ष भ्रष्टाचार बढ्दो छ।

नेपाली श्रम बजारमा प्रत्येक वर्ष करिब पाँच लाख युवा थपिन्छन्। विभिन्न अध्ययन अनुसार मुलुकमा राम्रा भन्न मिल्ने रोजगारी भने प्रत्येक वर्ष बीस हजार पनि थपिंदैनन्। सरकारी पेशामा कार्यरत  कर्मचारी र सुरक्षाकर्मी पेशाप्रति सन्तुष्ट छैनन्। चालु आर्थिक वर्ष २०८०/८१ मा ७९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएका छन्। यसैगरी ५ वर्षमा १० हजार सैनिक र प्रहरीले जागिर छाडेका छन्। प्राय:को गन्तव्य वैदेशिक रोजगारी रहेको छ। पेशा छोड्नुको मुख्य कारण बढ्दो महँगी र कम तलब नै हो।

वैदेशिक रोजगार बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको कात्तिकसम्म १३ हजार ८२३ जनाले विदेशमा ज्यान गुमाएका छन्। यो अवधिमा साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ४७७ युवाले ज्यान गुमाएका छन्। दैनिक औसतमा चार शव काठको बन्द बाकसमा विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्छन्। देशको आर्थिक संकट र बेरोजगारीका कारण विदेश पलायन हो।

चालु आर्थिक वर्षको असोज महिनासम्म नेपाली विद्यार्थी मार्फत उच्च शिक्षा अध्ययनका नाममा ३१ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। शिक्षामा अधिक रकम विदेशिंदा सेवा आय निरन्तर घाटामा छ। यसैगरी चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ।

माथि प्रस्तुत तथ्यहरूले मुलुक ठूलो सामाजिक, आर्थिक संकटमा रहेको पुष्टि गर्दछ। पञ्चायत भन्दा बहुदल, बहुदल भन्दा पनि गणतन्त्रमा सामाजिक अपराध, भ्रष्टचार, बेरोजगारी, विदेश पलायन र आयात बढ्दो छ। अहिलेको शासन व्यवस्था सबैभन्दा जनकेन्द्रित व्यवस्था हो। तर दल र नेताहरूकै कारण बढी आलोचित र प्रदूषित बन्न पुगेको हो।

पञ्चायत र बहुदलीय व्यवस्था शासकको निरंकुशता र ठूला–ठूला भ्रष्टाचारका कारण पतन भएका हुन्। अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था यिनै दल, नेता र कार्यकर्ताको अराजकता, अनैतिकता र भ्रष्टाचारले कमजोर भइरहेको छ। विशेषगरी क्लेप्टोक्रेट शासकको लोभलालच, आत्मकेन्द्रित मनोवृत्ति, आडम्बरबाट संघीय लोकतान्त्रिक व्यवस्था थलिएको हो।

संविधान, कानुन, विधि र प्रक्रियालाई सरकार, पार्टी नेतृत्व र माथिल्लो पदमा रहनेले जति  पालना गर्छन्, तल्लोस्तरमा पनि यही तहले कार्यान्वयन हुन्छ। तर, हामीकहाँ विपरीत अभ्यास छ। जति ठूलो पद, उति उन्मुक्ति लिने प्रवृत्ति। दलीय बर्दी र कुर्चीको अगाडि कानून मौन।

सत्ता र सरकारमा दल र नेताकै राज छ। जन आवश्यकता भन्दा पनि शासकहरूको लहड र बलमिच्याइँमा विकासका योजनाहरू तय र कार्यान्वयन भएका छन्। उदाहरणका लागि दमक कमर्सियल कम्प्लेक्स। विना वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र नक्सापास नै नगरी यो कम्प्लेक्स निर्माण र प्रमबाट उद्घाटन भइसकेको छ। कानूनले कुनै परियोजना विना ईआईए र सामान्य घर नक्सापास विना निर्माण गरिए अबैध ठान्छ भने डेढ अर्ब लागत रहेको यो भ्यूटावर कसरी वैध भयो र प्रमले नै उद्घाटन गर्नुपर्ने बाध्यता किन? गरिबीको घर निर्माणमा कानून लाग्ने तर अर्बौंको भ्युटावर निर्माणमा प्रमको बलमिच्याइँ? कानून, प्रक्रिया र विधि जनतालाई मात्र? कानून भन्दा माथि प्रमको रहर र बलमिच्याइँ?

जनता अनुदानमा प्राप्त हुने ९ रुपैयाँको नुनलाई २५ रुपैयाँसम्म खर्च गर्दा पनि अभावमा छन्। यता शासकहरू अर्बौंको भ्यु टावरबाट समृद्ध मुलुकको विगुल फुक्दैछन्। शासकहरूलाई अस्पताल उद्घाटन गर्न भ्याई-नभ्याई छ, जनताका छोराछोरी सिटामोल नपाएर अकालमा ज्यान गुमाएका छन्। प्राकृतिक प्रकोपमा परेका नागरिकको उद्धार गर्न कमजोर भिजिबिलिटी देख्ने सरकार भीआईपीको विदेश भ्रमण र उपचारमा करोडौं खर्च गर्छ। यसैका लागि गणतन्त्र चाहिएको हो? हैन भने जन आवश्यकता एकातिर, शासकहरूको चाहना अर्कोतिर किन?

जनप्रतिनिधिहरू (पूर्वमन्त्री र बहालवाला सांसदहरू)विभिन्न आरोपमा कोही थुनामा र कोही फरार छन् । अपराध रोक्ने र देशमा शान्ति सुव्यवस्था दिने कामको नेतृत्व गर्ने मन्त्री र सचिवहरू नै कानूनको उल्लंघन गर्दै छन्, जघन्य अपराधमा थुनिएका छन्, छुटेका छन्। जीउधन र सुरक्षा गर्ने सुरक्षाकर्मीहरू नै पारिवारिक हत्या, जघन्य अपराध र बलात्कारका घटनामा पक्राउ परेका छन्। पीडितलाई न्याय दिने न्यायमूर्तिहरू नै महिला हिंसा र बलात्कारको आरोपमा जेलमा छन्। नागरिकको सामाजिक सुरक्षा शून्य छ। अपराधी, तस्कर र बिचौलियाहरूको समाज, दल र सत्तामा राज छ। सरकार, दलहरू, सुरक्षाकर्मी र न्यायालय प्रति जनविश्वास गुम्दो छ।

अन्त्यमा, पञ्चायतको विकल्पमा गणतन्त्र आयो, नेताको विकल्पमा नेता आए, दलको विकल्पमा दलहरू आए, र मुलुकको विकासको लागि सबै असफल रहे। दल र नेताहरू सफल हुँदा मुलुकको विकासले फड्को मार्न सकेन। कारण, तन्त्र फेरिए पनि क्लेप्टोक्रेट शासकहरू फेरिएनन्, यसैले सामाजिक अपराध बेथिति, विसंगति, बेरोजगारी, भ्रष्टाचार र कुसंस्कार मौलायो।

जनताका सपना, आशा र भरोसा माथि क्रान्तिको अगुवाइ गर्नेहरूबाट सपना, आशा र भरोसा लुटियो। यसैले देश विलखबन्दमा छ, निकास पर्खिराखेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *