#समाचार

नयाँ फर्म्याटमा नयाँ वर्षको शुभकामना दिने गरौं – Online Khabar

फेरि नयाँ वर्षको अर्को एउटा नयाँ संस्करण आयो । चिटिक्क पारेर ‘सुख, समृद्धि र शान्तिको हार्दिक मङ्गलमय शुभकामना’ भन्ने सन्देश दिनुपर्ने भयो ! तर नयाँ वर्षका यस्ता कैयन् शुभकामना खेर गएका छन्, शुभकामना सन्देशहरू निर्ममतापूर्वक ठहरै पारिएका छन् ।

नयाँ वर्षहरू क्रमशः आइरहे । थोरै खुसी साथ वर्षैपिच्छे शुभकामना पनि दिइरह्यौं । शुभकामना सन्देशमा ‘सुख, समृद्धि र शान्ति’ शब्दहरूलाई बान्की मिलाएर कोरिरह्यौं । लेखाइ र बोलाइ दुवै माध्यमबाट सम्प्रेषण गरिरह्यौं । तर हामी नेपालीको हकमा शुभकामनाहरू कहिल्यै सार्थक भएनन्, व्यर्थ खेर गइरहे । सुख, समृद्धि र शान्ति लामो समयदेखि मृगमरीचिका भएको छ । कुनै नयाँ वर्ष फलदायी भएनन्, आशा पूरा गरेनन् ।

नेपालीका लागि सुख, समृद्धि र शान्ति राष्ट्रले ल्याइदिनुपर्नेछ । अथवा यो हाम्रो लागि नेपालको संविधान २०७२ मा व्यवस्था भएको मौलिक अधिकार हो, सरकार यसको व्यवस्थाधिकारी हो, हुर्नुपर्छ । जिम्मेवारी सरकारको टाउकोमा छ । स्थायी सरकार, सुधारिएको नीति र चुस्त जनमुखी प्रशासन नभएरै हाम्रो लागि सुख, समृद्धि र शान्ति आकाशको फल भइरहेको छ । फलतः हामी दुःख, दरिद्र र अशान्तमै बाँच्न अभिशप्त हुनेछौं, निरन्तर बाँचिरहनेछौं । लाग्छ, यो हाम्रो प्रारब्ध कर्मको फल हो ।

हामी विविधतायुक्त देशको नागरिक । शुभकामना दिनुपर्ने नयाँ वर्ष पनि धेरै छन् । भिन्न–भिन्न भाषा र समयमा शुभकामना सन्देश सम्प्रेषण गर्ने गर्दछौं । वैशाखमा विक्रम् संवत्को ‘नयाँ वर्ष’ नेपाली भाषामा, नेपाल संवत्को ‘न्हुँदँ’ मा नेपाः भाषामा, मध्य पुसमा पर्ने इस्वी संवत्को ‘न्यु इयर’ अंग्रेजीमा र इस्लाम धर्मावलम्बीको असोज महिनामा पर्ने ‘हिजरी संवत्’ को शुभकामना तिनै शब्दहरूको भाव सहित उर्दू भाषामा दिने गर्दछौं । शेर्पा समुदायको ‘ग्याल्पो ल्होसार’को शेर्पा भाषामा, ‘सोनाम ल्होछार’को तामाङ भाषामा र ‘तमु ल्होछार’को शुभकामना गुरुङ भाषामा उत्तिकै सद्भावका साथ सुख, समृद्धि र शान्ति शब्दले बुट्टा भरेर दिन्छौं ।

त्यसैगरी किराँत समुदायको नयाँ वर्ष ‘येले संवत्’को, थारू समुदायको नयाँ वर्ष ‘माघी’को थारू भाषामा, चेपाङ समुदायको ‘न्वांगी छोनाम’को आफ्नै मौलिक भाषामा र मैथली समाजको नयाँ वर्ष ‘जुड शीतल’ पर्वमा मैथली भाषामा यिनै सन्देशलाई रंगीन पारामा भाषिक विविधता घोलेर मिठासपूर्वक शुभकामना टक्र्याउने गर्दछौं । नेपालमा भएका हाम्रा अरू मौलिक अधिकार नयाँ वर्षहरूमा पनि भविष्यप्रति आशावादी हुँदै उल्लासपूर्वक शुभकामना सन्देशहरू निर्वाध प्रवाह गर्ने गर्दछौं । यो हाम्रो मौलिक संस्कार हो । यो हाम्रो सुखद् भोलिको कामना पनि हो । तथापि शुभकामना सन्देशभित्रको सुख, समृद्धि र शान्तिको दर्शन दुर्लभ प्रतीत हुन्छ । कहींकतै नेपथ्यमा सहित सुनिंदैन ।

२०४६ सालपछि आजपर्यन्त विभिन्न नयाँ वर्षहरूमा कैयन् पटक विविधतायुक्त भाषा र सांस्कृतिक लवज सहित नयाँ वर्षका शुभकामना सन्देशहरू खर्च हुँदै गर्दा यही समयावधिमा देशमा सुख, समृद्धि र शान्तिको जिम्मा लिंदै ३१ वटा सरकारहरू गठन भए । विडम्बना, जति सरकारप्रति आशावादी भयो उति सरकार र नेतृत्व स्खलित हुँदै गए, हाम्रो भरोसा मर्दै गयो, शुभकामनाका शब्दहरू खेर गए ।

यो अवधिमा नेपाली कांग्रेसले सर्वाधिक १३ वटा सरकारको नेतृत्व गर्‍यो तर शून्य परिणाम । अहिले त चुनाव पनि अरू दलको सहारामा लड्नुपर्ने दर्दनाक अवस्थामा छ, कांग्रेस । ऊ शुभकामना सुन्ने हैसियतमै छैन ।

नेकपा एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराले ७आंै पटक सरकारको बागडोर सम्हालिरहेको छ । परिणाम काण्डहरूको भारीले आफैं थिचियो, यो वर्ष त बोल्न पनि डराउनुपर्ने खालको सरकार बनेर सिंहदरबारमा पदासीन छ ।

हाम्रा शुभकामनाहरू हठात् कुल्चिंदैछ र ती व्यर्थ हुँदैछन् । अनि जनता रुष्ट नहुनुपर्ने कुनै ठाउँ होला त ? राप्रपाले पाँच पटक र नेकपा माओवादीले चार पटक सरकारमा रजगज गर्ने अवसर पाए । ती पनि कानै चिरिएका निस्किए ।

माओवादी राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेशपछि जनतामा देखिएको उत्साह समयक्रममा उसकै व्यवहारले गर्दा अहिले नमिठो पीडामा बदलिएको छ । विशेषतः माकेका नेताहरूको बढ्दो आर्थिक हैसियत र विभिन्न काण्डहरूमा भएको संलग्नताको कारण जनताले पत्याउन छाडेका छन् । सुख र समृद्धि तिनै नेता आफैंले बटुले । अनि हाम्रा शुभकामनाहरूलाई एकमुष्ट बागमतीले बगायो । केही नयाँ वर्षहरूमा खिलराज रेग्मी र ज्ञानेन्द्र शाहले पनि एक–एक पटक प्रत्यक्ष रूपमा सरकारको नेतृत्व गरेका थिए । त्यहाँ पनि सुख, समृद्धि र शान्ति सपना नै रहे ।

यही समयावधिमा वर्षहरू सँगसँगै सरकार मात्र फेरिएनन् राजनीतिक तन्त्रहरू पनि फेरिए, तर शुभकामनाले सुझाएको न सुख, न शान्ति, न त समृद्धिको छनक नै देखियो । समृद्धिकै नाउँमा संविधानहरू पनि फेरिए । अहिले गणतन्त्रको उदय भएको छ । तीन तहको सरकारहरूले आफ्नै खर्च धान्न देशकै समृद्धि हरण गरिसके । प्रत्येक नयाँ वर्षले देशमा घाटाको बजेट फलाक्दै संघीयतालाई अलि परसम्म घिसार्दैछ । कति दूरी पार गर्छ थाहा छैन ।

संघीयता कार्यान्वयन गर्ने चक्करमा शुभकामना सन्देश भित्रका शब्द सुख, समृद्धि र शान्तिको हुर्मत हरण गरिंदैछ । तर दुःखका साथ भन्नुपर्छ देश कंगाल, नेता मोटा हुँदै गएका छन् । यी नयाँ वर्षहरूले न अकर्मण्य नेताहरूको नियत फेर्न सक्यो न जनताको नियति । यिनै फेरिएका वर्षहरूले नेताहरूमा सत्तामोह बढायो । सत्ताले जनतासँगको दूरी बढायो । सुख, समृद्धि र शान्ति सुदूरतिर धकेलियो । फगत खोक्रो शुभकामना सन्देशहरू छरपष्ट बाँडिंदैछ ।

जतिसुकै धारेहात लगाए पनि वर्षहरू झैं फेरिने सरकार र तिनका पटके प्रधानमन्त्री उपर आशावादी हुनु भन्दा अरू विकल्प छैन । शुभकामना सन्देश दिने हामी जनता लाचार भइसक्यौं । तैपनि शुभकामना सन्देश नदिन सकिएन, दिंदैछौं, यसको विकल्प छैन । तर अब हामी फम्र्याट फेरौं । यसरी-

देशमा इमानदार स्थायी सरकार बनाउने बुद्धि फिरोस् भन्ने शुभकामना दिऔं !
संघीयतामाथि जनभावनाको कदर गर्ने सद्बुद्धि मिलोस् भन्ने शुभकामना दिऊँ ।
जन आकांक्षा शिरोपर गरी निःस्वार्थ जनसेवामा कटिबद्ध हुने जिउँदो जाँगर जागोस् भन्ने शुभकामना दिऊँ ।
देशलाई शिरमा, राष्ट्रियतालाई छातीमा र जनतालाई आँखामा राखेर राष्ट्र हाँक्ने अक्कल जागोस् भन्ने शुभकामना दिऊँ ।

यदि हाम्रा शुभकामनाले काम गर्‍यो भने जनताको आवश्यकतामा केन्द्रित भई देश समृद्धि उन्मुख हुन समय लाग्दैन । शुभकामनाभित्रका शब्दहरू सुख, समृद्धि र शान्ति टुहुरा हुने छैनन् । जनआकांक्षा लत्याइँदैनन् र हाम्रो शुभकामनाहरू खेर जाने छैनन् । हाम्रा भविष्यमाथि तुषारापात पनि हुने छैनन् ।

नयाँ वर्षले सरकारका मुखियाहरूलाई पनि यिनै विषयहरूमा सोच्न सक्ने क्षमता प्रदान गरोस् भन्ने शुभकामना दिऊँ ।

यिनै आशावादी हुने शुभ सन्देश सहित सम्पूर्ण प्रियजनमा ‘नयाँ वर्ष २०२५ को शुभकामना !’

नयाँ फर्म्याटमा नयाँ वर्षको शुभकामना दिने गरौं – Online Khabar

आज तमु ल्होछार मनाइँदै – Online Khabar

नयाँ फर्म्याटमा नयाँ वर्षको शुभकामना दिने गरौं – Online Khabar

नेता बने, नेपाल बनेन – Online Khabar

Leave a comment

Your email address will not be published. Required fields are marked *