चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि – Online Khabar
१५ पुस, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले पाँचथरमा सोमबार सम्मपन्न ११औं फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ ।
सोमबार भएको प्रतिस्पर्धात्मक फाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।
पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनलमा निर्धारित ९० मिनेटको खेलमा दुवै २-२ गोल गरेपनि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
सुटआउटमा चर्च ब्वाइजका लागि सुजन डंगोल,रोहन कार्की,छिरिङ लामा,एकराज बुडाथोकी,फाकुन्ले आवायामीले गोल गरे । मच्छिन्द्रका समिरराज थोकर, सौरभ सुब्बा, सनिष श्रेष्ठ र देवेन्द्र तामाङले गोल गरे भने दयानन्द एलाङबामको प्रहार चर्च ब्वाइजका गोलरक्षक कृशल मोक्तानले बचाए ।
त्यसअघि खेलको ४५औं मिनेटमा बिजु भुजेलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा छिरिङ लामाले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए ।
८८औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाउँदै उपाधि नजिक पुर्याएका थिए । तर इन्जुरी टाइममा गोल व्यहवर्दा मछिन्द्र चुक्यो । इन्जुरी टाइममा चर्च ब्वाइजका समीर तामाङले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
च्याम्पियन चर्च ब्वाइजले ट्रफीसहित नगद १० लाख ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता मच्छिन्द्रले नगद ५ लाख ५ सय ५५ रुपैयाँ पायो ।
चर्च ब्वाइजले मोफसलमा यस सिजन जितेको यो दोस्रो उपाधि हो । यसअघि चर्च ब्वाइजले झापा कपको उपाधि जितेको थियो । इलाम गोल्डकपमा पनि फाइनल पुगेको चर्च ब्वाइज एनआरटीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
समिर सर्वोत्कृष्ट र सर्वाधिक गोलकर्ता
यसैगरी विधागत उत्कृष्टमा पनि चर्च ब्वाइजकै वर्चस्व रह्यो । चर्च ब्वाइजलाई च्याम्पियन बनाउन योगदान गरेका फरवार्ड समिर तामाङ प्रतियोगिताकै सर्वोत्तकृष्ट खेलाडी घोषित भए । उनले स्कुटर पुरस्कार पाए । प्रतियोगिता अवधिभर ६ गोल गरेका समिर तामाङले सर्वाधिक गोलकर्ताको पुरस्कार स्वरुप नगद १५ हजार पनि पाए ।
यसैगरी चर्च ब्वाइजकै कृश्चल मोक्तान उत्कृष्ट गोलकिपर, दिपेश गुरुङ उत्कृष्ट मिडफिल्डर र प्रशिक्षक सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उपविजेता मछिन्द्रका देवेन्द्र तामाङ उत्कृष्ट डिफेण्डर र बिजु भुजेल उत्कृष्ट फरवार्ड घोषित भए । आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्रीलाई राइजिङ प्लेयर घोषित भए । उनीहरूले जनही १० हजार रुपैयाँ पाए ।
तस्बिर : अशोश थापाको फेसबुकबाट