#समाचार

अर्काको काँध चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन गए : ओली – Online Khabar

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।

साथै, उनले अहिले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको जिकिर गरे ।

‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो,’ एमाले अध्यक्ष समेत रहेका ओलीले भने ।

उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी पनि गरे ।

‘हामीले त्यतिबेला सुरु गरेर बिजोग भएका कामहरू फेरि अघि बढाएका छौं । ती कामहरू गर्न अग्रसर छौं । विश्वास गर्नुस्, नेकपा एमालेले गर्छ, एमालेको नेतृत्वले गर्छ । अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको छ । यसले गर्छ । किनभने देशको राजनीति अत्यन्त अस्थिर भयो,’ ओलीले प्रश्न गर्दै भने, ‘ठूला पार्टीका बीचमा झगडा लगाउने, अनि अनेक खालका षड्यन्त्रकारी र भ्रष्ट तत्वहरूले राज गरिरहने भयो । एउटाको काँधबाट अर्काको काँधमा उफ्रने, अनि राज गरिरहने ?’

Leave a comment

Your email address will not be published. Required fields are marked *