अखिल क्रान्तिकारीको मतगणना विवाद मिलाउने जिम्मा निर्वाचन आयोगलाई
फाइल तस्वीर
१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणना विवाद मिलाउने जिम्मा निर्वाचन आयोगलाई नै दिएको छ ।
निर्वाचन समितिका प्रमुखलाई खुमलटार बोलाएर अध्यक्ष प्रचण्डसहितका पार्टी पदाधिकारीहरूले आइतबार दिउँसो ब्रिफिङ लिएका थिए ।
पार्टीका सचिव देवेन्द्र पौडेलका अनुसार मतगणनामा देखिएको विवाद मिलाउने जिम्मा निर्वाचन आयोगलाई नै दिइएको हो ।
‘विद्यार्थीको मगतणनामा देखिएको विवाद मिलाउने जिम्मेवारी निर्वाचन समितिलाई नै दिने निर्णय गरेका छौं,’ पौडेलले अनलाइनखबरसँग भने ।
उनका अनुसार निर्वाचन समितिका प्रमुखले मतगणनाको विषयलाई लिएर आएका उजुरीहरूको बारेमा जानकारी गराएका थिए ।
त्यसपछि सो विवाद मिलाउने जिम्मा निर्वाचन समितिलाई नै दिइएको हो ।
अखिल क्रान्तिकारीले संगठनमा ३२ वर्षे उमेर हद राख्ने वा नराख्ने भन्ने प्रस्तावमा ७७ जिल्ला र गैरभौगोलिकसहित ८६ मतदान केन्द्रमा शनिबर मतदान भएको थियो ।
यो प्रावधान नटुंगिएसम्म अखिल क्रान्तिकारीको सम्मेलन अगाडि बढ्ने अवस्था छैन । गत १०–१५ असोजमा चलेको २३औं राष्ट्रिय सम्मेलनमा पनि यो विषयमै सहमति नजुट्दा नेतृत्व चयन हुन सकेको थिएन ।
उमेर हद राख्नुपर्ने र नहुने पक्षको अडानका कारण तोडफोडकै अवस्था आएपछि असोजमा उद्घाटन भएको सम्मेलन नेतृत्व चयन नगरी स्थगित गरिएको थियो ।
उमेर हद राख्नुपर्ने तर्कलाई पञ्छाउन नसक्ने र उमेर हद राख्दा लामो समयदेखि संगठनमा रहेका नेताहरू बाहिरिने परिस्थितिका कारण यो विषय जटिल बनेको थियो ।