वासिङ मेसिन – Online Khabar
‘आमा हामी पनि वासिङ मेसिन किनौं न’, आँखा थालतिर हेरेको जस्तो गरेर मैले भनें। त्यति भन्दा आमाले वासिङ मेसिन भनेको बुझ्नुहुन्छ जस्तो मलाई लागेको थियो। तर आमाले बुझ्नुभएको रहेनछ।
‘के हो त्यो वासिङ मेसिन भनेको’ आमाले उब्रेको भात कचौरामा राख्दै भन्नुभयो।
‘त्यो अस्ति नै तपाईंले साहुनी आमाकोमा घटट गरेर लुगा धुँदोरहेछ भन्नुभएको थियो नि, त्यै के!’
आमा केही बोल्नुभएन। भाँडा धुन बाल्टीमा पानी सार्न थाल्नुभयो। एकछिनको सन्नाटापछि आमाले भन्नुभयो, ‘दशैंमा मासु किन्न नसकेर कुखुराको खुट्टा र कलेजो खाएको बिर्सिस् ?’
आमाको मूड खराब रहेछ भन्ने बुझिहालें, त्यसपछि केही बोलिनँ। बुवालाई भन्ने आँट नै थिएन। त्यो विषय त्यसै सेलायो।
चार वर्ष भएको थियो हामी धादिङबाट काठमाडौं आएको। दुईवटा छोरी मात्र भएकोले सबैबाट सुन्नुपरेको बचन अनि बुवा बिरामी हुँदा बन्धकी राखेको पुर्ख्यौली फुकुवा गराउन नसकेपछि हामी काठमाडौं छिरेका थियौं त्यो बन्धकी साहुको नाममा पास गर्दा आएको केही पैसा लिएर।
बुवाले मासु पसल खोल्नुभएको थियो। केही समय राम्रै चलेको सम्झन्छु तर पछि खै के करणले खासै चलेन। अनि बुवा गाडी लाइनमा लाग्नुभयो, खलासी गर्न।
शहरमै तर शहरबाट अलि टाढा एउटा कोठा लिएका थियौं। बुवा खलासी गर्नुहुन्थ्यो, आमा वरिपरि भाँडा माझ्नु अनि लुगा धुनुहुन्थ्यो। कहिलेकाहीं वरिपरि कोही सुत्केरा पर्यो भने तेल लगाउने काम पनि गर्नुहुन्थ्यो, त्यसमा चाहिं राम्रै पैसा हुन्छ भन्नुहुन्छ आमा।
त्यस्तो विशेष केही हुँदैन घरमा। बुवा बिहानै जानुहुन्छ, आमा हामीलाई बिहान ४ बजेदेखि दाल भात सिट्ठी लगाएर ७ बजेसम्म निस्किसक्नुहुन्छ। बहिनीलाई उठेपछि एक बटुको दाल–भात खुवाउँछु। म पनि खान्छु र बहिनीलाई लिएर स्कुल जान्छु।
बहिनीको स्कुल जाने उमेर नै त भएको छैन तर धन्न म पढ्ने स्कुलमा ईसीडी कक्षा भएकाले म लिएरै जान्छु। म १२ वर्षकी भएँ, बहिनी ३। म स्कुलबाट ४ बजे फर्किंदा बहिनी लिएर आउँछु। उसको १ बजे स्कुल छुट्टी हुनेभएकाले घरी मेरो कक्षामा आएर बस्छे बा–आमाले भ्याउँदा आमाले चाँडो लिएर आउनुहुन्छ।
यो पैसा भन्ने चिजको बारेमा मैले पनि भर्खर थाहा पाउन थालेकी हुँ। हाँसो लाग्छ, पहिले त जे चाहियो पसल गयो ल्यायो जस्तो लाग्थ्यो। मासु पसल बन्द भएपछि बल्ल बुझेको हो, मैले खातामा लेखेर सबै चिज पाइने होइन रहेछ भनेर।
आजकल बेला–बेला पैसाको नाममा आमा–बुवाको झगडा भएको सुन्छु। ठूलो भएपछि त बत्ती निभ्ने बित्तिकै निद्रा लागिहाल्छ भन्ने पनि नहुँदोरहेछ। घरी आमाले बुवालाई कराउनुहुन्थ्यो घरी बुवाले आमालाई।
बुवा रक्सी पिउनु हुन्नथ्यो, सुर्तीचाहिं च्यापिरहनुपर्ने। मौका मिलाएर पनि तास वा पोट चाहिं खेलिरहनुपर्ने। आमाले बुवालाई कराउने विषय चाहिं प्रायः त्यही हुन्थ्यो। घर ढिला आउने अनि धेरै साथीभाइसँग बस्यो भनेर।
‘के चाहिं मोहनी लगाएका छन् ती साथीभाइले आफ्नो घर-परिवार पनि बिर्सिने गरी’, आमा सुस्तरी कराउनुहुन्थ्यो। तर रातको समय, एउटा सानो कोठा र निद्रा परिहाल्ने नभएर मैले सुन्थें।
बुवा प्रायः चुप नै बस्नुहुन्थ्यो। कहिलेकाहीं चाहिं अलि चर्को स्वरमा ‘तैंले यस्तै कचकच गर्ने भएर हो घर आउनै मन नलाग्ने’ भन्नुहुन्थ्यो। त्यसपछि आमा मुर्मुरिंदै केही भन्दै सुत्नुहुन्थ्यो (वा सुतेको जस्तो गर्नुहुन्थ्यो), त्यो चाहिं मैले पनि सुन्थिनँ।
हाम्रो परिवार मिलेको जस्तै लाग्छ मलाई। पैसाको समस्या त थियो नै, कहिलेकाहीं एउटा छोरो भए पछिलाई सजिलो हुन्थ्यो भनेर मसँग रिस उठ्दा भन्नुहुन्छ नभए त्यस्तो एकदम गाह्रो पारिवारिक रूपमा मैले थाहा पाएको छैन।
स्कुलमा साथीहरूले सुनाउँछन्, कसैको बुवा त कसैको आमा रक्सी खाएर ढलेको वा कसैले अर्की आमा ल्याएको। त्यो पो समस्या हो जस्तो मलाई अहिले पनि लाग्छ।
उधारो चल्ने पनि र नचलेको पनि देखेको भएर पैसा चाहिं समस्या होइन रहेछ कि जस्तो लाग्छ।
अलि धेरै लुगा धुन भएको दिन वा चाडबाड पछि चाहिं आमाले मलाई पनि लुगा धुन लिएर जानुहुन्थ्यो। मलाई पनि खुसी लाग्थ्यो, बडेमानको पर्खाल भित्र आलिसान घर हेर्दै धारामा आएको पानीले कपडा धुन। साँच्चै भन्ने हो भने मलाई केही गाह्रो पनि लाग्दैनथ्यो।
कहिलेकाहीं कसैको घरमा चाहिं यस्तो सानी नानीलाई किन पढ्न छोडाएर लुगा धुन ल्याएको भनेको सुन्थें। त्यति नै बेला चाहिं हो त नि भन्ने लाग्थ्यो तर घरभाडा नतिर्दा आमा धुम्म भएको अनि पैसा तिरेपछि मेरी आमा आमाजस्तै भएको पनि मैले देखेकीले त्यस्ता वचन मनमनै फिल्टर गर्नसक्ने भइसकेकी थिएँ।
एक दिन बुवाले मासु लिएर चाँडो घर आउनुभयो। धेरैपछि घरमा कुखुराको टाउको मुनि र खुट्टा माथिको मासु आएको थियो, हामी दङ्ग थियौं। हामी मासुले दङ्ग थियौं, आमाचाहिं बुवा चाँडै आउनुभएकोले। बुवाले कथा सुरु गर्नुभयो, एउटा गाडी बेचाइदिएको भएर तीन हजार रुपैयाँ कमिसन आएको रे! कति रमाइलो, मैले मनमनै हिसाब गरें हरेक दिन एउटा गाडी बेचाइदिन सके त महिनाको ९० हजार हुँदोरहेछ। त्यो कल्पनाले मात्र पनि मलाई काउकुती लागेको जस्तो भयो।
मासुभात खाईवरी अनि भाँडा थन्काएपछि बत्ती निभ्यो। हामी सुत्यौं, मलाई चाहिं आज बत्ती निभेपछि के कुरा हुन्छ भन्ने कुराले खुल्दुली भएको थियो।
आमाले कुरा सुरु गर्नुभयो। ‘ठुलीले खै के भन्छ वासिङ मेसिन किनौं भन्दै थी।’ बुवाले भर्खर सुर्ती च्यापेको मुखले के रे मात्र भन्नुभयो। त्यो लुगा धुने मेसिन हुन्छ के बिजुलीबाट चल्ने, आमाले पढाएको स्वरले भन्नुभयो।
‘अनि किन चाहियो त हामीलाई त्यो? के नै लुगा हुन्छ र हाम्रो, हातैले धुन भ्याइएकै छ त। फेसबुकमा के के हेरेर बस्छे त्यै भएर भनेकी होली।’ यति भनिसकेर बुवा पल्टिनुभयो। आमाले केही बोल्नुभएन।
मलाई चाहिं बेचैनी भयो। आमाले मुख खोल्नुभयो भन्ने कुराले पलाएको रोमाञ्चकता केही बेरमै सेलायो। आमाले नभन्दा बरु ठिकै थियो जस्तो पनि लाग्यो, कम्तीमा मासु खाएको खुसी केही दिन त टिक्थ्यो होला जस्तो पनि लाग्यो।
‘अनि किन चाहियो त हामीलाई त्यो? के नै लुगा हुन्छ र हाम्रो, हातैले धुन भ्याइएकै छ त। फेसबुकमा के के हेरेर बस्छे त्यै भएर भनेकी होली।’ यति भनिसकेर बुवा पल्टिनुभयो। आमाले केही बोल्नुभएन।
‘आमा वासिङ मेसिनको कुरो के भयो’, आमा बाको कुरा नसुने झैं गरेर मैले अलार्म लगाएको जस्तो बेला–बेला सोध्ने गर्थें।
सरको खै कुन कार्यक्रम भएर हो, एकदिन कक्षा चाँडो छुट्टी भयो। मैले मनमनै सोच्न थालें, मलाई वासिङ मेसिनको भूत किन चढेको होला। पैसा बढी भएर कहाँ खर्च गरौं भन्ने पनि होइन। खर्च चाहिएर पनि भाका नाघेका धेरै आवश्यकता थिए। वासिङ मेसिन आइहाले पनि राख्ने कहाँ, त्यसलाई पानी कहाँदेखि हाल्ने भन्ने प्रश्न पनि थियो। ल्याए के हुन्छ र नल्याए के हुन्छ भन्ने प्रश्नहरूको ज्वारभाटा बीच मैले त्यो विषय त्यसै सेलाएँ।
घर गएको, हाम्रो गाउँका दुईजना अन्टी अनि एक जना पेचकस र पिलासको झोला बोकेको मान्छे देखें। मुर्दार बत्ती फेरि बिग्रियो कि जस्तो लागेर अगाडि गइनँ। सीधै बाल्टीमा पानी थापेर मोजा धुन थालें। ‘जत्ति हातले लुगा धुने हो आज नै हो, अब त सरर घट्टमा धुने होला नि’, एकजना अन्टीले बोलेको सुनें। यस्सो फर्केर हेरें। हाम्रो घरमा त वासिङ मेसिन आएको रहेछ।’
खुसी हो वा अचम्म के भयो ठ्याक्क यकिन गरिनँ। धोइरहेको मोजा बाल्टीमा मिल्काएर दौड्दै गएँ। साँच्चिकै नै हाम्रोमा वासिङ मेसिन आएको रहेछ।
‘आमा चाहिं उधारोमा मागेको ढाड जस्तै अरुकोमा लुगा धुने छोरी चाहिं कट्टु पनि वासिङ मेसिनमा धुने’ अर्को अन्टीले प्याच्च भन्नुभयो। टलक्क घाम लागेको उज्यालोबाट मेरो मन र अनुहार निष्पट अँध्यारो जस्तै भयो। केही बोलिनँ तर मन सारै अमिलो भयो।
मान्छे अरुको खुसीमा किन खुसी हुन सक्दैनन् जस्तो पनि लग्यो, तिनलाई के को चासो जस्तो पनि लाग्यो। आमाले केही बोल्नुहुन्छ जस्तो लाग्यो, बोल्नुभएन।
त्यो अन्टीको वचनले भन्दा मलाई आमाको शून्यताले बढी पोल्यो। कस्तो लाग्यो, के महसुस भयो ठ्याक्कै ठम्याउन सकिनँ। जे होस् जति खुसी हुन्छु भन्ने सोचेको थिएँ, भइनँ।
जे होस्, घरमा वासिङ मेसिन आयो। आमाले चामलको बाल्टीभित्र लुकाएर राखेको बुवाको सुर्तीको डब्बा भित्रबाट १ हजार रुपैयाँ निकालेर दिनुभयो। ‘कहाँ यतिले हुन्छ’ त्यो पेचकसवाला दाइले भन्नुभयो, यत्रो वासिङ मेसिन किन्न सक्नेले जोडेको पैसा पनि दिन नसक्ने भन्दै उसले पैसा लिन मानेन।
आमाले भएकै यत्ति हो लिए लिनु नभए जोडेको फिर्ता गरेर जाउ भन्नुभयो। आमाले त्यति भनेपछि के के बर्बराए तर त्यही पैसा लिएर ती दाइ गए।
अब आमा र म मात्र बाँकी रह्यौं। आमाले केही भन्नुभएन। पसलेकोमा पूजा रहेछ, सेल ल्याइदिएको छ त्यै खा अनि पढ्न बस, म चोकमा गएर धन्दा सक्काउँछु अनि बहिनी लिएर आउँछु– त्यति भनेर आमा जानुभयो।
त्यो दिन कतिबेला बत्ती निभ्छ भन्ने मात्र लागिरह्यो, वासिङ मेसिनको खुसी वा त्यो अन्टीको वचन बिर्सिसकेकी थिएँ, आमा र बाको कुरा सुन्न।
सामान्य रूपमा साँझ भयो। बुवा फोनमा कुरा गर्दै घर छिर्नुभयो। धेरै त बुझिनँ, ‘१० हजार चाहिएको छ भोलि लिन आउँछु’ भनेको मात्र सुनें। ‘त्यसको चिन्ता नगर्नु, मेरो विश्वास छैन’ भन्दै बुवाले फोन राख्नुभयो।
‘कति पर्यो बा, वासिङ मेसिनको’, मैले सोधें।
‘३५ हजार’ बुवाले यत्ति भन्नुभयो।
‘त्यति पैसा थियो त हामीसँग ?’ मैले फेरि सोधें।
‘त्यसको चिन्ता तैंले नगर, मर्दले गरिहाल्छ नि!’
मलाई साह्रै नमज्जा लाग्यो, बुवाले कहिल्यै पनि मर्द वा आइमाई भनेको सुनेको थिइनँ। फेरि बुवाले त्यस्तोसँग ठाडो बोलेको पनि कमै सुनेको थिइनँ। साह्रै नमज्जा लाग्यो।
सदा झैं, राति बत्ती निभ्यो।
फरक चाहिं त्यो दिन आमाले पनि केही भन्नुभएन, न बुवाले नै केही भन्नुभयो। बत्ती निभेको लगभग आधा घण्टा पछि आमाले मुख खोल्नुभयो। ‘३ हजार मैले राखेको छु, त्यो भएसी ७ हजार मात्र मागे हुन्छ।’
बुवाले केही बोल्नुभएन।
२५ हजार पेश्की लिएको छु संघबाट। बाँकी सुरजेले दिन्छु भनेको छ। तर ब्याज चाहिं अलि चर्को भनेको छ। बुवाले यत्ति भन्ने बित्तिकै आमाले, ‘अनि त्यत्रो पेश्की लिएर घर चाहिं कसरी चलाउने नि भन्नुभयो?’ ‘देखा जाएगा’ यत्ति भन्नुभयो बुवाले। त्यो दिन मैले सुनेको अन्तिम वाक्य त्यति मात्र हो।
केही दिन सामान्य चल्यो। वासिङ मेसिन किनेको भएर खुसियालीमा मैले पनि आमासँग कापी किन्न भनेर ढाँटेर मागेको ३० रुपैयाँको चटपटे साथीलाई खुवाउने बाहेक फरक केही भएन। साँच्चै भनेको, त्यो जति नमिठो चटपटे मैले कहिल्यै खाएको थिइनँ। मनमा तुषारो हुँदा मुख कसरी उज्यालो हुँदोरहेछ र?
केही दिन पछि, दिन र रातहरू पहिले जस्तो भएनन्। आमा बिहानै निस्किन थाल्नुभयो, सिट्ठी नलगाई। अब सिट्ठी लगाउने, बहिनीलाई खुवाउने, आफू खाने अनि स्कुल जाने सबै मेरो जिम्मामा आयो। अलि अलि पढ्न समय हुन्थ्यो बिहान, त्यो पनि रहेन अब। मनमनै सोचें- वासिङ मेसिनले मेरो पढ्ने समय निलिसकेको थियो।
एकदिन सहनै नसकेर मनमनै सोचें, ‘यो वासिङ मेसिन बेचिदिन्छु, आमाको समय र खुसी किन्छु।’
आमा र बुवा दुवै जना आजकल बढीजसो दुःखी अनि रिसाएको जस्तो नै हुनुहुन्थ्यो। लाग्थ्यो, पहिले हामी गरिब मात्र थियौं, अब गरिब र दु:खी दुवै भयौं। वासिङ मेसिन त हाम्रो बँचेखुचेको खुसी पनि निल्ने भाँडो पो रहेछ!
पेश्कीको पिसानमा बुवा परिसक्नुभएको थियो। वासिङ मेसिन भएको भएर अरु खर्च रोकिंदैन रहेछन्। बुवा आजकल बढी रिसाउन थालेको महसुस गरेकी छु। आमासँग सानो-सानो कुरामा गरेको झगडाको साक्षी म नै छु। ‘पहिला त यस्तो हुन्थेन’, म सोच्ने गर्छु।
आमा पनि काम मात्र थपिरहनुभएको छ। किस्ता र खर्चको पिसानले हाँसो र समय दुवै एकैचोटि हरेको थियो। बत्ती निभाएपछिको खासखुस बन्द भए, अब घोचपेच र झगडा मात्र सुनिन थाल्यो। दुई जना मिलेर लडिरहेको युद्धमा दुश्मन एउटै नै भए पनि अब एक्ला-एक्लै लड्दै हुनुहुन्थ्यो।
आजकल घरमा सुनाउन लायक केही छैन। वासिङ मेसिन पाल्नलाई एक महिनामा बुवा-आमा दुई वर्ष बुढा हुनुभएको थियो। मेरो र बहिनीको पढाइ तलाउको जलकुम्भी जस्तो भएको थियो।
एकदिन सहनै नसकेर मनमनै सोचें, ‘यो वासिङ मेसिन बेचिदिन्छु, आमाको समय र खुसी किन्छु।’
आफैं पसल गएर सोधेको ३५ हजारमा किनेको वासिङ मेसिनलाई अब पसलेले जम्मा १२ हजार दिन्छु भन्यो। कसैलाई केही भनिनँ।
हामी गरिब थियौं, छौं तर अब वासिङ मेसिन भएको गरिब।