#समाचार

देश छोड्ने रहर छैन – Online Khabar

१३ पुस, काठमाडौं । दशरथ रंगशालामा शनिबार कुनै खेलकुद प्रतियोगिता थिएन । तर, प्यारापिट भरिभराउ थियो । रंगशालाभित्र प्रवेश गर्न चाहनेहरू थापाथली, शहीदगेटदेखि नै लाइन बस्नेहरू थिए । रंगशालाभित्र घुइँचो थियो भने बाहिर रंगशाला आसपासको ट्राफिक व्यवस्थापन अस्तव्यस्त थियो ।

तै पनि हीरा श्रेष्ठ ६ महिनाको छोरो च्यापेर भीड छिचोल्दै रंगशाला प्रवेश गरिन् । किनभने, शनिबार त्यो दिन थियो, जुन दिनको सपना साँचेर उनले वर्षभरि मेहनत गरेकी थिइन् । अर्थात्, शनिबार त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह थियो ।

व्यवस्थापन संकायबाट मास्टर्स अफ फिलोसफी (एमफिल) मा सर्वोत्कृष्ट अंक ल्याएकी हीरा त्रिवि प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट सम्मानित हुँदै थिइन् । एमफिलमा ३.९५ सीजीपीए ल्याएकी हीराको नाम पदक ग्रहणका लागि जब बोलाइयो, उनको आँखा खुसीका आँशुले भरिए । गर्वले छाती चौडा भयो । उनले त्रिविका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीबाट पदक ग्रहण गरिन् ।

विभिन्न २२ विधाका उत्कृष्ट विद्यार्थीहरूले शनिबार उत्कृष्टताको पदक प्राप्त गरे । समारोहमा प्रत्यक्ष सहभागी भएर १४ हजार ३०८ जना दीक्षित भए । त्यसक्रममा प्रधानमन्त्री ओलीले सबैलाई देशका लागि सेवा गर्ने प्रतीज्ञा गराए । कुलपतिका हैसियतमा अभिव्यक्ति दिने क्रममा पनि प्रधानमन्त्री ओलीले यही समाजमा अथाह सम्भावना रहेकाले आफूले आर्जन गरेको विद्या र ज्ञानलाई यही देशमा प्रयोग गर्न अपिल पनि गरे

प्रधानमन्त्रीको अपिल विकृति–विसंगति बढ्यो, आशाको कुनै किरण देखिएन भन्दै देश छाड्नेहरूको लर्कोतर्फ लक्षित देखिन्थ्यो । यो अपिलले कति छोयो त ? हीराले अनलाइनखबरसँग भनिन्, ‘म देशमै बसेर सेवा गर्न प्रतिबद्ध छु । यहीँ बस्ने हो । आफ्नै देशको लागि गर्ने हो । यहाँ पनि जागिर पाइन्छ ।’

नेपालमा अवसर छैन भन्ने तर्कसँग उनको विमति थियो । ‘मैले यही देशमा सम्भावना छ भनेर विदेशमा रहेका श्रीमानलाईसमेत नेपालमै ल्याएको छु,’ उनले थपिन् । हाल उनी विश्वविद्यालय अनुदान आयोगमा कार्यरत उनको विदेशिने योजना छैन । ‘सरकारी सेवामा छु । विद्यावारिधि गर्दै छु,’ उनले भनिन् ।

अर्थशास्त्र विषयमा तीनवटा पदक प्राप्त गरेकी श्रीज्या काफ्लेले पनि थप अध्ययनका लागि विदेश जाने, तर फर्किएर स्वदेशमै रमाउने बताइन् । ‘तीनवटा मेडल जीन्दगीको गहना हो । गहनालाई अवसर र चुनौतिको रूपमा लिएको छु,’ उनले भनिन्, ‘पीएचडीका लागि विदेश जान्छु । तर फर्किएर देशको अर्थशास्त्री बन्छु ।’

अन्तर्राष्ट्रिय अनुभवका लागि विदेश जाने बताएकी श्रीज्याले मातृभूमिको माया र परिवारको साथ अन्यत्र नपाइने हुनाले पनि देश फर्किने सुनाइन् । ३.६७ सीजीपीए ल्याएकी हुनले तारपद चौधरी पदक, खगेन्द्रमानसिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पदक प्राप्त गरेकी थिइन् ।

०००

दुईवटा पदक पाएकी एमबीएसकी रेबिका भण्डारी पनि नेपालमै भविष्य देख्छिन् । अब पीएचडी पनि नेपालमै गर्ने उनको तयारी छ । ‘शिक्षामा पहिलेभन्दा धेरै सुधार भइसकेको छ । यहीँ बसेर पीएचडी गर्छु,’ उनी भन्छिन् । सरदार गुञ्जमान सिं स्वर्ण पदक र रामकृष्ण न्युच्छे पुरस्कार प्राप्त गरेकी रेबिकाले ३.९० सीजीपीए ल्याएकी छिन् ।

०००

एमए अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतीकराज जोशीले डा. दुबसु क्षेत्री स्वर्ण पदक पाए । उनले ३.८१ सीजीपीए ल्याएका उनी पनि विदेश जाने योजानमा छैनन् । सरकारी सेवामा प्रवेश गरिसकेका उनी नेपालमै बसेर सेवा गर्ने बताउँछन् ।

‘परराष्ट्र मन्त्रालयका कार्यरत छु । जुन विषय पढेको हुँ त्यसैमा काम गरिरहेको छु । विदेश पलायन हुने सोच छैन,’ उनले भने । २०८० मा उनी सरकारी सेवामा प्रवेश गरेका हुन् । गत वर्ष अधिकृतमा नाम निकालेका उनले यो वर्ष स्वर्ण पदक हात पारे । एकपछि अर्को सफलता उनले नेपालमै पाइरहेका छन् ।

नेपाल बसेर पनि धेरै गर्न सकिन्छ भन्ने धारणा राख्ने प्रतीकराज त्यसका लागि राज्यले राम्रो आय आर्जन गर्न सक्ने वातावरण भने बनाइदिनुपर्ने बताउँछन् । युवा विदेश जाँदा गाउँघर रित्तो भएकाले रोजगारको सिर्जना राज्यले गर्नुपर्ने उनको भनाइ छ ।

०००

एमए पत्रकारिता तथा आम सञ्चार विषयबाट नारायण शान्ति मिश्र पदक चेतना कुँवरले पाइन् । ३.८२ सीजीपीए ल्याएकी कुँवर पनि नेपालमै बसेर काम गर्ने योजनामा छिन् । ‘पत्रकारिता क्षेत्रमा कार्यरत छु । यसैलाई निरन्तरता दिन्छु,’ उनी भन्छिन् । काठमाडौं विश्वविद्यालयमा उनले पीएचडी पनि सुरु गरेकी छिन् ।

वनस्पति शास्त्रबाट प्राडा रामप्रसाद चौधरी स्वर्ण पदक श्रीणा क्षत्रीले पाइन् । उनको पनि विदेश जाने योजना छैन । ‘सरकारी सेवामा जाने सोच छ । नेपालमै बसेर काम गर्ने हो,’ उनी भन्छिन् । ३.८० सीजीपीए ल्याएकी उनको स्वदेशमै मेहनत गर्ने अठोट छ ।

पदक विजेतामध्ये अनलाइनखबरसँगको संवादमा अधिकांशले यही देशलाई कर्मथलो बनाउने बताए पनि सम्भावना बनाउको काममा सरकारको प्रमुख दायित्व हुने पनि सँगसँगै उठाएका छन् ।

दलहरूबाट नागरिकलाई मतदाताका रूपमा मात्र हेर्ने प्रवृत्ति बढिरहेका वेला यही देशमा सम्भावनाका ढोका उघार्न तिनै दल सच्चिन जरुरी छ । आफूलाई नसच्याउने हो भने कुलपतिका हैसियतले प्रधानमन्त्रीले गराउने प्रतिबद्धता केवल औपचारिकतामा सीमित हुने निश्चित त छ नै, यही आफूले आर्जन गरेको विद्या र ज्ञान यही समाजमा लगाउँछौँ भन्नेहरूका विश्वास पनि डगमगाउनेछ ।

कसले पाए कुन पदक ?

व्यवस्थापन संकायबाट मास्टर्स अफ फिलोसफी (एमफिल) मा ३.९५ सीजीपीए ल्याएकी हीरा श्रेष्ठले त्रिवि प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक प्राप्त गरिन् ।

३.६७ सीजीपीए ल्याएकी श्रीज्या काफ्लेले तारपद चौधरी पदक, खगेन्द्रमानसिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पदक प्राप्त गरिन् ।

रेबिकाले ३.९० सीजीपीए ल्याएकी एमबीएसकी रेबिका भण्डारीले सरदार गुञ्जमान सिं स्वर्ण पदक र रामकृष्ण न्युच्छे पुरस्कार प्राप्त गरिन् ।

एमए अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतीकराज जोशीले डा. दुबसु क्षेत्री स्वर्ण पदक पाए । उनले ३.८१ सीजीपीए ल्याएका थिए ।

एमए पत्रकारिता तथा आम सञ्चार विषयबाट नारायण शान्ति मिश्र पदक चेतना कुँवरले पाइन् । उनले ३.८२ सीजीपीए ल्याइन् ।

३.८० सीजीपीए ल्याएकी श्रीणा क्षत्रीले वनस्पति शास्त्रबाट प्राडा रामप्रसाद चौधरी स्वर्ण पदक पाइन् ।

इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्ले पाइन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् । अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले पाए । उनले ३.९५ सीजीपीए ल्याएका छन् ।

मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाइन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् । नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाइन् । रात्नराज्य लक्ष्मी क्याम्पसमा पढेकी उनले ३.८८ सीजीपीए ल्याएकी छिन् । डा. मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले पाएकी छिन् ।

शान्तिनारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिवकुमार सिंहले पाए । उनले ३.८२ सीजीपीए ल्याएका छन् । सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएडकी सीताकुमारी श्रेष्ठले पाएकी छिन् । उनले ३.४५ सीजीपीए ल्याएकी छिन् । सत्य माँ स्मृति स्वर्ण पदक बीबीएका आकृति झाले पाएकी छिन् । उनले ३.९९ सीजीपी ल्याएकी छन् । भाइस चान्सलर पदक पनि उनले पाइन् ।

लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले पाए । ल क्याम्पसमा पढेका उनले ३.७१ सीजीपीए ल्याएका छन् । शिवराज पन्त स्मृति पुरस्कार सिभिल इन्जिनियरिङका स्नातक तह बीइ सिभिलका आशिष थापाले पाए । उनले ८४.२१ प्रतिशत अंक ल्याएका छन् । छत्रबहादुर पदक बीबीएसका समिता डंगोलले पाएकी छिन् । उनले ८०.७० प्रतिशत ल्याएकी छिन् । सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट संगिता प्रजापतिले पाएकी छिन् । उनले ७५.१५ प्रतिशत ल्याएकी छिन् ।

५० औं दीक्षान्त समारोहमा पदक पाउनेमा छात्राको बाहुल्यता छ । १७ छात्रा यो पदक पाउँदा सात छात्रले मात्र पदक प्राप्त गर्न सकेका छन् । स्नातक तहमा ५३ हजार ६८२, स्नातकोत्तरमा २० हजार १३५, एमफिलमा एक सय ७८, पीएचडीमा एक सय ५४, प्राविधिक धारतर्फ १५ हजार ०३३ र साधारण तर्फ ५९ हजार ११६ गरी दीक्षित हुने विद्यार्थी संख्या ७४ हजार १४९ थियो । तीमध्ये दीक्षान्त समारोहमा सहभागी विद्यार्थी संख्या भने १४ हजार ३०८ मात्र रह्यो ।

देश छोड्ने रहर छैन – Online Khabar

वासिङ मेसिन – Online Khabar

देश छोड्ने रहर छैन – Online Khabar

इतिहास हो, तर धेरै पुरानो होइन –

Leave a comment

Your email address will not be published. Required fields are marked *