चिकित्सकले अन्डरवर्ल्ड सदस्य भन्दै ७ व्यक्तिलाई धम्क्याएपछि
१२ पुस, काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एस डेन्टल प्रालिकी सञ्चालिका हुन् लक्ष्मी बरामल (सुधा) । उनले करिब एक वर्ष अगाडि नै ललितपुरको इमाडोलमा त्यसको शाखा खोलिन् । क्लिनिककै नाममा रहेको मोबाइल नम्बरबाट भाइबर, ह्वाट्स चलाउँथिन् । डेन्टल प्रालिका सबै सूचनाहरू पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्थिन् । उनले प्रयोग गरेको नेपाल टेलिकमको उक्त मोबाइल नम्बरमा ३ मंसिरको बिहान ११:४५ बजे एउटा म्यासेज आयो । ‘अननोन’ नम्बरबाट आएको उक्त म्यासेज उल्लेख गरिएको थियो, ‘अन्डरकभर एजेन्ट । आईटी ह्याकर कन्ट्रायक्ट किलर र सूचना दिनेको अन्डरवर्ल्ड नेटवर्क हुँ । तपाईंको गलत कामको बारेमा अडियो, भिडियो कागजातहरूको फायल छ । ५० हजार दिनू ।’
५० हजार नदिए के हुने भन्दै धम्की पूर्ण म्यासेज पनि आएको थियो । ‘परिवार तथा कार्यस्थान समेतको बारेमा थाहा छ । सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भिडियो पोस्ट गरी क्लिनिक बन्दसम्म गराइदिन सक्छु’ अर्को धम्कीपूर्ण म्यासेज थियो ।
धम्कीपूर्ण म्यासेज आएको भोलिपल्ट उनले ४ मंसिरमा यसबारे प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा निवेदन दिइन् । ४ मंसिरमै बिहान ९:१७ बजे फेरि सोही मोबाइल नम्बरबाट ह्वाट्स एपमा अर्को म्यासेज आयो– ‘मैले माग गरेको रकम यही नम्बरमा इ–सेवा/खल्ती वालेटमा पठाउनू ।’
तर, लक्ष्मीले इ–सेवामा रकम दिन नसक्ने भन्दै जवाफ फर्काइन् । त्यसपछि अफलाइन पठाओमा रकम पठाएर मोटरसाइकल नम्बर टिपाउनु भन्दै अर्को म्यासेज आएको थियो । तर उनले रकम पठाइनन् ।
यही शैलीमा धम्की दिएको भन्दै केही व्यक्तिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा निवेदन दिएका थिए । अपराध अनुसन्धान कार्यालयको टोलीले ६ मंसिरमा शंखुमलबाट यसरी धम्की दिने युवालाई पक्राउ गर्यो ।
यसरी धम्की दिने व्यक्ति थिए, ललितपुरको महालक्ष्मी नगरपालिका–५ घर भएका ३१ वर्षीय आशिष दाहाल । दाहाल पेसाले एमबीबीएस डाक्टर रहेको खुलेको छ । लक्ष्मीसहित उनले किरण श्रेष्ठ, सरोज पौडेल, प्रकाश गुप्ता, नरेन्द्रकुमार गुप्ता, दाना हमाल, निरेश ढुंगेललाई यस्तै शैलीमा धम्क्याएको खुलेको छ । उनले लक्ष्मीसँग ५० हजार, किरणसँग ५० हजार, सरोजसँग ५० हजार, प्रकाशसँग ५० हजार, नरेन्द्रसँग २ लाख, दानासँग २ लाख र निरेशसँग १ लाख रुपैयाँ माग गरेको खुलेको छ ।
उनीमाथि अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पठाएको थियो । अहिले सरकारी वकिल कार्यालयले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा आपराधिक लाभको कसुरमा मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को अफा २५३ को उपदफा (१) र (२) को कसुर गरेको आरोपमा मुद्दा दायर भएको छ । दफा २५३ को कसुर गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।