#समाचार

स्ववियु चुनावको तयारीमा जुट्यो त्रिवि, सबै क्याम्पसमा एकैपटक चुनाव

९ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीमा जुटेको छ ।

त्रिविको क्यालेन्डर अनुसार १५ फागुनमा स्ववियु चुनाव गराउने उल्लेख छ । क्यालेन्डर अनुसार चुनाव गराउन विद्यार्थी कल्याण परिषद्ले तयारी थालेको हो।

‘क्यालेन्डर अनुसार १५ फागुनमा चुनाव गर्न परिषद् तयार छ । कार्यकारी परिषद् र सिनेटले पास गरेको विषय अब परिवर्तन गर्न मिल्दैन । तोकिएकै मितिमा चुनाव गराउन छलफल सुरु भएको हो,’ कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीले भने।

मंगलबार रेक्टर खड्ग केसीको अध्यतामा बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले केन्द्रीय चुनाव समिति बनाउने र विद्यार्थी संगठनसँग छलफल गर्ने निचोड निकालेको छ । सदस्य सचिव अधिकारीले त्रिवि अन्तर्गतका सबै क्याम्पसमा एकैपटक चुनाव गरिने बताए ।

स्ववियु चुनाव दुई दुई वर्षमा गर्ने प्रावधान छ। सदस्य सचिव अधिकारीका अनुसार दुई वर्ष अघि भएको चुनावमा ५० वटा आंगिक र ४ सय बढी सम्बन्धन प्राप्त कलेजमा स्ववियु चुनाव भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *