#समाचार

६ महिनापछि आउन लागेको दयाहाङको ‘कार्साङ’ कस्तो फिल्म हो ?

काठमाडौं । अभिनेता दयाहाङ राईलाई लाग्दै आएको आरोप हो, उनी धेरै फिल्म खेल्छन् । हरेक महिनाजसो उनका फिल्म प्रदर्शनमा आउँछन् । कुन हेर्ने र कुन नहेर्ने दोधारमा दर्शक हुन्छन् ।

यो पटक भने उनी निकै लामो समयपछि हलमा आउँदैछन् । ‘कार्साङ’मार्फत पुस २६ गते उनी हलमा आउँदा उनको अघिल्लो फिल्म रिलिज भएको करिब ६ महिना हुनेछ । अर्थात् ६ महिनापछि दयाहाङ आफ्ना दर्शकमाझ आउँदै छन् ।

‘घर ज्वाईं’ असार २८ गते रिलिज भएको थियो । त्यसयता दयाहाङ अभिनित ‘कार्साङ’ रिलिज हुन लागेको हो । आधा वर्षाको अन्तरालपछि दयाहाङ हलमा आउँदा दर्शकको साथ पाउने अपेक्षा निर्माणपक्षको छ । ‘घरज्वाईं’ पनि व्यवसायिक सफल फिल्म हो ।

ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा दयाहाङ देखिने भएका छन् । अभाव र दुःखबीच आफ्नो जातिको संस्कारलाई जोगाउने इमान्दार चरित्रमा उनी देखिनेछन् ।

अभाव र इमान्दार समाजका भुइँ मान्छे कसरी आफन्त र समाजबाट पाखा लगाइन्छन् भन्ने ‘कार्साङ’ले देखाउने यसको टिजरले देखाइसकेको छ ।

टिजरले भुइँमान्छेको कथा ‘कार्साङ’ले भन्ने र यो कथा दयाहाङको पात्रमार्फत् भनिने प्रष्ट पारेको छ । यो फिल्मले गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथासँगै दर्शकले शेर्पा समुदायको संस्कृति पनि बुझ्ने अवसर पाउनेछन् ।

प्रायः दयाहाङ हाइफाइ र चटपटेभन्दा मौलिक कथामार्फत फिल्ममा देखिँदै आएका कलाकार हुन् । यसपटक पनि उनी शेर्पा समुदायको कथा लिएर दर्शकलाई भेट्न आउँदैछन् । ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । कथा पनि निर्देशक उनी आफैले लेखेका छन् ।

फिल्ममा सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । निङलेखुको यो डेब्यु फिल्म हो ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् । सहनिर्माता गोविन्द बोहरा हुन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *