#समाचार

शेखर कोइराला – Online Khabar

फाइल तस्वीर


८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् ।

सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो स्वीकार गरेका हुन् । आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य हुनपरेको जिकिर गरे ।

‘वास्तवमा अहिले पार्टीमा हामीबीच विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०/६० को भागबण्डा भनेर भन्नुभयो,’ कोइरालाले भने, ‘मैले पहिला भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । सभापतिजीले केही पनि सुन्दै नसुन्ने हो भने त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरूलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ ।’

पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व. भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गुटलाई फस्टाइदिने गतिविधि गरेको आरोप लगाए ।

‘अहिलेको आदरणीय सभापति किसुनजीको अनुयायी हो । गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँदो रहेछ । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरू भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । बीपी, गणेशमान र अरु नेताहरू भएको भए के गर्नुहुन्थ्यो ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *