#समाचार

रहेनन श्याम बेनेगल, काठमाडौंमा भनेका थिए- म कम्युनिस्ट हैन, असल फिल्ममेकर बन्न संघर्ष गर्दैछु

काठमाडौं । चर्चित भारतीय फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको सोमबार मुम्बईमा ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौला पीडित उनले मुम्बई सेन्ट्रलको वोकहार्ट अस्पतालमा साँझ ६ः३८ मा अन्तिम सास लिए ।

उनको मंगलबार अन्तिम संस्कार गरिने छ । छोरी पियाका अनुसार बेनेगल मिर्गौला रोगबाट पीडित थिए । दुई वर्षअघि उनको दुवै मिर्गौला फेल भएको थियो । त्यसयता उनको डायलासिस गरेर उपचार भइरहेको थियो ।

भारतमा सबैभन्दा बढी राष्ट्रिय पुरस्कार जित्ने कीर्तिमान बेनेगलको नाममा छ । उनले ८ फिल्मका लागि यो अवार्डबाट सम्मानित भएका छन् ।

बेनेगलका फिल्महरूले भारतीय सिनेमालाई उत्कृष्ट कलाकार दिए । जसमा नसिरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायांकनकर्ता गोविन्द निहलानी प्रमुख छन् ।

जवाहरलाल नेहरू र सत्यजित रेमाथि डकुमेन्ट्री बनाउनुका साथै उनले दूरदर्शनका लागि ’यात्रा’, ’कथा सागर’ र ’भारत एक खोज’ सिरियलहरू पनि निर्देशन गरेका थिए ।

श्यामले २४ फिल्म, ४५ वृत्तचित्र र १५ विज्ञापन फिल्म निर्माण गरेका छन् । उनले जुबैदा, द मेकिंग अफ द महात्मा, नेताजी सुभाष चन्द्र बोस : द फोरगटन हिरो, मण्डी, आरोहण, वेलकम टु सज्जनपुर जस्ता दर्जनौं उत्कृष्ट फिल्महरू निर्देशन गरे ।

फिल्म उद्योगमा उनको योगदानको लागि, उनलाई १९७६ मा पद्मश्री र १९९१ मा पद्मभूषण सम्मानित गरिएको थियो । यसबाहेक ८ वटा राष्ट्रिय अवार्ड जिते । बेनेगललाई सन् २००५ मा भारतीय सिनेमाको सर्वोच्च सम्मान दादासाहेब फाल्के अवार्ड पनि दिइएको थियो ।

बेनेगलले सन् १९७४ मा आफ्नो पहिलो फिल्म ‘अंकुर’ बनाएका थिए । यस फिल्ममा उनले आन्ध्र प्रदेशका किसानको मुद्दा उठाएका छन् । तर, ‘मुजिब–द मेकिंग अफ अ नेशन’ उनको अन्तिम फिल्म थियो । मुजिबको छायांकन दुई वर्षसम्म चलेको थियो । यो फिल्म मुजिबुर रहमानको जीवनमा आधारित थियो ।

उनको निधनमा शेखर कपुर लेख्छन्– श्याम बेनेगलले सिनेमामा नयाँ लहर ल्याए । अंकुर, मन्थनजस्ता अनगिन्ती फिल्महरूद्वारा भारतीय सिनेमाको दिशा परिवर्तन गर्ने व्यक्तिको रूपमा उनी सधैं स्मरणीय रहनेछन् । उनले शबामा आजमी र स्मिता पाटिल जस्ता उत्कृष्ट कलाकारलाई स्टार बनाए । बिदाइ मेरो साथी र मार्गदर्शक ।’

७० को दशकमा ‘एंग्र योङ म्यान’को उदयसँगै मुलधारको हिन्दी सिनेमाले रोमाञ्चक नयाँ चरणमा प्रवेश गर्दैगर्दा बेनेगलले समानान्तर सिनेमालाई अगाडि बढाउँदै अंकुर (द सिडलिङ, १९७४) का लेखक र निर्देशकको रूपमा उत्कृष्ट डेब्यू गरे । यसले भारतमा समानान्तर फिल्मको आन्दोलनलाई अघि बढायो ।

बेनेगलका फिल्म र सौन्दर्यशास्त्रले ७० र ८० को दशकको समानान्तर सिनेमा आन्दोलनमा ठूलो भूमिका खेलेको थियो । बेनेगलले आफ्ना केही उत्कृष्ट फिल्महरू– अंकुर, निशांत (१९७५), मन्थन (१९७६), भूमिका (१९७७), र जुनून (१९७९) निर्देशन गरे । यी फिल्ममार्फत उनी बलियो सिनेमा आवाज र गणना गर्न सक्ने शक्तिको रूपमा उभिए । भेराइटी म्यागेजिनले बेनेगललाई भारतीय सिनेमाको एक अग्रणी अनुहार, सामाजिकरुपमा सचेत कथा वाचनको लागि परिचित फिल्ममेकरको रुपमा उल्लेख गरेको छ ।

‘बेनेगल नेपाली फिल्मको विकास हेर्न चाहेका असल मित्र’

२०७१ सालको कात्तिक १७ गते बेनेगल काठमाडौंको अस्कर फिल्म कलेजका विद्यार्थीमाझ सुनिएका थिए । उनले त्यतिबेला नेपाली फिल्मको कथावस्तु र अन्तर्राष्ट्रियकरणबारे चासो र चिन्ता व्यक्त गरेका थिए । सोही दिन उनले भारतीय दूतावासले आयोजना गरेको छलफल सत्रमा समेत भाग लिए ।

भारतीय दुतावास र अस्कर कलेजले आयोजना गरेको अन्तक्रियामा बेनेगलले नेपाली फिल्ममेकर, विद्यार्थी र तन्नेरीसँग छलफल गरेका थिए । नेपाली फिल्मले आफ्नो दिगो भविष्यका लागि भारत र पाकिस्तानजस्ता ठूला बजारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

‘हामीले युरोपेली सिनेमा समाप्तीको अनुभवबाट बुझ्नुपर्ने कुरा, आफ्नै बजारबाट चल्न कठिन हुने भएकाले नेपालले विदेशी बजार खोज्नैपर्छ’ बेनेगलले भनेका थिए, ‘उस्तै संस्कृति भएका भारत र पाकिस्तानसँग मिलेर नेपालले संयुक्त लगानीमा चलचित्र बनाउनुपर्छ । समान भोगाइ र अनुभव भएका पात्रहरुको उठान पनि कन्टेन्टमा गर्न सकिन्छ ।’

कलाकारप्रति बेनेगलको आफ्नै खालको मान्यता थियो । उनले त्यतिबेला भनेका थिए – यो गर र ऊ गर भनेर सिकाइरहनुपर्ने व्यक्ति अभिनेता हुनसक्दैन । अभिनेता त्यो हो जसले म के र किन गर्दैछु भनेर बुझनसक्छ ।’

उनले नेपाली फिल्मका निर्मातालाई विश्वदृष्टि अँगाल्न आग्रह गरे । ‘तपाईंहरुले ग्लोबल सेन्सबाट फिल्म बनाउनूस, कुनै भाषा केन्द्रित फिल्म होइन’ बेनेगलको सुझाव थियो, ‘तपाईंलाई कुनै महंगो सिनेमाको खाँचो छैन ।’ उनले प्रत्येक अभिनेताभित्र लुकेको खास गुणलाई निर्देशकले चिन्न सक्नुपर्ने बताएका थिए ।

‘प्रत्येक अभिनेतामा खास गुण लुकेको हुन्छ । त्यसलाई चिनेर मात्र बाहिर निर्देशकले ल्याउन सक्नुपर्छ । नत्र त्यो अभिनय कृत्रिम हुनजान्छ’ बेनेगलले भनेका थिए । निर्देशकमा प्रविधिको ज्ञान र अनुसन्धान गर्ने रुचि पूर्वसर्त भएको उनको कथन थियो । ‘यो कुनै मेकानिकल प्रोसेस होइन’ उनले भनेका थिए, ‘यो मानवीय मनसँग अन्तक्रिया गर्ने प्रविधिको शैली हो । तपाईंको सफलता कसरी मान्छेको हृदयसाग भलाकुसारी र स्पर्श गर्नुहुन्छ भन्नेमा निर्भर हुन्छ ।’

फिल्ममा कथा भन्ने शैलीलाई बेनेगलले तीनरुपमा व्याख्या गरेका थिए । ‘कोहीले शिक्षकको शैलीमा कथा भन्छन् । कोही मान्छेलाई आदेश र निर्देशन दिएको मनपर्छ । कोहीलाई साथीभाईजस्तै कथा भनेको मनपर्छ र कोही मगन्तेजस्तै कथा भन्न रुचाउँछन् । यी सबै कुरा दर्शकको रुचिमा भरपर्छ’ उनले भनेका थिए ।

के तपाईं कम्युनिष्ट हो ? भन्ने प्रश्नमा बेनेगलले भनेका थिए, ‘होइन, म कम्युनिष्ट होइन । म असल चलचित्र निर्माता हुन संघर्ष गरिरहेको छु । एउटा असल फिल्ममेकरको भूमिका समाजका असमानताविरुद्ध बोल्नु पनि हो’ उनले भनेका थिए ।

चलचित्रकर्मीलाई सामाजिक मुद्दाहरुमा ध्यान दिन पनि उनले अपिल गरेका थिए । । आठपटक भारतको राष्ट्रिय अवार्ड जितेका बेनेगलले आफू निर्देशित एउटा फिल्म पनि आफ्ना प्रिय नभएको बताएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *