‘नेपालमा सरकार ढल्छ भन्ने मेरो टिप्पणीले हंगामा होला भन्ने लागेको थिएन’
८ पुस, काठमाडौं । एक साताअघि भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्वएजेन्टले नेपालको सरकार चाँडै ढल्दैछ भनेर सनसनीपूर्ण अभिव्यक्ति दिए, सामाजिक सञ्जालमा त्यसको व्यापक चर्चा भयो ।
सरकारी निकायसँग जोडिएका व्यक्ति भएको आशयसहित उनको भनाइको चर्चा गरिएको थियो, तर लक्की विष्टका नामले चिनिने लक्ष्मणसिंह विष्टले ६ वर्ष पहिल्यै सरकारी सेवा छाडिसकेका थिए ।
सन् २०११ मा भारतको उत्तराखण्डमा भएको ‘डबल मर्डर’मा उनी पक्राउ परेका थिए, अदालतले ७ वर्षपछि उनलाई सफाइ दियो । उनले जागिरबाट राजीनामा दिए । यस्तोमा नेपालबारे दिएको टिप्पणी भाइरल भएपछि आफूलाई अनौठो लागेको उनी बताउँछन् । भारतमा रहेका उनले अनलाइनखबरसँग संवाद गर्दै त्यो आफ्नो नितान्त व्यक्तिगत विचार प्रस्टीकरण दिए ।
‘अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कसैलाई कुनै अधिकार छैन । तर, एउटा आमनागरिक भएको हिसाबले व्यक्तिगत रुपमा कुनै पनि विषयमा एउटा प्रतिक्रिया दिन त जो कोही स्वतन्त्र हुन्छ, होइन र ?’, उनले प्रश्न गरे ।
विष्टले पहिले दिएको एउटा अन्तरर्वार्तामा खुलाएको अपरेशन पनि नेपालको जमिम शाह हत्या प्रकरणसँग मिल्दोजुल्दो भएको भन्दै चर्चा भएको थियो । सरकारबारे दिएको टिप्पणी, जमिम शाहदेखि लाल मोहम्मद हत्या प्रकरणसम्मका विषयमा केन्द्रित रहेर अनलाइनखबर संवाददाता गौरव पोखरेलले उनीसँग टेलिफोनमा कुराकानी गरेका छन् ।
तपाईंले नवभारत टाइम्ससँग अन्तरर्वार्तामा केही दिनअघि १०/१५ दिनभित्र सरकार ढलेको खबर आउँछ भन्नुभएको थियो । तपार्इंले यो के आधारमा टिप्पणी गर्नुभयो ?
नेपालमा ७/८ दिनदेखि मिडिया र अरुले लक्की विष्ट.. लक्की विष्ट… मात्र भनेका छन् । एक हप्तादेखि म नेपालको समाचारमा मेरै चर्चा सुन्छु ।
एजेन्सीबाट मैले राजीनामा दिइसके । यो सरकार वा कुनै एजेन्सीको कुरा होइन, यो त मेरो व्यक्तिगत विचार हो नि । अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कसैलाई कुनै अधिकार छैन ।
तर, अहिले म विल्कुल एक आम नागरिक हुँ । नागरिक भएको हिसाबले व्यक्तिगत रुपमा कुनै पनि विषयमा एउटा प्रतिक्रिया दिन त जो कोही स्वतन्त्र हुन्छ, होइन र ?
सुन्छु, नेपालका कतिपय मिडियाले सधैँ भारत नेपालको सरकार ढाल्न चाहन्छ भनेर भन्छन् । तर, भारतले किन सरकार ढाल्ने ? भारतलाई तपाईंको सरकारसँग के मतलब ? मैले यो भन्न खोजिरहेको छु कि मैले गरेको टिप्पणी नितान्त व्यक्तिगत थियो ।
मैले नेपालका आफ्ना स्रोतका आधारमा, विश्लेषणका आधारमा त्यस्तो भनेको थिएँ । मलाई नेपालकै मानिसहरुले यस्तो विश्लेषण सुनाएका थिए ।
त्यसो भन्नु पछाडि कुनै आधार थिए होलान् नि ? कारणविना त त्यस्तो दाबी गर्नुभएन होला ?
अहिले नेपालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) देखि जति पनि लगानी लिएको छ, त्यो जरुरी थियो र ? चाहे तपाईं श्रीलंकाको कुरा गर्नुस्, पाकिस्तानको कुरा गर्नुस्, यस्तो ऋण लिनेले अहिलेसम्म फिर्ता गर्न सकेका छन् र ?
राजनीतिक नेतृत्वमा जो भएपनि कुनै न कुनै दिन त रकम फिर्ता त दिनुपर्छ । त्यो जनताको करबाट तिरिने हो । यसले भोलिका दिनमा समस्या सिर्जना गर्नसक्छ भन्ने मलाई लाग्छ ।
नेपालका धेरै साथीहरुले मलाई यस्तै मलाई त्यस्तै सुनाएका थिए कि यसप्रति धेरै नेपालीहरु खुशी छैनन् । त्यसैले मैले यो सरकार लामो समयसम्म टिक्दैन होला भनेको थिएँ ।
तर, प्रधानमन्त्रीको भारत भ्रमण नभइरहेको सन्दर्भमा तपाईंको टिप्पणीलाई कतिपयले फरक अर्थका रुपमा पनि बुझे !
–म तपाईंलाई एउटा कुरा सोध्छु– जलविद्युत्, पर्यटन वा सडकका सन्दर्भमा नेपालको सरकारले बीआरआई अन्तरगत ऋण लिन कुनै जरुरी थियो र ? यस्तो ऋणका कारण श्रीलंका र पाकिस्तानको कस्तो अवस्था भएको छ ?
नेपालले जुन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनायो, त्यो जरुरी थियो र ? त्यहाँ अहिलेसम्म अन्तर्राष्ट्रिय उडान भएको छ र ? चीनको एउटा उडान मात्र भएको छ । फेरि यो पनि मेरो व्यक्तिगत विचार हो ।
अहिले जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँको भारत भ्रमण भएको छैन । तर, नेपालमा मेरा जति पनि साथीहरु छन्, अथवा मैले चिनेका जति पनि छन्, उनीहरुले नेपालका जनता पूर्णतः चीनको पक्षमा छैनन् भनेका छन् । भलै यो उनीहरुको विश्लेषण हो । उनीहरु के भन्छन् भने नेपालीहरु चीनभन्दा बढी भारतसँग नै राम्रो सम्बन्ध चाहन्छन् ।
भारतसँग नेपालको वर्षौंदेखिको सम्बन्ध छ, त्यसमा कहिल्यै दरार आएको छ र ? अहिलेसम्म एकअर्काको देशका भिसा पनि चाहिँदैन । भारतका मान्छे सहजै नेपाल जान्छन्, नेपालका सहजै भारत जान्छन् । नेपालका लाखौं व्यक्ति भारतमा काम गरिरहेका छन्, कहिल्यै उनीहरुसँग समस्या भएको छ र ?
त्यसैले फेरि पनि म भन्छु ती मेरा नितान्त व्यक्तिगत विचार थिए ।
तपाईं भारतको खुफिया निकायको पूर्वकर्मचारी पनि हो, पूर्वसैनिक हो । यस्तोमा तपाईंको टिप्पणीलाई मानिसहरुले नेपालमा चर्चा गर्नु अन्यथा पनि थिएन होला नि ?
एउटा कुरा के बुझ्नुस् भने मलाई अहिले सरकार कसको छ भन्ने कुराले केही फरक पर्दैन । यो त नेपालको आन्तरिक विषय हो ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नलाई मसँग अधिकार हुँदैन । तर, मैले त नेपालका व्यक्ति स्वयंले भनेका कुरालाई हेरेर भनेको हो नि । मैले त बीआरआई सम्झौतासहित साथीभाइलाई भनेको कुरालाई लिएर त्यस्तो भनेको थिएँ ।
तपाईंको टिप्पणीपछि भारतका कोही सरकारी अधिकारीले किन यस्तो अभिव्यक्ति दिएको भनेर प्रश्न गरेका छैनन् ?
भारतले मसँग केही पनि सोधेन । मैले त्यो टिप्पणी पनि व्यक्तिगत रुपमा दिएको थिएँ । तर, भारतले पनि आफ्नो एउटा सैनिकको टिप्पणीमाथि केही बोलेन, यसको केही अर्थ हुन्छ । भारत जस्तोसुकै अवस्थामा आफ्नो देशको सैनिकको पक्षमा उभिन्छ भन्ने हो ।
अहिलेसम्म तपाईंले कुनै यस्तो देश देख्नु भएको छ, जो आफ्नो एउटा एजेन्टको साथमा यसरी खडा रहन्छ ? त्यो तपाईंले भारतमा मात्र देख्नु हुन्छ ।
मेरो टिप्पणीले नेपालमा हंगामा नै भएछ, तर भारत आफ्नो नागरिकको साथमा, आफ्नो सैनिकको साथमा रह्यो ।
अहिले जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँको भारत भ्रमण भएको छैन । तर, नेपालमा मेरा जति पनि साथीहरु छन्, अथवा मैले चिनेका जति पनि छन्, उनीहरुले नेपालका जनता पूर्णतः चीनको पक्षमा छैनन् भनेका छन् । भलै यो उनीहरुको विश्लेषण हो । उनीहरु के भन्छन् भने नेपालीहरु चीनभन्दा बढी भारतसँग नै राम्रो सम्बन्ध चाहन्छन् ।
तपाईंहरुको देशको विदेशमन्त्री पनि हालै भारत आउनुभएको थियो । तर, भारतबाट मेरो भनाइमाथि कुनै प्रकारको टिप्पणी आएन । एउटा पूर्वसैनिकका लागि यो सबैभन्दा ठूलो कुरा हो ।
किनकि, अब त म पूर्वएजेन्ट भइसकेको छु नि त । म आफ्नो विचार राख्न स्वतन्त्र पनि हुन्छु । एउटा ख्याल गर्नुपर्ने कुरा चाहिँ के हो भने देशका कोही पनि व्यक्तिले यस्ता विषयमा टिप्पणी गर्दा देशले यो व्यक्तिगत धारणा हो भनिदिन्छ । यसमा सरकारले कुनै पनि प्रकारको टिप्पणी गरेको छैन ।
नेपालका कोही व्यक्तिले केही प्रतिक्रिया दिए भने सरकारका प्रवक्ता आएर बोल्छन् कि यो उनको व्यक्तिगत विचार हो भनेर । तर, भारतले कुनै पनि टिप्पणी समेत गरेको छैन । यस्तोमा मलाई त मेरो मनमा मेरो देशका नेतृत्वकर्ताहरुप्रति अझ बढी सम्मान आएको छ ।
मलाई एकदम खुशी लाग्यो कि भारतमा नरेन्द्र मोदी जस्ता शक्तिशाली प्रधानमन्त्री छन्, जो आफ्ना देशका नागरिकका साथ सधैँ उभिन्छन् ।
तपाईंले पहिले एउटा पडकास्टमा नेपालको जमिम शाह हत्याकाण्डसँग मिल्दोजुल्दो पृष्ठभूमि बताएर खुफिया अपरेशनको कुरा गर्नुभयो । तपाईंले नेपालमा पनि त्यस्ता अपरेशन गर्नुभएको थियो ?
त्यो दिन नेपालको सबै मिडियामा मेरो नै चर्चा भयो । तर, मैले नेपालको नाम काहीँ पनि लिएको थिइनँ ।
सर तपाईं आफैं भन्नुस् – त्यो अन्तरर्वार्तामा मैले काहीँ नेपालको नाम लिएको थिएँ र ? मैले काहीँ जमिम शाहको हत्यामा मेरो हात थियो भनेको छु र ? मैले एक छिमेकी मुलुक भनेको थिएँ, छिमेकी मुलुक त श्रीलंका, बलंगलादेश पनि हो नि । पाकिस्तान पनि हो ।
तर, काठमाडौंका मिडियाले मलाई नेपालको घटनासँग जोडे र एउटा खलपात्रका रुपमा प्रस्तुत गर्न खोजे । अझ मलाई के लाग्छ भने यस्तो कुरामा मेरो नाम मुछ्नलाई आईएसआई (पाकिस्तानको खुफिया गुप्तचरी निकाय) ले पनि भूमिका खेलेको छ भन्ने लाग्छ ।
कसैैलाई म त्यसमा संलग्न छु भन्ने लाग्छ भने मलाई प्रमाण ल्याएर दिए भयो नि । किन मानिसहरुलाई भ्रमित गरिरहेका छन् ? कुनै पनि कुरामा प्रमाणका आधारमा बोल्नुपर्छ ।
भारतले नेपालमा आएर यस्ता किमिसका अपरेशन थुप्रै पटक चलाएको इतिहास छ, यस्तोमा शंका त स्वभाविक रुपमा हुने भयो नि, होइन र ?
तपाईंलाई आफ्नो न्यायिक प्रणालीप्रति भरोसा होला, नेपालको अनुसन्धान गर्ने निकायमाथि भरोसा होला । के तपाईंको कुनै पनि अनुसन्धान गर्ने टोलीले कुनै केशमा मेरो हात छ भनेका छन् ?
तर पनि नेपालका मिडियाले त्यो हत्यामा मेरो नाम जोडेका छन्, यो ठिक भयो र ? म त तपाईंलाई के भन्छु भने जमिम शाह हत्या प्रकरणमा मेरो कुनै हात छैन । अझ म त उनको हत्यामा भारत सरकारको पनि हात छैन भन्छु ।
बरु त्यो हत्या प्रकरणमा जगदीश नाम गरेका नेपालका एक जना प्रहरी स्वयम् जेलमा छन् । त्यसैले म के भन्छु भने नेपालका मिडियाले टिआरपीका लागि मेरो भनाइसँग जमिम शाह प्रकरणसँग जोडे ।
काठमाडौंमा २०७९ सालमा लाल मोहम्मद नामका व्यक्ति रहस्यमय तरिकाले मारिएका थिए, तपाईंलाई पनि थाहै होला । यसमा अनुसन्धान गर्नेहरुले भारततर्फ संकेत गरेका थिए नि !
लाल मोहम्मदको हकमा कुरा गर्नुहुन्छ भने उनी आईएसआई (पाकिस्तानको गुप्तचरी निकाय इन्टर सर्भिस इन्टलिजेन्स) का लागि काम गरिरहेका भन्ने मेरो बुझाइ हो । उनी भारतमा नक्कली नोट पठाउने काम गर्थे ।
नेपालले उनलाई किन शरण दियो, मलाई त अचम्म लाग्छ । कोही पनि मान्छे आईएसआईका लागि काम गरुन्, सीआईए (अमेरिकी गुप्तचरी निकाय सेन्ट्रल इन्टलिजेन्स एजेन्सी) का लागि काम गरुन्, हाम्रा लागि मतलबका विषय भएनन् ।
तर, त्यो व्यक्तिका कारणले हाम्रो देशलाई असर परिरहेको छ भने त हामीलाई फरक पर्छ नि । कोही पनि व्यक्तिको गैरकानूनी गतिविधिले हाम्रो देशलाई असर पुग्छ, आर्थिक स्थितिमा असर पुग्छ भने त हामीले कुरा उठाउनुपर्यो नि ।
लाल मोहम्मद जस्तो घटना त नेपालमा पटकपटक भएको छ । जेलभित्रै पनि यस्तो घटना भएको इतिहास छ । भारतले किन नेपालका सुरक्षा निकायप्रति विश्वास गर्दैन ? किन नेपालको कानुन अनुसार कारबाहीप्रति विश्वास गर्दैन ?
भारतले नेपालका सुरक्षा निकायप्रति विश्वास गर्छ । पछिल्लो १५ दिनका कुरा गर्ने हो भने चार जना व्यक्ति जो एक अपराधमा जोडिएर नेपाल गएका छन् । उनीहरु हाम्रो मुलुकमा अपराध गरेर त्यहाँ गएका थिए । तर, नेपालले उनीहरुलाई हस्तान्तरण गरेन । यो विषयमा तपाईंले आन्तरिक प्रहरीलाई सोध्नुभयो भने थाहा होला ।
तर, एउटा कुरा के भन्छु भने म आजसम्म नेपालीका लागि भारतमा भिसा प्रणाली छैन । यसको अर्थ के हो भने भारतले नेपाललाई धेरै विश्वास गरेको छ । आज पनि तपाईंहरु टनकपुर, उत्तराखण्डको बोर्डर हेर्नुस्, बिहारको सीमा हेर्नुस् । मानिसहरु सहजै आवतजावत गरिरहेका छन् । यसले भारतले नेपालको सुरक्षा निकायलाई विश्वास नगरेको भन्ने त देखाउँदैन नि ।
नेपालका सुरक्षा अधिकारी पनि के भन्छन् भने लाल मोहम्मद जस्ता व्यक्ति नेपालमा रहेर भारतविरुद्ध गतिविधि गरिरहेका छन् भने नेपालका सुरक्षा निकायलाई भनेर नेपाल प्रहरीकै सहयोगमा उनीहरुलाई कानुनी दायरामा ल्याउन सक्थ्यो…
होइन, होइन.. नेपालले आफ्ना एक जना डीएसपीलाई किन जेलमा हालेको छ, तपाईंलाई थाहा छ नि ! जमिम शाह प्रकरणमा प्रहरीकै एक जना जगदिश नाम गरेका डीएसपी जेलमा किन छन् ? यसको अर्थ उनी त्यसमा संलग्न थिए । नेपालमा अहिले पनि कोही त्यसरी काम गरिरहेका हुनसक्छन् नि, यस्तोमा कसरी त्यस्ता गम्भीर सूचना दिन सकिन्छ ?
त्यही कारण भारतले नेपाल प्रहरीलाई यस्ता सूचना नदिइ आफैं अपरेशन चलाएको हो ?
तपाईं जमिम शाह प्रकरण हेर्नुस् न । जगदिश त नेपाल सरकारकै व्यक्ति थिए नि । उनी आफैं यसमा संलग्न देखिए भने भारतले कसरी यस्ता संवेदनशील सूचना नेपालसँग दिनसक्छ ?
तर, म के भन्छु भने भारत नेपालको सधैँ असल छिमेकीका रुपमा रही आएको छ । आज पनि नेपालका हजारौं भारतमा काम गरिरहेका छन्, उनीहरु हाम्रो दाजुभाइ जस्ता हुन् । त्यसैले विश्वास गरेन भन्ने कुरा हुँदैन ।