विश्वले हेरिरहेको आठ घन्टा लामो सिनेमा – Online Khabar
नेटफ्लिक्सले १० दिनअघि सार्वजनिक गरेको बहुप्रतीक्षित टिभी सिरिज ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ का आठ भाग हेरिसक्न मलाई एक साता लाग्यो ।
नेटफ्लिक्सले आफ्ना उत्पादनमध्येकै महत्त्वाकांक्षी परियोजना भनेर १६ भागमा बनाउन थालेको ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ कहिले आउला भनी पर्खिनेहरू असंख्य थिए । म पनि तिनै अधीर दर्शकमध्ये एक थिएँ । पर्याप्त फुर्सद हुन्थ्यो भने म यो एकै सासमा हेरिभ्याउने थिएँ, जस्तो कि कुनै बेला पाब्लो एस्कोबारमाथि बनेको ‘नार्कोस’ हेरिएको थियो ।
जब फिल्म पाएँ, हतारमा नसकियोस् भनेर मैले हरेक राति एक–एक घन्टाको दरले यसलाई हेर्न थालें । यो असामान्य पर्खाइका पछिल्तिर जब्बर कारण थियो ।
बीसौं शताब्दीकै सर्वाधिक महान उपन्यास भनी सर्वत्र प्रशंसा गरिएको ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ पुस्तकबारे स्वयं लेखक ग्याब्रियल गार्सिया मार्खेजले गरेको टिप्पणी यहाँनेर प्रासंगिक छ । १० वर्षअघि अर्थात् सन् २०१४ मा बित्नुअघि मार्खेजसँग धेरै फिल्म निर्माताले ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ माथि काम गर्ने इच्छा व्यक्त गरेका थिए । ती सबै प्रस्तावलाई मार्खेजले सधैं पन्छाइरहे । उनी भित्रैदेखि ठान्थे– यो यस्तो उपन्यास हो, जसमाथि सिनेमा बन्न सम्भव नै छैन ।
मार्खेजले ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ लेख्दा यसलाई यौन धेरै, संवाद थोरै भएको एकोहोरो उपन्यास भनी उडाइएको थियो । प्रगतिशील लेखकले यसलाई पत्याएनन्, उदारवादी खेमाले टेरेन ।
सुरुमा १० हजारप्रति छापिएको ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ लाई समालोचकले भाउ नदिए पनि प्रकाशकले केही वर्षभित्रै हजारौंं प्रति बेचे ।
सोलिट्युडको लहर यत्तिमा रोकिएन । पुस्तक ४० भाषामा अनुवाद हुन पुग्यो । कालान्तरमा ५ करोडभन्दा बढी प्रति बिक्यो । प्रकाशकले पुस्तकको आवरणमा बेस्टसेलर होइन, ‘द मल्टिमिलियन कपी बेस्टसेलर’ भनी बेच्न थाले । मार्खेज–महात्म्यको महामारी नै चल्लाजस्तो भयो । आलोचकको मुख आफैं थुनियो ।
र, त्यसको उत्कर्ष– सन् १९६७ मा लेखिएको ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ लगायत योगदानका लागि मार्खेजले सन् १९८२ मा नोबेल साहित्य पुरस्कार पाए । नेपालमा मार्खेजका धेरै पाठकहरू छन्, जसले स्पेनिसबाट अंग्रेजीमा अनुवाद गरिएका उनका दर्जनौं किताब पढेका छन् । ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ अर्थात् ‘एकान्तका सय वर्ष’ तीमध्ये सर्वाधिक शीर्ष स्थानमा छ ।
जादुयी यथार्थवादी शैलीलाई नयाँ उचाईमा लैजाने मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ पुस्तक मैले ०६७ को जेठमा जमलको एजुकेशनल बुक हाउसमा किनेको थिएँ । तिनताक अग्रज लेखक नारायण ढकाल भेटैपिच्छे मार्खेज, मार्खेज, ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’, …सोलिट्युड’ भनिरहन्थे । कवि विमल निभाले त नारायण ढकालको नाम नै मार्खेज ढकाल राखिदिएका थिए । कवि श्यामलले नोवन राइट्स टु द कोलेनेललाई अभागी कर्नेल नाममा नेपाली अनुवाद गरे ।
तिनै ढकालको रचनात्मक लहैलहैमा लागेर मैले ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ उपन्यासका ४५८ पृष्ठ छिचोल्न खोजेँ । तर त्यो जुन वाक्यबुनोट र संरचनामा लेखिएको थियो, त्यो मलाई निप्टारा लगाउन कठिन पर्यो । म लभ इन् द टाइम अफ् कलेरा, मेमोरिज् अफ् माई मेलान्कली होर्स, लिभिङ टु टेल द टेल आदि किताबकै भरमा मार्खेज मन पराउन थालेँ ।
निकै पछि मैले ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ को पुनर्पठन गरेँ । माकोन्दो नामक काल्पनिक शहर बसाउन हिँडेका होजे अर्कादियो, उसकी पत्नी उर्सुलाको कथा, अनि सँगसँगै उनीहरूलाई पहाड पारि समुद्र खोज्दै पछ्याउँदै हिँडेका बुन्डेया परिवारको अत्यधिक जकडिएको कथा यसमा लेखिएको छ । दक्षिण अमेरिकी कथानक पढ्ने दक्षिण एसियाली पाठक धेरै ठाउँ मज्जैले अलमलिन्छ । किनभने एउटै नाम जस्ता लाग्ने अनेक पात्र छन् । किताब पढिसक्दासम्म पनि पाठक झुक्किने क्रम रोकिँदैन ।
पुस्तकलाई सहज र सुपाठ्य बनाउन लेखकहरुले वाक्य गठनमा सहजता, चलायमान संवादहरू राख्ने गर्छन् ।
मार्खेजलाई त्यसको पनि मतलब देखिँदैन । भर्खरै रिपोर्टरका रुपमा काम थालेको अखबारको अफिसतिर जाँदाजाँदै अचानक उनलाई यो उपन्यास लेख्ने भुत सवार भएको थियो ।
त्यसपछि मार्खेज पत्रिकाको अफिस नगई बाटैबाट घर फर्के । दैनन्दिन सबै काम छाडेर किताब लेख्न गुप्तवास पसे । उनी सस्तो होटलमा बसेर किताब लेखेको बताइन्छ । लाग्छ, उनले पाठकलाई त के, आफैंलाई पनि बेवास्ता गरेर यो पुस्तक लेखे ।
‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ लाई मुल भाषा स्पेनीबाट अंग्रेजी बनाउँदा पनि उनी धेरै सन्तुष्ट थिएनन् भनेर पढ्न पाइन्छ । स्पेनी भाषामा आफूले लेख्दा जुन काव्य, कथानक र प्रस्तुतिको जादुयी माहोल बनाएका थिए, अनुवादमा त्यो उसैगरी जीवन्त आउन सकेन भनेर उनले ठानेको अन्तर्वार्ताहरूमा पढ्न पाइन्छ ।
अझ ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ लाई सिनेमा बनाउने प्रस्ताव न मार्खेज ठाडै नकार्थे । पुस्तकलाई दृश्यभाषामा ल्याउने प्रस्तावबारे मार्खेज शर्त राख्थे– सिनेमा बनाउने हो भने सय घन्टाको बनाउनुपर्छ । अनि कोलम्बियामा मात्रै खिच्नुपर्छ । भाषा पनि स्पेनीमा मात्रै ।
नेटफ्लिक्सले सय वर्षको एकान्तवासलाई सय घन्टामै त बनाएन, तर बेल्ला टार नामक निर्देशकले स्याटानट्यांगो नामक उपन्यासलाई साढे सात घन्टामा बनाएको प्रसंग मैले सम्झिन पुगेँ । हंगेरियन निर्देशक लाज्लो क्रास्नोहोर्खेईले लेखेको स्याटानट्यांगो पढ्न जति दुरुह मानिन्छ, ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ त्यो भन्दा कम्ति दुरुह छैन ।
अहिले मार्खेजकृत उपन्यासलाई १६ भागमा खिच्ने भनिएकामा तत्काल आठ भाग उपलब्ध छन् । ‘बुक प्युरिस्ट’ हरुलाई चित्त बुझ्ला वा नबुझ्ला पनि, तर फिल्ममा रुपान्तरण गरिएको अद्भुत उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ ले मभित्रको पाठक र दर्शक दुवैलाई चित्त बुझाउन सक्यो ।
एलेक्स गार्सिया लोपेजले निर्देशन गरेको ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ को कथानक सन् १८५० यताको सय वर्षसम्म तन्किएको छ । चार–पाँच पुस्ताभन्दा लामो बुन्डेया परिवारको कथा बुन्दा उनले परिवारभित्रको असीमित खुसी, अदम्य साहस, दुःख, षड्यन्त्र, धोका, घृणा, माया सबै एक ठाउँ ल्याइदिएका छन् । हाडनाता सम्बन्धहरुले कथानकलाई असमाधेय झमेलामा फसाइदिएका छन् ।
कोलम्बियाको परिवारमात्रै होइन, संसारका सबैजसो परिवारहरू यस्तै अनेकौं व्यक्त अव्यक्त धागोहरुमा जेलिएर पनि चलिरहेकै हुन्छन् भन्नलाई ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ जस्तो उत्कृष्ट किताब कमै होला । नेटफिल्क्स सिरिजका आठ भागले त्यसलाई दृश्यमा, भाषामा, मौनमा, रंगमा, जीवजन्तुमा, भूतप्रेतमा अनेक थोकमा व्यक्त गरेका छन् ।
जिप्सीहरुलाई भेट्नुअघि सम्म माकोन्दोको नयाँ सभ्यता तनावरहित सहजतामा हाँसिखुसी चलिरहेको हुन्छ । जिप्सीले तन्त्रमन्त्र अनि विज्ञान सिकाउँदासम्म पनि मानव क्षमताप्रति बुन्डेयाहरुको जिज्ञासा नै फैलिरहेको हुन्छ । त्यसै बेला अनपेक्षित कुराहरु हुन् थाल्छन् । आदिवासी टाइपको जीवनमा नचिताएका झमेलाहरु निम्तिन थाल्छन् ।
सामान्य जीवन बाँचिरहेका बुन्डेयाहरुको जीवनमा कसरी पालैपालो धर्म, कानुन, राज्य, राजनीतिक वाद–विचारले थिच्दै लैजान्छन् । अनि सर्वसाधारणहरुले नचाहँदा नचाहँदै युद्धको भुमरीमा धकेलिनुपर्ने हुन्छ भन्ने यसमा देखाइन्छ । राज्य बलियो बनाउन हिँडेका दक्षिणपन्थी, नैतिकता स्थापना गर्न हिँडेका क्रिश्चियन, हक अधिकार र स्वतन्त्रताको नक्कली अभिनय गरिरहेका लिबरलहरुभित्र सडिएको अहंकार, कृत्रिमताको जीवन्त पेश फिल्ममा गरिएको छ । इमानदारीको वकालत गर्ने भ्रान्तहरुभन्दा याैनकर्मीहरु बढ्ता इमानदार छन् सोलिट्युडमा ।
ठूलो समाज बसाउन हिँडेको होजे अर्कादियो बुयेन्डा आफैं एक्लिँदै जान्छ । वैज्ञानिक आविष्कारदेखि पूर्वीय संस्कृत भाषासम्म सिक्ने उनको तिख्खर जिज्ञासा पारिवारिक र सामाजिक जालझेलमा जेलिँदा जेलिँदै थाक्छ । ऊ अन्ततः आफ्नैबाट एक्लिँदै जान्छ । धनसम्पत्ति र वर्गको भारले थिचिन्छ । छोरीहरुको आपसी इर्ष्यामा फस्छ । छोराहरुको स्वान्तःसुखाय, अनि मोजमस्तीमा उसको सपना अरु किचिन्छ । के सोचेको जीवनमा, के पो हुन्छ ।
प्रेतपिशाचहरुले सताउन छाड्दैनन् । आफूले उमेर छँदै झगडामा मारेको मान्छेले अन्तिमसम्मै छाड्दैन । हेर्दा अन्धविश्वासलाई काँध हालेजस्तो लाग्छ, तर मान्छेको नियति तिनै विश्वास र अन्धताको डोरीमा हल्लिइरहन्छ । जस्तो कि होजे अर्कादियो बुयेन्डालाई हल्लाइरहन्छ, तर्साइरहन्छ । ऊ आफ्नैबाट भाग्दा पनि पहेंला पुतलीले पछ्याउन छाड्दैनन् । ऊ सबैको बीचमा, तर एक्लै अलगथलग परिरहन्छ । त्यसपछि त उसले नसोचेका घटनाहरू थप हुँदै जान्छन् । आफ्नै घरको रुखमा ऊ बाँधिएको दृश्यबारे थप नबताउँ । केवल यत्ति भनुँ, त्यो नेटफ्लक्सिको मूल प्रचार सामग्री अर्थात् पोस्टरमा उल्लेख छ ।
होजे अर्कादियोको भूमिकामा डिएगो भास्केज, उर्सुलाको भूमिकामा मारिलिदा सोतो छन् । क्लाउडियो काटानोले खेलेको कर्नेल ओरेलियानो बुन्डेयाको भूमिका बिर्सन नसकिने खालको छ । अरु धेरै पात्रहरुको चर्चा यहाँ सम्भव र सान्दर्भिक दुवै छैन । प्रत्येक लामा छोटा भूमिकाले हामीलाई दिने छाप विशेष खालको छ ।
टन्नै यौन दृश्य छन् । बच्चाहरू र कम उमेरकालाई ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ हेर्न सिफारिश छैन । स्पेनी भाषा नबुझिए पनि शब्दहरुको ध्वनि महसुस गर्न कोसिस गरे हुन्छ । नत्र अंग्रेजी बोली अनि सबटाइटल दुवैको विकल्प छँदै छ ।
तिख्खर कोलम्बियाली स्वाद, बास्ना, दृश्य र ध्वनि भएको फिल्म हेर्ने रहर ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ ले पूरा गर्छ । बाँचिरहेका भए सायद मार्खेज आफैं चकित पर्ने थिए । एलेक्स गार्सिया लोपेजले निर्देशन गरेको ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ अवश्य हेर्नुुस् । अनि सर्वकालीन महान लेखक मार्खेजको उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ् सोलिट्युड’ पनि त पढ्नैपर्यो, कसो ?