#समाचार

टीभी चलाउन ऋणको खोजीमा थिए रवि, अहिले थाहा छैन भन्नु बदनियत

ग्यालेक्सी टिभीको उद्घाटन कार्यक्रममा जिबी राई, छविलाल जोशी, रवि लामिछाने लगायत । तस्वीरः ग्यालेक्सी टिभीको फेसबुक ।


७ पुुस, काठमाडौं । गोर्खा मिडिया नेटवर्क प्रा.लि. मार्फत् सहकारी बचत रकम अपचलन गरिएकोबारे ‘आफूलाई केही थाहा नभएको जवाफ’ रवि लामिछानेले बारम्बार दिइरहनुलाई प्रहरीले बदनियत भएको निष्कर्ष निकालेको छ ।

सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको अभियोजनपत्रमा रवि लामिछाने सहकारी बचत रकम ठगीमा संलग्न रहेको दाबी गरिएको छ । ठगीमा संलग्न प्रमाणहरू पेस गर्दै प्रहरी अनुसन्धानले रवि लामिछानेको एकोहोरो ‘प्रष्टोक्ति’लाई बदनियत भनेको हो ।

‘आफू समेत खाता सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कको खातामा के–कसरी कहाँबाट रकम आएको हो भन्ने विषयमा जानकारी छैन भन्ने विषयले प्रतिवादीको बदनियत देखिन्छ’, अनुसन्धान प्रतिवेदनमा लेखिएको छ ।

यद्यपि अभियोजनपत्रमा सहकारी बचत रकम गोर्खा मिडियामा ल्याइएकोबारे ‘आफूलाई केही जानकारी नभएको’ रविको बयान पनि समेटिएको छ । तर यही मुद्दाका अर्का आरोपित छविलाल जोशीको बयानले रविको जवाफलाई कमजोर बनाएको छ ।

छविलालले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत् ग्यालेक्सी फोरके टिभी सुरु गर्ने क्रममा आर्थिक स्रोत खोजी गरिएको प्रसंग बयानमा क्रममा उल्लेख गरेका छन् ।

छविलालका अनुसार, टीभी चलाउन नेपाल बैंक लिमिटेडसँग २५ करोड ऋण मागिएको थियो । माग गरिएको २५ करोड लिन छवि र रवि लामिछाने भूगोलपार्कस्थित नेपाल बैंकको कार्यालय पुगे । तर शेयर पुँजी ५ करोडको कागजातमा यति धेरै ऋण दिन नसकिने बैंकले अडान लियो ।

बैैंकका कर्मचारीले कम्तिमा१२ करोड पुँजी हुनुपर्ने सर्त राखे । गोर्खा मिडिया नेटवर्क प्रालिका कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईले १२ करोड शेयर पुर्‍याउन छविलालको पत्नीको नाममा रहेको घर धितो राख्ने प्रस्ताव गरे । यो प्रस्तावमा असहमति हुँदा जीबी राईसँग आफ्नो खटपट हुन पुगेको छविलालले बयानमा भनेका छन् ।

यद्यपि २५ करोड ऋण लिने प्रक्रिया अगाडि बढ्छ । त्यो ऋण रकम लिन सञ्चालक सदस्यद्वय छवि र रवि बैंक पुगे पनि कार्यकारी अध्यक्ष जीबी राई जान मान्दैनन् । हस्ताक्षर गर्न आफू बैंक नै आउनुपर्ने भए ऋण नै नलिने अडान लिन्छन् ।

‘… बैंकका प्रबन्धक समेतले कम्पनीको कार्यकारी अध्यक्ष आउनुपर्छ भनेपछि रवि लामिछानेले सो कुरा फोन मार्फत् जीबी राईलाई जानकारी गराई बोलाउँदा निज गितेन्द्र बाबु राईले त्यति रकमको लागि म बैंकमा आउनुपर्ने भई दस्तखत गर्नु पर्ने भए ऋण ल्याउनु पर्दैन भनेको, …’ छविलालको बयान अभियोजनपत्रमा उल्लेख छ ।

त्यो ऋण रकम नलिएपछि कसरी टीभी चल्यो भन्नेबारे आफू थाहा नभएको छविलालको बयान छ ।

‘… पैसाको व्यवस्था म गर्छु तपाईंहरू फर्किनुहोस् भनेपछि हामीहरू ऋण प्रक्रिया रोकी फर्किएका हौं । त्यसपछि निज गितेन्द्र बाबु राईले के कहाँबाट, कुन कुन तवरले रकम कम्पनीमा ल्याई सञ्चालन गरेका थिए मलाई थाहा भएन,’ छविलालले भनेका छन्, ‘टीभी सञ्चालनमा आएपछि आवश्यक रकम जुटाउने कार्य गितेन्द्र बाबु राईले गरेका र टीभी सञ्चालनको लागि भवन निर्माण, डेकोरेसन, स्याटलाइट जडित अत्यधिक क्यामेरा लगायतको विभिन्न सामग्री खरीद, कर्मचारी र पत्रकारहरूको छनोट, नियुक्ति तलबको मापन लगायत सम्पूर्ण कार्य गितेन्द्र बाबु राई र रवि लामिछानेबाट भएको ।’

रवि लामिछानेले पनि टीभी सञ्चालन गर्दा ५ करोडको पूँजी रहेको र २५ करोड ऋण लिन गएको तथ्य स्वीकारेका छन् । ‘टेलिभिजन स्थापना हुँदा ५ करोडको पुँजी रहेकोमा टेलिभिजनको लागि आवश्यक पर्ने ऋण बैंकबाट लिने भन्ने विषयमा कुरा हुँदा गितेन्द्र बाबु राई र छविलाल जोशीले पुँजी वृद्धि गरी १२ करोड गराउनुभएको भन्ने मेरो बुझाइमा छ’, रविले बयानमा भनेका छन् ।

१२ करोडको पुँजी बनाउने क्रममा आफ्नो खातामा जीबी राईले १ करोड ८० लाख थप गरिदिएर फेरि कम्पनीमा लगिएको पनि रविको बयानमा छ । ‘५ करोड पुँजी हुँदाकै अवस्थामा मलाई गितेन्द्र बाबु राईले ७५ लाख निजको व्यक्तिगत खाताबाट गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकमा जम्मा गरी १५ प्रतिशतको शेयर सदस्य भएको हुँ’ रविले बयानमा भनेका छन्, ‘… पछि पुँजी वृद्धि गरी १२ करोड बनाइएप्छि मेरो भागमा परेको शेयर बापतको रकम १ करोड ८० लाख निज गितेन्द्रले के कसरी व्यवस्थापन गरी मिलाएका थिए ।’

अर्थात् रविले टीभी सुरु गर्न ऋणको खोजीमा जीबी र छविलालसँगै भौंतारिएको तथ्य स्वीकारेका छन् । ‘कम्पनीको लागि ऋण लिने प्रक्रियाको लागि एकपटक नेपाल बैंकमा पुगेको सम्म हो । कम्पनीको कार्यकारी अध्यक्षले आफ्नो उपस्थिति नजनाएपछि सो कार्यलाई स्थगित गरिएको अवस्था थियो’ रविले बयानमा भनेका छन् । तर त्यसपछि गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको ६७ करोड ५६ लाख ४६ हजार ५६० बारे केही थाहा नभएको जवाफ दिँदै आएका छन् ।

रवि लामिछानेको यस्तो जवाफलाई प्रहरीले बदनियत भएको निष्कर्ष निकालेको हो । ‘निज सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको सहकारी संस्थाहरूसँगको कारोबारको विषयमा आफू अनविज्ञ रहेको भन्ने विषय खण्डित हुने देखिन्छ, यी प्रतिवादी गोर्खा मिडिया नेटवर्क प्रालिमा यस सहकारी संस्था लि. बाट अपचलन भइगएको रकममा आपराधिक दायित्व व्यहोर्नुपर्ने नै देखिनुका साथै … ’ अभियोजनपत्रमा भनिएको छ, ‘… निज उपर व्यक्तिगत दायित्व १ करोड ७५ लाख र गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको ५ करोड ६१ लाख मध्ये १ करोड ६२ लाख ६५ हजार समेत गरी जम्मा ३ करोड ३७ लाख ६५ हजार बिगो कायम गरी अभियोग मागदाबी लिनुपर्ने देखिन्छ ।’

रवि लामिछाने सहित जीबी राई, छविलाल जोशीहरूले सहकारी बचत रकम अपचलन गर्न संगठित अपराध गरेको अभियोजनपत्र तयार पारिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *