प्रधानमन्त्री हुँदा भन्दा अहिले गोरखाको विकासमा समय दिन पाएको छु : प्रचण्ड – Online Khabar
६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको बताएका छन् ।
गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले आफूलाई थप सुविधा भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखाको विकासका लागि प्रयास गरिरहेको जिकिर गरे ।
‘अहिले म विपक्षी दलको नेताको हैसियतमा छु । र म अलिक स्वतन्त्र छु । गोरखा आउन जान पनि, तपाईंहरूसँग भेटघाट, अन्तक्रिया गर्न पनि,’ अध्यक्ष प्रचण्डले भने, ‘गोरखाका विकास निर्माणका कामहरूमा ध्यान दिन पनि प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले सुविधा छ । विपक्षीको हैसियतले ती कुराहरू अघि बढाउने प्रयास पनि गरिरहेको छु ।’
उनले बारपाक, सुलिकोट लगायतका क्षेत्रमा पुलदेखि सडक निर्माणसम्मको कामका लागि पहल गरिएको जानकारी गराए ।
२०७४ को चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ बाट निर्वाचित भएका थिए ।