कालापत्थरको ढुंगामा लेखियो जनकपुरको नाम – Online Khabar
६ पुस, काठमाडौं । नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो स्पोर्ट इभेन्ट मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेसँगै शनिबार सकिएको छ ।
आयोजना, पुरस्कार राशी, सहभागी टिमको संख्या, लगानी अनि विदेशी खेलाडीहरुको आगमन र प्रदर्शनले पनि यसलाई अहिलेसम्मकै ठूलो खेल महोत्सवको रुपमा लिइएको छ । जहाँ जनकपुर बोल्ट्सले बाँकी ७ टिमलाई पछि पार्दै च्याम्पियन बन्यो ।
फाइनलमा जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेट हरायो । यसको नायक बने लाहिरु मिलान्था । ओपनर मिलान्थाले ८५ रनको सानदार पारी खेलेपछि सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्दै पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखायो ।
त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरे ।
काठमाडौंको धरहरा परिसरमा मंसिर १० गते एनपीएल ट्रफी अनावरण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेको यो ट्रफीमा सर्वोच्च शीखर सगरमाथा आधार शिविर क्षेत्र कालापत्थरको ढुंगा प्रयोग गरिएको छ ।
आयोजक क्यान सचिव पारस खड्काले एनपीएलको मुख्य आकर्षण खेलसँगै ट्रफी पनि रहेको बताएका थिए । हुन पनि ट्रफीको प्रयोग भएको कालापत्थरको ढुंगाले त्यतिबेलै सबैको ध्यान खिचेको थियो । ट्रफीलाई केवल खेलको हारजितसँगमात्र जोड्ने नभइ हिमाल संरक्षणको सन्देश दिन पनि सर्वोच्च स्थानको ढुंगा जडान गरिएको उनको भनाइ थियो ।
ट्रफीमा प्रयोग भएको ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका हुन् । ट्रफी अनावरण कार्यक्रममा शेर्पाद्वयलाई सम्मान गरिएको थियो । मंसिर १६ गतेदेखि भएको नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता आज सकिएको छ ।
प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी थिए । र अन्तत: कालापत्थरको ढुंगाजडित पहिलो नेपाल प्रिमियर लिगको ट्रफी जनकपुर बोल्टस्को नाममा भएको छ । जनकपुरले ट्रफीसहित अहिलेसम्मको ठूलो पुरस्कार राशी १ करोड १० लाख प्राप्त गर्यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख र तेस्रो भएको कर्णालीले २५ लाख हात पार्यो । चौथो चितवन राइनोजको भागमा १५ लाख पर्यो ।
कालापत्थरको ढुंगा ल्याएर बनाइएको एनपीएलको पहिलो ट्रफी उचाल्ने सौभाग्य मधेश प्रदेशको प्रतिनिधितव गर्ने जनकपुरले पायो । जनकपुरले त्यस्तो टिमलाई फाइनलमा हरायो जो सँग यसअघि आफैँ दुई पटक पराजित भएको थियो ।
एनपीएलमा नेपालको सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी टिम बनाइएको थियो । जसमा बागमतीको दुई टिम बाहेक हरेक प्रदेशको एक-एक टिम थिए । कीर्तिपुरको टीयू मैदानमा मात्र प्रतियोगिता भएपनि नेपालका सबै क्षेत्रका समर्थकहरुले एनपीएललाई निकै चासो र रोमाञ्चकताका साथ हेरे ।
फाइनलअघि सम्म एक हार बाहेक सानदार प्रदर्शन गरेको सुदूरपश्चिमलाई जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरेको हो ।
नेपाली खेलकुदमा सय करोड (एक अर्ब) को ट्याग दिइएको एनपीएलमा ८ टिम सहभागी थिए । ३० भन्दा बढी विदेशी खेलाडीहरु अनि विश्व चर्चित स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण । चर्चित टिभी च्यानलमा प्रत्यक्ष प्रसारण हुँदा नेपाली खेलाडीको प्रदर्शन पनि विश्वभर हेर्न अवसर मिल्यो । यस्तै भारतीय स्टार शिखर धवनदेखि मार्टिन गप्टिल र जिमी नीशमजस्ता खेलाडीहरुले पनि नेपाल आएर एनपीएल खेले ।
उत्कृष्ट फाइनल
नेपाली घरेलु क्रिकेटमा अझ फ्रेन्चाइज टी२० क्रिकेटमा यो उत्कृष्ट फाइनलको रुपमा रह्यो । हाई स्कोरिङ म्याच, दुई ब्याटरको अर्धशक अनि दर्शकहरुको उल्लासपूर्ण सहभागिता । यो कुनै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा कम थिएन । दर्शकहरुको लागि पनि यो इन्टरटेन दिने खालको म्याच भयो ।
दुवै टिमका ओपनर चले । सुरुवात उत्कृष्ट भयो । दुवैले फिनिसिङमा केही संघर्ष गर्नुपर्यो । टस जितेर सुरुमा पावर प्लेमा दुवै टिमले विकेट गुमाएनन् । पावरप्लेमा जनकपुरले ७१ र सुदूरपश्चिमले ४८ बनाए । टी२० मा सुरुको पावर प्ले वा डेथ ओभरमा जसले राम्रो खेल्छ उही टिमले बाजी मार्ने आकलन गरिन्छ ।
पावर प्लेमा सुदूरपश्चिम भन्दा २३ रन बढी बनाएको जनकपुरले खेल आफ्नो पक्षमा ल्याउने संकेत गरिसकेको थियो । डेथ ओभरमा पनि सुदूरले अन्तिम ५ ओभरमा ४१ रन मात्र बनाउन सक्यो । जसमा ६ विकेट गुमाएको थियो ।
सुदूरले पनि डेथ ओभरमा उत्कृष्ट बलिङ गर्यो । १५ ओभरमा १५९/२ मा पुगेको जनकपुरले १६औं ओभरमा १५ रन जोड्यो । त्यसपछि सुदूरका बलरले सानदार बलिङ गर्दै खेललाई अन्तिमसम्म पुर्याएको थियो । तर आफ्नो हातबाट खेल फुत्किसकेपछि सुदूरले बलिङमा पुनरागमन गर्यो । जतिबेला जनकपुरलाई जितका लागि २४ बलमा १३ रन मात्र चाहिएको थियो ।
अनिल साह घाइते भएपछि प्लेअफमा फाइनसम्म कप्तानी गरेका जनकपुरका कप्तान आसिफ शेखले उपाधि जित्न पाउ खुशी व्यक्त गरे । ‘उपाधि जित्न पाउँदा एकदम खुसी छौं । आज राम्रो स्टार्ट चाहिएको थियो र त्यस्तै भयो,’ उनले भने ।
फाइनलमा हारपछि सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले बलिङमा राम्रो गर्न नसकेको र राम्रो खेल्न नसकेको बताए । ‘मिलान्थाले एकदमै राम्रो खेले अनि आसिफले पनि ओपनिङमा राम्रो गरे । आजको पिच राम्रो थियो । हामीसँग राम्रा बलरहरू थिए तर आज राम्रो खेल्न सकिएन’, उनले भने ।
फाइनलअघिसम्म राम्रो खेलेर पनि फाइनलमा भने सुदूरपश्चिमले तुफान देखाउन सकेन । प्रशिक्षक टमाटाले ब्याटिङमा १०-१५ रन कम भएको बताए । उनले दुवै टिमले राम्रो खेलेको र जनकपुरले अझ राम्रो खेलेको बताए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्याटिङमा सानदार सुरुवात गरेको थियो । सैफ अली जैब र विनोद भण्डारीको शतकीय साझेदारीले सुदूरपश्चिमले एनपीएलमा २०० रनको आँकडा पार गर्छ कि भन्ने आश देखाएको थियो । तर बलिङमा जनकपुरले पुनरागमन गर्यो ।
सैफ जैबले सर्वाधिक ६९ रन बनाउँदा ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । विनोदले ३१ बल खेल्दै १ चौका र ३ छक्का मद्द्तमा ४१ रन जोडे । यो जोडीले पहिलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेको थियो ।
किशोर महतोले यो साझेदारी ब्रेक गरेपछि जनकपुरले बलिङमा पुनरागमन गर्यो । त्यसपछि ६७ रन जोड्दा सुदूरपश्चिमले ९ विकेट गुमाएको थियो । जनकपुरका मोहम्मद मोहनसिन र किशोर महतोले ३-३ विकेट लिए ।
१८५ रनको लक्ष्य पछ्याउँदै जनकपुरले आक्रमक सुरुवात गर्दै पावर प्लेमै धेरै रन जोडेर जितको आधार तय गरेको थियो । यसअघिका खेलमा उत्कृष्ट देखिएको सुदूरको बलिङ फाइनलमा चल्न सकेन ।
चार ओभरमै ४८ रन जोडेको जनकपुरले पावर प्लेमा ७१ रन बनाएको थियो भने १० ओभर सकिँदा १०५/२ को स्थितिमा थियो ।
जनकपुरका ओपनिङ जोडी मिलान्था र कप्तान आसिफ शेखले पहिलो विकेटका लागि सात ओभरमा ७३ रनको साझेदारी गरे । १६औं ओभरमा स्कट कुगेलेइनबाट कट एण्ड बोल्ड हुनुअघि मिलान्थाले सर्वधिक ८७ रन बनाइसकेका थिए । उनले ४९ बल खेल्दा ९ चौका र ४ छक्का प्रहार गरे ।
जनकपुरको जितमा नायक रहेका श्रीलंकन मूलका अमेरिकी खेलाडी मिलान्थाले भने, ‘म धेरै नै खुसी छु, शब्दमा व्यक्त गर्न सकिरहेको छैन । दर्शकहरूबाट पनि भरपुर साथ पाइएको छ । जित हार जे हुँदा पनि समर्थन गरिरहनुभएको छ ।’
दुई वर्षअघि भएको नेपाल टी२० लिगमा पनि लुम्बिनी अल स्टार्स च्याम्पियन बन्दा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । त्यसबेला उनले ३४९ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा तेस्रोमा थिए ।
आसिफले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा ३३ रन योगदान गरे । हर्श थाकरले अविजित रहँदै २४ बलमा ३० रन जोडे । उनले २ छक्का पनि प्रहार गरे । वान डाउमा आएका मोहसिन ९ रनमा आउट भए । मयन यादवले विजयी रन प्रहार गर्दै २ रनमा अविजित रहे ।
८ बलर प्रयोग गरेको सुदूरका लागि कुनै पनि खेलाडीले १ भन्दा बढी विकेट लिन सकेनन् । सबैभन्दा किफायती बलिङ गरेका सैफ जैबले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।
जनकपुर बोल्ट्स च्याम्पियन यात्रा
दुई वर्षअघि भएको नेपाल टी२० लिगको उपाधि जितेको लुम्बिनी अल स्टार्सकै म्यानेजमेन्ट टिमका केही व्यक्तिहरुसहित जनकपुर बोल्ट्स टिमको स्वमित्व लिएको लिएको थियो । मार्कीमा आफ्नै क्षेत्रको आसिफ शेख पाएको जनकपुरले लुम्बिनी अल स्टार्समा खेलेका अनिल शाहदेखि ललित राजवंशी किशोर महतो अनि विदेशी खेलाडी मिलान्थालाई समेत अनुबन्ध गर्दै टिम बनाएको थियो ।
राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुद दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षकमा मनोज कटुवाललाई निरन्तरता दिएको थियो । विदेशी खेलाडीमा नेपालमा अनुभव भएका मिलान्थासँगै विश्व चर्चित अलराउण्डर जिमी नीशमलाई भित्र्याएको थियो । यीनै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरले उपाधि जित्यो ।
लिगअघि नै लुम्बिनी अल स्टार्सको लेगेसी कायम गर्ने लक्ष्य राखेको जनकपुर त्यसमा सफल भयो । त्यही खेलाडीले यस पटक उत्कृष्ट प्रदर्शन गरे । २९३ रन सहित मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बने । यस्तै सुदूशरका स्कट कुगेलेइनसँगै ललित राजवंशीले सर्वाधिक १७ विकेट लिए । नीशमले अलराउण्ड प्रदर्शन गरे ।
लिगमा जनकपुरले सबैभन्दा धेरै १० खेल खेल्दै ७ खेल जित्यो भने ३ खेलमा पराजित भयो । तर फाइनलमा आवश्यक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो ।
लिगम चरणमा खेलेका ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको जनकपुर क्वालिफायरमा वानमा सुदूरसँग ८ विकेटले पराजित भएको थियो । अर्को अवसरमा कर्णाली याक्सलाई २ विकेटले रहउदै फाइनलमा सुदूरसँग नै भेट पक्का गरेको थियो ।
फाइनल अघि सुदूरसँग २-० ले पछि रहेको जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै हारको बदला लियो । लिगमा सुरूवाती चार खेलमा लगातार जित निकालेको भएपनि त्यसपछि लय गुमाउँदा जनकपुरले सुदूरपश्चिम र चितवन राइनोजसँग हार व्यहोरेको थियो । त्यसपछि एक खेल जित्दा फेरि अन्तिम खेलमा पराजित भएको थियो ।
विराटनगर किंग्स विरुद्ध ८ विकेटले विजयी
कर्णाली याक्स विरुद्ध ८ विकेटले विजयी
पोखरा एभेन्जर्स विरुद्ध ७ विकेटले विजयी
लुम्बिनी लायन्स विरुद्ध १ रनले विजयी
सुदूरपश्चिम विरुद्ध ७२ रनले पराजित
काठमान्डु गुर्खाज विरुद्ध ५ विकेटले विजयी
चितवन राइनोज विरुद्ध ३२ रनले पराजित
क्वालिफायर १
सुदूरपश्चिम विरुद्ध ८ विकेटले पराजित
क्वालिफायर २
कर्णाली याक्स विरुद्ध २ विकेटले विजयी
फाइनल
सुदूरपश्चिम रोएल्स विरुद्ध ५ विकेटले विजयी
व्यक्तिगत पुरस्कार कारदेखि बाइकसम्म
यस पटक एनपीएलमा लगानी र विजेताको पुरस्कार राशी मात्र ठूलो थिएन व्यक्तिगत रुपमा खेलाडीले पाउने पुरस्कारको पनि ठूलो चर्चा थियो । लिग अघि नै नेपाली उत्कृष्ट खेलाडीले कार पुरस्कार पाउने घोषणा भएपछि कसले त्यो पाउला भन्ने उत्सुकता सबैमा थियो ।
लिग चरणमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल यसको होडमा अघि थिए। तर उनको टिम लिग चरणबाट बाहिरिएपछि यो होडमा सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरी, चितवनका कप्तान कुशल मल्ल देखि जनकपुरका बलर ललित राजवंशी अघि आए ।
सुदूर र जनकपुर फाइनल पुग्दा दीपेन्द्र र ललित नै यसको होडमा अगाडि थिए । फाइनलमा खासै चल्न नसकेपनि सुदूरका लागि ब्याटिङ बलिङ फिल्डिङदेखि नेतृत्वमा समेत उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुर्याएका दीपेन्द्रले नै कार पुरस्कार पाए ।
। उनले २२७ रन बनाउनुका साथै ९ विकेट लिएका थिए । नेपाली खेलकुदमै कुनै पनि खेल प्रतियोगितामा कार पुरस्कार दिइएको यो पहिलो पटक हो । दीपेन्द्रले ओमोडा ई ५ कार पाए ।
यसबाहेक अन्य व्यक्तिगत अवार्डमा च्याम्पियन जनकपुर र सुदूरकै खेलाडीको वर्चस्व रह्यो ।
प्लेअर अफ दि टुर्नामेन्ट सुदूरकै इंग्लिस खेलाडी सैफ जैबले पाए । उनले नगद ५ लाख पुरस्कार पाए । जैबले २ अर्धशतकसहित २७५ रन बनाएर चौथो स्थानमा रहे । बलिङमा १२ विकेट लिँदै सातौं स्थानमा रहे ।
जनकपुरका ललित राजवंशीले बलर अफ दि टुर्नामेन्टको अवार्डसहित अल्ट्राभेलेटको मोटरबाइक पुरस्कार पाए । यसैगरी लिगभर उत्कृष्ट ब्याटिङ गर्दै हाइएस्ट स्ट्राइक रेट रहेका जनकपुरका जिमी नीशले इनर्जेटिक प्लेअर अफ दि टुर्नामेन्टको अवार्ड पाए । उनले नगद २ लाख पुरस्कार पाए । जनकपुरकै मिलान्थाले म्याक्समम फोर को अवार्ड पाए ।
ट्यालेन्ट हन्टबाट आएर एनपीएलमा सानदर बलिङ गर्दै सनसनी मच्चाएर १३ विकेट लिएका कर्णाली याक्सका विपिन शर्माले इमर्जिङ प्लेअर अवार्ड पाए । उनले नगद ५० हजार पुरस्कार र १ लाख बराबरको स्कलरसिप पनि पाए ।