एनपीएलको फाइनल खेलमा कहाँ चुक्यो सुदूरपश्चिम ? – Online Khabar
५ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जित्यो । फाइनलमा सुदूरपश्चिम रोयल्सको चूनौति पन्छाउँदै जनकपुर एनपीएलको ऐतिहासिक विजेता बन्यो ।
हाइ स्कोरिङ खेलमा जनकपुरले सुदूरपश्चिमसँगको पछिल्लो दुई भेटको नतिजा उल्टाउँदै जित हासिल गर्यो जसमा कमजोर देखिएको ब्याटिङमा आज सुधार गरेको देख्न सकिन्थ्यो ।
खेलमा टस जितेर पहिले सुदूरपश्चिमले ब्याटिङ गर्दै १८४ रनको योगफल तयार गरेको थियो । उक्त योगफल यस प्रतियोगितामा बनेको उच्चमध्येकै योगफल हो । धेरेजसो खेलमा मध्यम योगफलसहित केही लो स्कोरिङ खेलहरू भएपनि फाइनल जुन पिचमा खेलाइएको थियो त्यसअनुसार यति रन बन्ने खालकै पिच थियो ।
फ्ल्याट पिचमा रन धेरै बन्न सक्ने अनुमानका बीच सुदूरले १८४ रन बनायो तर पनि प्रतियोगिताभर उत्कृष्ट फर्ममा देखिएको भएपनि उपाधि भिडन्तमा कहाँ चुक्यो त ? आज चर्चा गर्नेछौं ।
फिनिसिङमा फितलो
सबैभन्दा पहिलो कुरा भनेको सुदूरपश्चिमको फिनिसिङमा केही कमी देखियो । ओपनरद्वय विनोद भण्डारी र सेफ जैबले शानदार सुरूवात दिलाएपछि १० ओभरमा कुनैपनि विकेट नगुमाई ९७ रन बनाएको सुदूरपश्चिम पहिलो विकेट खस्नुअगाडि १२औं ओभरमा ११७-० को अवस्थामा थियो ।
विनोद र सेफ जैब आउट भएपछि आएका ब्रान्डन माकमुलेन र हर्मीत सिंह समान १४ रन बनाएर आउट भए । त्यसपछि स्कट कुग्लेइनले १३ बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरले २०० सम्मको स्कोर बनाउने तरिकाले सुरूवातदेखि खेलेर १५ ओभरसम्म १४३-३ को बलियो अवस्थामा रहेको भएपनि अन्तिम ५ ओभरमा ४१ रन मात्र बनाउन सक्यो । ठुलो शट खेल्ने धुनमा सबैजसो ब्याटरहरू क्याचआउट भइरहेका थिए ।
खेलपछि प्रशिक्षक जगत टमाटाले पनि अलिकति रन कम भएको बताएका थिए । ‘हामी १० रन जति अलि शर्ट भयौं कि जस्तो लाग्यो, हामीले राम्रो खेलेको हो तर जनकपुरले हामीभन्दा पनि राम्रो खेल्यो’ उनको भनाइ थियो । ‘लास्टको ५ ओभरमा हामीसँग विकेट पनि बाँकी थियो । १०-१५ रन जति थप्न सकेको भए केही हुन्थ्यो होला’ उनले भने ।
कप्तान दिपेन्द्रले पनि आफूहरूको बलिङ राम्रो हुँदाहुँदै अलिकति कम रन बनाएकाले जित सम्भव नभएको बताए । उनले लाहिरु मिलान्था र आसिफ शेखको ओपनिङको पनि तारिफ गरेका थिए ।
पावरप्लेमा दुई मेडन व्यहोर्नु
सुदूरपश्चिमले पावरप्लेमा कुनैपनि विकेट नगुमाई ४८ रन बनाएको थियो । सुरूवात राम्रो गर्दै गर्दा सुदूरले पावरप्लेमै दुईवटा मेडन भने व्यहोरेको थियो । ललित राजवंशीको चौथो तथा हर्श थाकरको पाँचौं ओभर मेडन हुँदाहुँदै सुदूरले बाँकी ४ ओभर गरेर ४८ रन जोडेको थियो ।
त्यो दुईवटा मेडन व्यहोर्नु पनि सुदूरका लागि घातक साबित भयो । पावरप्ले आफैंमा महत्वपूर्ण फेज मानिन्छ । त्यसमा दुईवटा ओभरमा रन नै नजोड्नु भनेको दुर्लभ हुन्छ टी२० खेलमा । खेलका क्रममा मेडनमा आउने रन अन्य ओभरबाट कभर भएको देखिएपनि खेलको नतिजामा पनि त्यसले प्रत्यक्ष असर पुर्यायो ।
खेलपछि प्रशिक्षक टमाटाले पनि सोही कुरा उल्लेख गरेका थिए । ‘पावरप्लेको ओभर भनेको यसैपनि महत्वपूर्ण नै हो । त्यहाँ दुई मेडन भनेको धेरै ठुलो हो । अलिकति रन बनाउन सकिन्थ्यो होला । पछाडिको ओभरमा पनि १०-१५ रन शर्ट भयौं’ उनले भने ।
क्याच मिस र एक्स्ट्राज
भनिन्छ क्रिकेटमा क्याच मिस हुनु भनेको म्याच मिस हुनु हो । सुदूरपश्चिमको बलियो पक्ष फिल्डिङ पनि हो । तर फाइनल खेलमा सुदूरले दुई महत्वपूर्ण क्याच छाड्यो त्योपनि सेट ब्याटरहरू लाहिरु मिलान्था र हर्श थाकरको ।
जनकपुर ११६-१ को अवस्थामा हुँदा कप्तान दिपेन्द्र १२औं ओभर बलिङ गर्न आए । ६५ रनमा खेलिरहेका मिलान्थाले रूम बनाएर खेल्न खोजेका थिए तर बल टर्न भएर ब्याटको टप एज लागेर माथि गएको थियो । उक्त बल समात्न कप्तान दिपेन्द्र आफैं गए । तर उनको हातमा लागेर बल छुट्यो ।
नेपालको उत्कृष्ट फिल्डरमध्येका एक दिपेन्द्रले करियरमा त्योभन्दा धेरै उत्कृष्ट क्याचहरू लिएका छन् । उक्त क्याचका लागि बल गइरहेकै दिशामा आफैं कुदेका दिपेन्द्रले जज गर्न सकेनन् र छुट्यो । यद्यपी उक्त क्याच लिनका लागि लङ्गअफबाट र मिडअफबाट पनि फिल्डरहरू आएका थिए । जसका लागि अलि सहज हुन सक्थ्यो ।
त्यसपछि जनकपुर १३७-२ मा हुँदा हर्मितको बलिङमा लङ्गअनमा शट खेलेका थाकरको क्याच माकमुलेनले छाडे । उक्त बल उनको हातमा लागेर छक्काका लागि गएको थियो । यी दुई क्याचले खेलको मोमेन्टम परिवर्तन गर्दै सुदूरलाई खेलमा फर्काउन सक्थ्यो ।
त्यसैगरी एक्स्ट्रा पनि केही बढी खर्चिएको थियो सुदूरले । पेसरले लाइन बिगार्दा डाउन द लेग गएको बल किपरले समेत भेट्न नसक्दा चौकाका लागि गइरहेका थिए ।
पावरप्लेमा बढी रन खर्चँदा विकेट लिन नसक्नु
सुदूरले हालसम्म खेलेका हरेक खेलमा पावरप्लेमा विकेट लिँदै आएको थियो । आजको फाइनल खेलमा सुदूरले पावरप्लेमा ७१ रन व्यहोर्दा कुनैपनि विकेट निकाल्न सकेको थिएन ।
विशेषगरी ओपनरहरूले चार्ज लिइरहँदा कुनैपनि बलरले दबाब सिर्जना गर्ने खालको प्रदर्शन गरेनन् । चार बलरहरू प्रयोग गरेपनि पावरप्लेमा विकेट निकाल्न नसक्दा र रन रोक्न नसक्नु नै सुदूरका लागि दबाब सिर्जना गरिरहेको थियो ।
पावरप्लेमा १ वा २ विकेट निकाल्न सकेको भए ठुलो स्कोर चेज गर्दा त्यसपछिका ब्याटरहरू क्रिजमा सेट हुन खोज्छन् जसले गर्दा रनगतिमा केही ब्रेक लाग्न सक्थ्यो ।
***
भनिन्छ नि, आफ्नो भाग्यमा छैन भने जति गरेपनि हुँदैन । सुदूरपश्चिमको आजको फाइनल खेलमा यही प्रसङ्ग जोडिन्छ । प्रतियोगिताभर राम्रो प्रदर्शान गरेको सुदूरलाई फाइनलमा भाग्यको पनि साथ मिलेन ।
प्रशिक्षक टमाटाले पनि आजको दिन आफ्नो नरहेको उल्लेख गर्दै राम्रो क्रिकेट खेलेपनि विपक्षी टिमले अझै राम्रो खेलेर जित्न सफल भएको बताएका थिए ।