#समाचार

पाँच महिनामा पौने २१ अर्ब बराबर एफडीआई प्रतिबद्धता

५ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा २० अर्ब ७७ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार मंसिर मसान्तसम्म अटोमेटिक रुटबाट १ अर्ब १३ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ । ‘अप्रुभल रुट’ बाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ ।

गत आव सोही अवधिको तुलनामा केही बढी प्रतिबद्धता आएको देखिएको छ । गत आव मंसिरसम्म २० अर्ब ६१ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो ।

विभागका अनुसार यस वर्ष मंसिरसम्म ३ सय १९ उद्योग दर्ता भएका छन् । यसमध्ये अटोमेटिक रुटबाट १ सय ३८ र अप्रुभल रुटबाट १ सय ८१ उद्योग दर्ता भएको छ ।

सरकारले वैशाखदेखि अटोमेटिक रुटबाट वैदेशिक लगानी स्वीकृति दिन थालेको थियो । योसँगै अहिलेसम्मको कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ५ खर्ब ३० अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको छ ।

साना उद्योगमा थुप्रियो लगानी

यस वर्ष दर्ता भएका उद्योगमध्ये साना उद्योगमा लगानी थुप्रिएको देखिन्छ ।

उद्योग विभागका अनुसार यस वर्ष दर्ता भएकामध्ये ३ सय १२ उद्योग साना छन् । ४ मझौला उद्योग दर्ता भएको देखिन्छ । ३ वटामात्र ठूला उद्योग दर्ता भएका छन् ।

पर्यटन र सूचना प्रविधिमा आकर्षण

यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी आएका क्षेत्रमध्ये सबैभन्दा बढी आकर्षण पर्यटन र सूचना प्रविधिमा देखिन्छ ।

उद्योग विभागका अनुसार पर्यटनमा १ सय ४५ उद्योग दर्ता भएका छन् । जुन कुल दर्ता भएका उद्योगको ४५ प्रतिशत हुन आउँछ ।

त्यस्तै सूचना प्रविधिमा १ सय ६ उद्योग दर्ता भएका छन् । यो कुल उद्योगको ३३ प्रतिशत हो । सेवा क्षेत्रमा ४०, उत्पादनमूलक उद्योगमा २२, कृषिमा ५ र पूर्वाधारमा एउटा उद्योग दर्ता भएको समेत तथ्यांकले देखाएको छ ।

पाँच महिनामा पौने २१ अर्ब बराबर एफडीआई प्रतिबद्धता

नयाँ नाममा आउँदैछ एप्पलको सस्तो आइफोन –

Leave a comment

Your email address will not be published. Required fields are marked *