‘सरकारले लामो समयसम्म प्राण धान्ला भन्ने देखिंदैन’
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग बुधबार साँझ दिएको यो अन्तर्वार्ता उनकै दलबाट सुरु भएको ‘राजनीतिक कोर्स परिवर्तन’ को बहसमा केन्द्रित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि सत्ता परिवर्तनको संकेत बुझिने भाषामा कोर्स परिवर्तन भन्न थालेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादीले सत्ताबाट बाहिरिएको ६ महिना नपुग्दै कस्तो खालको कोर्स बदल्ने कुरा गरेको हो ? बसन्त बस्नेतले सोधेका प्रश्न :
प्रधानमन्त्री केपी ओली चीन गएर आउनुभयो, भारत जाने चर्चा सुनिन्छ । नेपालमा प्रधानमन्त्रीले यी दुई देश जाने, अनि सरकार पनि त्यसैको सेरोफेरोमा परिवर्तन हुने हल्ला चलिरहन्छ नि ?
नेपालको प्रधानमन्त्री बनिसकेपछि पहिले भारत, अनि चीन भ्रमण गर्नैपर्छ, नगरे प्रधानमन्त्री असफल भयो, छिमेकीले सकारात्मक लिएनन् भन्ने जुन प्रकारको सोच नेपालमा छ, त्यो नै गलत छ । हाम्रो आवश्यकता अनुसार छिमेकी वा मित्रराष्ट्रको भ्रमण गर्ने हो । उहाँहरूले पनि निम्ता गर्ने, उहाँहरूलाई पनि निम्ता गर्ने हो । प्रधानमन्त्रीको सफलताको मापदण्ड केलाई मान्ने भन्ने नै अनुचित छ । त्यसैले चीन जाने बेलामा प्रधानमन्त्रीलाई हामीले शुभकामना दियौं । भारतमा पनि भ्रमण गर्ने रुचि छ भने उहाँ गएर सद्भाव बढाउने, केही गुणात्मक रूपमा सार्थक बनाउने काम गर्नुहोस् । यसमा बढाइँचढाइ आवश्यक छैन ।
तपाईंको पार्टी अध्यक्ष प्रचण्डले हिजोआज प्रधानमन्त्री ओलीबाट चिनियाँ कार्ड खेलियो, अब कोर्स परिवर्तन भन्दै हुनुहुन्छ, त्यसको साइनो छ ?
चाइना कार्ड एउटा मिडिया अन्तर्वार्ता क्रममा बोलिएको भनेर आयो । हामीले पनि यसमा कुराकानी गर्यौं । पार्टीमा अध्यक्षले दिनुभएकोे जानकारी अनुसार त्यसो भन्न खोजिएको होइन । छिमेकी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध राख्नुपर्छ । मैले नेपालले स्वतन्त्र राष्ट्रका रूपमा विदेश नीति कसरी चलाउनुपर्छ, कसरी आफ्नै बुतामा उभिनुपर्छ भनेर नीतिगत कुरा गरेको हुँ, मैले त्यसो भन्न खोजेको होइन भन्नुभयो ।
अनि कोर्स परिवर्तनको कुरा चाहिं ?
मैले यो कुरा आफैंले सुनेको त छैन । तर सरकारको मात्रै नभई युगान्तकारी परिवर्तनपछि राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् । त्यसैले कोर्स परिवर्तनबाट आम जनतालाई त्यसको लाभ दिऊँ भन्ने हो । अरू कुरा त मैले बुझेको छैन ।
माओवादी यसअघि एमाले र कांग्रेससँग पालैपालो सहकार्यमा थियो । अब कोर्स परिवर्तनको कुन नयाँ फर्मूला ल्याउँदैछ ?
२०७९ को चुनावका बेला नै पार्टीभित्र छलफल भएको थियो : प्रतिगमन मुर्दावाद मात्रै भनेर पुग्दैन । हामी परम्परागत लोकतन्त्रमा फस्ने खतरा छ । यस्तो अवस्थाको वास्तविक कारण पहिचान गरौं । जनताले ऐतिहासिक परिवर्तनबाट खोजेको आर्थिक, सामाजिक उपलब्धि नपाउँदा अराजकता र आक्रोशमा पुग्ने खतरा पनि छ । व्यवस्था जोगाउने पनि जनताले नै हो । उनीहरूमा नै निराशा बढ्यो भने अराजकतावादीले फाइदा उठाउँछन् । आर्थिक विकास तीव्र पार्नेबित्तिकै जनतामा आशा जाग्छ । अहिले सन्तोषजनक काम भएको छैन, त्यसलाई सन्तोषजनक बनाउँ ।
दोषी ठहरिएर दुई वर्ष कैद ठहरेको व्यक्तिलाई प्रधानमन्त्रीले संसद्मा बोलेर सफाइ दिनुभयो । प्रवृत्ति सुशासन अभियानलाई निरन्तरता दिने होइन, रोक्ने देखियो ।
नेपाल जस्तो देशमा समृद्धि प्रक्रिया तीव्र पार्न भ्रष्टाचार प्रभावकारी रूपमा नियन्त्रण गर्ने, राज्य लुट्ने वर्गलाई कारबाही गर्ने हो । त्यसैले सुशासन पहिलो शर्त भयो, नेपालको विकासमा ।
उत्पादक शक्तिको विकास, स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने काम दलाल पूँजीवादबाट हुँदैन । अरू देशमा जस्तो भ्रष्टाचार विरुद्ध बोले जस्तो सामान्य सुशासनको कुरा होइन, नयाँ दलाल नोकरशाही पूँजीवादमाथिको आक्रमण तेज गर्नेबित्तिकै सुशासनको अभियान अघि बढ्छ ।
उच्च तहका नेता, कर्मचारी, ठूला दलाल र धनाढ्यले सजिलो उपायबाट पैसा कमाउने, राज्य लुट्ने गरे । लगानी उत्पादन बढाउन, रोजगारी वृद्धि हुनेमा गरेकै छैनन् । त्यसैले नेपालको विकास गर्न राष्ट्रिय पूँजीको विकास गर्ने, अनि दलाल नोकरशाही पूँजीवादमाथि आक्रमण गर्ने यो अभियानलाई कोर्स परिवर्तन भनेको हो ।
तपाईं प्रचण्ड सरकारको गृहमन्त्री छँदा सहकारी ठगीमा तथ्य–प्रमाण जुटाएर कारबाही गरौं भन्नुभयो, तर तपाईंको मन्त्रालय नै बदलियो । अहिले संसदीय समितिको प्रतिवेदनले पनि त्यही निष्कर्ष निकाल्दा किन तपाईंको पार्टी अध्यक्षले बेग्लै टिप्पणी गर्न थाल्नुभएको हो ?
यसमा बेग्लै टिप्पणी भन्दा पनि हाम्रो पार्टी र मेरो स्पष्ट दृष्टिकोण छ । कुनै पनि व्यक्तिको पदीय हैसियत देखाएर छानबिन प्रभावित पार्ने गर्नुहुँदैन । सम्बन्धित जसको पनि छानबिन हुनुपर्छ । कुन निष्कर्ष निकाल्छ, प्रतिवेदनको त्यो सत्य समाएर कारबाही वा सफाइको स्थिति हुनुपर्छ । तर अनुसन्धानै गर्न मिल्दैन, वा गरे पनि पहिल्यै निष्कर्ष निकाल्ने गर्नुहुँदैन ।
राजनीतिक भेदभाव पो अलिक भयो कि ? किनभने कांग्रेस र एमालेका ठूला मान्छे, जो ठगीमा संलग्न छन्, सरकार उनीहरूलाई कारबाही गर्नतिर गएन । रविलाई नगर भनेको होइन, अरूलाई भेदभाव किन गर्यौं भनेको हो । स्वच्छ तरिकाले अनुसन्धान गरे हुन्छ । राति लैजाने किन ? भोलिपल्ट लगे भइहाल्थ्यो । जोसुकैलाई अनुसन्धान गर, तर स्वच्छता राख ।
तपाईंहरूले थालेका कारबाही त अहिले पनि निरन्तर नै छन् होइन ?
सबै छैनन् । मिडियाले खबरदारी गरेपछि केही कारबाही, लोकलाजका लागि भएका छन् । भ्रष्टाचारी खोज्दा आफ्ना समेत व्यक्ति पर्लान् भनेर सतर्क भएको पनि देखिन्छ । मूलभूत रूपमा हाम्रो सुशासन अभियानलाई यो सरकारले निरन्तरता दिएन ।
बालकृष्ण खाँण, टोपबहादुर रायमाझी जस्ता ठूला नेता नै पर्दा त कांग्रेस एमालेको विरोध आएको थिएन, तर बेचन झा वा अर्को व्यक्ति देखाएर किन सत्तापलटकै आरोप लगाउनुभयो ?
बेचन झा सानो कि ठूलो भन्नुभन्दा घटनाका शृंखला र उनको कनेक्सन हेर्नुपर्छ । बेचन झालाई कारबाही चलाउने निर्णय म गृहमन्त्री हुँदा उनी कहाँ छन् भनेर लोकेट गर्यौं । ल्याउन प्रयास गर्यौं, तर ल्याउने सक्ने अवस्था बनेन ।
किन बनेन ?
किनभने ल्याउन दिइएन भनौं न । परस्पर समझदारी छ, आफूले पक्राउ पर्नुपर्ने भनेर मुद्दा लगाएका अभियुक्तबारे दुई देशले सुपुर्दगी सन्धि भए पनि आपसी समझदारीका आधारमा काम गर्ने गरिएको छ । तर त्यो भएन । अर्को भूमिमा भएका व्यक्ति सरकारले ल्याउन सकेन । तर सहयोग प्राप्त भएन ।
भारतीय पक्षबाट ?
यसरी भनौं– नेपाल भूमिमा उनी थिएनन् । उनी अर्को देशमा थिए, तर त्यहाँबाट नेपाल ल्याउन सहयोग प्राप्त भएन । त्यसैले यो मुद्दामा बेचन सानो कि ठूलो भन्ने भएन । त्यस्तै अर्को सरोकार धितोपत्र बोर्डको पनि थियो । त्यहाँ पनि हामीले सफा नियत देखेनौं । अहिले मीनबहादुर गुरुङजीको कुरा चलेको छ । उहाँ व्यक्तिगत रूपमा सज्जन जस्तो देखिनुहुन्छ । तर सरकारले मित्रता र मायाप्रेमका आधारमा काम गर्न सक्दैन । उहाँलाई हामीले ललितानिवास प्रकरणको मूल योजनाकारका रूपमा सीआईबीले देखाएको व्यक्ति भनेर चिनेका छौं । विशेष अदालतले दुई वर्ष कैद र बिगो तोक्यो । त्यसपछि उहाँहरू सर्वोच्च अदालत जानुभयो, त्यो विचाराधीन थियो । हामीले चलाएको अर्को मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । सम्माननीय प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले गरिखाने मान्छेलाई गर्न दिएन भन्नुभयो । प्रधानमन्त्रीले यसो भन्न मिल्दैन । दान भनेर एक अर्ब पर्ने जग्गा लिनुभयो । कोशीको प्रदेश सरकार मन्त्रीको विषयः रोजगारी नपाएका युवालाई लगिदिन्छु भनेर पैसा टिकट दुवै लिने काम गर्नुभयो । जापान सरकारले सन्देहास्पद भनिसकेपछि पनि क्लिनचिट दिइयो ।
तर अदालत नै संलग्न भएर त्यसमा आदेश गरिदियो होइन ?
कुरा अदालतको होइन, मीनबहादुरको हो ।
अदालतले दान लिए फरक पर्दैैन भन्ने आशयमा बोल्यो त ?
यो अदालतले भन्नुपर्ने विषय होइन । राजनीतिक नैतिकतासँग जोडियो । संसद्मा ठूलो छलफलको विषय हो, यो । सामान्यतया संसद्मा समेत अदालतको विषयमा बोल्न पाइन्नँ । तर यहाँ दोषी ठहरिएर दुई वर्ष कैद ठहरेको व्यक्तिलाई प्रधानमन्त्रीले संसद्मा बोलेर सफाइ दिनुभयो । प्रवृत्ति सुशासन अभियानलाई निरन्तरता दिने होइन, रोक्ने देखियो ।
प्रचण्डले किन म्याजिक नम्बर भन्नु भएको हो उहाँसँगै सोध्नुपर्छ । तर हामी चाहिं सरकार कसरी ढाल्ने, कसरी सरकारमा जाने भन्नेमा छैनौं । हाम्रो प्राथमिकता अर्कै छ ।
प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने, अरूलाई पनि गर्न नदिने भन्नुभएको छ, कसैलाई लिनु वा दिनु नपर्ने भन्नुभएको छ ?
उहाँले भनेर हुने भए त ग्यासका पाइप, पानीजहाज, रेलको टिकट भन्नुभयो । शब्दमा होइन, आचरणमा देखिनुपर्यो नि ! हामीले व्यवहार हेरेर विश्लेषण गरेका छौं ।
तपाईंलाई विगतमा वाम एकताको एक सूत्रधार भनेर चिनिन्थ्यो ! अब तपाईं नि एकताको आश मार्दै हो ?
नेपालमा वामपन्थी जनमतको बाहुल्य छ । नेपालका पछिल्ला परिवर्तनमा वामपन्थी जनमत नै निर्णायक थिए । यो संविधान कार्यान्वयन गरेर समाजवाद उन्मुख सामाजिक, आर्थिक रूपान्तरण गर्ने काममा हिजो पनि लाग्यौं, आज र भोलि पनि लाग्छौं । वाम एकताको ढोका खुला छ, तर तत्काल व्यावहारिक रूपमा मैले सम्भव देखेको छैन । कतिपय वाम शक्तिसँग चाहिं कुरा हुन्छ फेरि ।
वाम मतलब विगतमा भएको एमाले माओवादी एकता वा सहकार्य अब के हुन्छ ?
भन्नाले वाम नाम राखेर काम गरेकालाई पनि बुझौं न । पहिले पनि सोचेका हौं । एमालेसँगै चाहिं व्यावहारिक प्रश्न अझै छ ।
एमालेसँग सत्ता सहकार्य चाहिं कत्तिको सम्भव छ ?
अहिले त्यो पनि मैले देखेको छैन । त्यतातर्फ माओवादीले सोचेको छैन ।
कांग्रेस र एमालेको सहकार्य कति लामो जाला ?
हेर्दै जाऊँ । हामी सरकारबारे त्यति सोचिराखेका छैनौं । पार्टी निर्माणको काम केन्द्रमा राखेर घनीभूत गर्ने भन्ने छ । जनतामा जाने, देशको परिस्थितिबारे सूचित गर्ने, जागृत गर्ने, मुद्दा उठाएर सशक्त अघि बढ्ने हाम्रो प्राथमिकता हो । सहकार्य कतिसम्म जाला भन्ने त उहाँहरूको व्यवहार हेरौं न !
तर प्रधानमन्त्री ओली चीनबाट फर्केपछि नेतृत्वको बारेमा अनेक कोणबाट छलफल सुरु भइरहेको बारे तपाईं बेखबर त हुनुहुन्न नि ?
मैले अब… त्यस्तो नजिकबाट हेरेको छैन । हामी त सरकारका बारेमा नसोचौं है भनेर त्यति धेरै हेरेका छैनौं । उहाँहरूको अवस्थाबारे भन्ने र गर्ने अवस्थामा हामी छैनौं ।
तर तपाईंको पार्टी अध्यक्ष प्रचण्डले बीचमा म्याजिक नम्बर भन्न बिर्सनुभएको थियो, फेरि भन्न थाल्नुभएको छ होइन ?
त्यो त अध्यक्षसँगै सोध्नुपर्छ, कुन सन्दर्भमा भन्नुभएको हो भनेर । तर हामी चाहिं सरकार कसरी ढाल्ने, कसरी सरकारमा जाने भन्नेमा छैनौं । हाम्रो प्राथमिकता अर्कै छ ।
तर पार्टी अध्यक्षको सोच र अभिव्यक्तिको शृंखला यसैको वरिपरि छ त आजकाल ?
यो सरकारले देश चलाउन सकेन, देशले सरकार धान्न सकेन, हाम्रो पार्टीले सरकारमा गएर सुशासन, समृद्धि, सामाजिक न्यायबारे जो महसुस गरेको छ, यो गति मन्द भयो भन्ने छ । भोलि आवश्यकता भयो भने त्यस्तो प्राथमिकता कार्यान्वयन कसरी गर्न सकिएला भनेर सोच्न सकिन्छ । अहिले सोचिएको छैन ।
ओली र देउवा चुनावसम्म सँगै जाने सम्भावना देख्नुहुन्छ ?
सरकारको गति हेर्दा यसले लामो समयसम्म प्राण धान्ला भन्ने देखिंदैन । जनताले प्रश्न गरिरहेका छन् । हामी चुनावसम्म सँगै लैजाउन् भन्नेमै हो, हामी प्रमुख प्रतिपक्षी बन्ने भन्नेमै हो ।
तपाईंहरूले ओलीलाई तपाईं सच्चिनुस्, हामी सहकार्य गरौं भन्ने, वा कांग्रेसलाई भन्ने गर्नुभएको हो ?
त्यस्तो दिन आउँदैन भनेर म भन्न सक्दिनँ । तर अहिले यसमा सोचिएको छैन । एमालेसँग मिलेर विगतमा दुई तिहाइ बहुमत भएको, जनतामा आशा जागृत भएको अवस्था पनि थियो । फेरि सम्भावना भएछ भने, होस् नगरौं भन्दैनौं । वाम एकताबारे एमालेसँग अहिलेसम्म सम्भावना देखा परेको छैन ।
तपाईंहरूको अहिलेको मुख्य काम के हो ?
आफ्नै बलबुतामा उभिनका लागि पार्टी संगठनलाई बलियो बनाउने । जससँग पार्टी एकता र ध्रुवीकरणमा ल्याउन सकिन्छ, त्यहाँ पहल गर्ने । अहिले नेत्रविक्रम चन्द विप्लवजी, महेन्द्र यादवको नेतृत्वमा भएको पार्टीसँग पनि । र एकीकृत समाजवादीसँग पनि सहकार्यको सम्भावना हुन सक्छ । उहाँहरूसँग पार्टी एकताको प्रगति चाहिं छैन ।
समाजवादी मोर्चाबारे के गर्नुहुन्छ ?
समाजवादी मोर्चाले राम्रोसँग काम गर्न सकेको छैन भन्ने सही नै हो । कार्यक्रमका आधारमा नयाँ ढंगले यसलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सोच्छौं । कार्यगत एकताका ठाउँहरू पनि खुला गर्छौं ।
उपराष्ट्रपति भइसकेका नन्दकिशोर पुनलाई पनि पार्टीभित्र भित्र्याउन लाग्नुभएको हो ?
हामीले त्यस्तो कुनै निर्णय गरिसकेका छैनौं । यो पार्टीको मात्रै विषय हो भन्ने लाग्दैन । यो हाम्रो राष्ट्रिय जीवनमा देखा परेको नयाँ प्रश्न हो । आम रूपमै छलफल चल्नुपर्छ ।
पार्टीमा छलफल भएको त छ ?
मतलब, उहाँले चाहना गर्नुभएको कारणले पार्टीमा विषयले प्रवेश पाएको छ । छलफल गरेर निर्णय गरौंला भन्ने भएको छ । तर छलफल भएको छैन ।
माओवादीमा नयाँ पुस्ता आउनुपर्ने होइन ? तपाईंहरू त पुरानै जोडजाडमा लाग्नुभएछ त !
नेतृत्वको विषय क्षमतासँग जोडिने सवाल हो । यसमा नयाँ–पुराना सबै कोणबाट हेर्नुपर्छ । मूल विषय नेता को भन्ने होइन, काम के गर्ने भन्ने हो । कमि–कमजोरीका बीच अहिले पनि नेपालका दलमध्ये माओवादी केन्द्र नै राम्रो हो । तर पार्टीलाई यथास्थितिमा राख्न सकिन्न ।