#समाचार

नीशमको भरमा जनकपुरको फाइनल यात्रा, ब्याटिङको चिन्ता कायमै

४ पुस, काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गर्‍यो । दोस्रो क्‍वालिफायरको रोमाञ्चक ‘लो स्कोरिङ थ्रिलर’मा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले पराजित गर्‍यो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य ८ विकेटको क्षतिमा पूरा गरेको जनकपुरलाई आज पनि टप अर्डरको साथ मिलेन । ओपनिङ जोडीमा फेरि परिवर्तन गरेको जनकपुरले आज पनि पावरप्लेमै ३ विकेट गुमाउँदा २६ रन मात्र जोडेको थियो ।

जिमी नीशमले ४५ रनको इनिङ खेल्दै जनकपुरको जितको आधार तय गरेका थिए । फिनिसिङ नगरेपनि आजको खेल जित्नमा उनकै भूमिका सबैभन्दा महत्वपूर्ण देखिएको थियो जहाँ उनले बलिङबाट पनि २ विकेट लिएका थिए ।

१७ बलमा ४५ रन बनाएर आउट भएका नीशम पेभेलियन फर्किँदा जित लगभग सम्भवजस्तै भइसकेको थियो । तर पनि खेलमा केही रोमाञ्चकता बाँकी नै थियो । नीशम आउट भएकै ओभरमा मोहमद मोहसिन पनि आउट भएपछि शेर मल्लले एक छक्कासँगै विजयी रन पनि प्रहार गरेका थिए । एक ओभरअगावै जितेको भएपनि ८ विकेट भने गुमेको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनाएको थियो । इलिमिनेटरमा अर्धशतक बनाएका जयकिशन कोल्सावाला आज चल्न सकेनन् । मिडल अर्डरबाट पनि धेरै रन नबनेपछि कर्णाली मध्यम योगफलमा रोकिएको थियो ।

ब्याटिङ अर्डरमा परिवर्तन तर फेरि फ्लप

जनकपुर बोल्ट्सले अब शनिबारको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने पक्का भयो । तर जुन फर्ममा जनकपुर फाइनलमा पुगेको छ त्यो सुदूरपश्चिमको टिमभन्दा ठ्याक्कै विपरित देखिएको छ ।

जनकपुरको मुख्य चिन्ता अहिले ब्याटिङमा देखिएको छ । सुरूवाती चार खेलमा लगातार जित निकाल्दा तीन खेलमा टप अर्डरले नै गेम फिनिस गरेका थिए । विशेषगरी तिनवटै जितमा दुईमध्ये एक ओपनर र लाहिरु मिलान्थाले उत्कृष्ट प्रदर्शन गरेका थिए । मिडल अर्डर एक्सपोज हुनै पाएको थिएन ।

तर त्यसपछिको खेलमा सुदूरपश्चिमसँग ५१ रनमा अलआउट भएपछि जनकपुरको टप अर्डर सुस्ताउँदा मिडल अर्डरमा दबाब थपिएको थियो । त्यसपछिका सबै जित जनकपुरका लागि सहज रूपमा आएको छैन ।

अझ प्लेअफदेखि चोटका कारण टिमबाहिर रहेका कप्तान तथा ओपनर अनिल शाह नहुँदा ओपनिङको विकल्पमा २ वटा फरक प्रयोग भइसकेको छ । बुधबार मिलान्था र आसिफलाई ओपनर गराएर आकाश त्रिपाठीलाई निकै तल खेलाइएको थियो ।

बिहीबारको महत्वपूर्ण खेलमा जनकपुरले ओपनिङ जोडीमा फेरि परिवर्तन गर्दै आसिफको जोडी शुभ कंसाकारलाई पठायो । तर दुवै सस्तैमा आउट भए । त्यसपछि आएका मिलान्था पनि २ रनमा आउट भएका थिए भने २ डाउनमा आएका आकाशले पनि उल्लेख्य योगदान दिन सकेनन् ।

हर्श थाकरले पनि ठुलो इनिङ खेल्न नसक्दा जिमी नीशमले दबाबका बीच फियरलेस क्रिकेट खेल्दै जनकपुरलाई सीमापार गराउन मद्दत गरे । उनले सुरूवातमै एक जीवनदान समेत पाएका थिए । त्यसपछि मनोबल अझ बढ्दा उनले ५ छक्का र २ चौका प्रहार गरे ।

नीशमको भरमा फाइनलमा

जनकपुरका पछिल्ला खेलहरूमा सबैभन्दा बढी योगदान न्युजिल्याण्डका खेलाडी जिमी नीशमको छ । टप अर्डर नचल्दा नीशमले पूरा दबाब आफैंले लिएर जनकपुरका लागि म्याच विनिङ पारी खेलिरहेका छन् । बलिङमा पनि अन्यबाट विकेट नआएका बेला उनले ब्रेक-थ्रु दिलाइरहेका छन् । प्रतियोगितामा ६ विकेट लिइसकेका छन् ।

बिहीबारको जितमा ११९ रनको लक्ष्य पछ्याउँदा जनकपुर १०औं ओभरमा ४१-४ को अवस्थामा खुम्चिएपछि ब्याटिङमा आएका नीशमले आज पनि चार्ज लिँदै १७ बलमा ४५ रन बनाएका थिए ।

जनकपुरको टिममा ब्याटिङको चिन्ता नहट्दा जिमी नीशमको भरमा पुगेको फाइनलमा राम्रो प्रदर्शन गर्नका लागि निकै मेहेनत गर्नुपर्ने देखिन्छ । नीशमले लिग चरणको अन्तिम खेलम चितवनसँग पराजित भएको खेलमा ६५ रन बनाएका थिए भने त्यसअघि काठमाण्डुविरुद्ध १०२ रन पछ्याउने क्रममा २७ रन बनाएका थिए जतिबेला पनि टिम ब्याटिङमा संघर्ष गरिरहेको थियो ।

नीशमकै ब्याट सधैं चल्छ भन्ने पनि हुँदैन । उनी फिनिसिङमा पोख्त भएकाले ठुला शटहरू त खेल्छन् तर त्यति नै रिस्क उनी आउट हुन सक्ने कुराको पनि हुन्छ । त्यसकारण नीशमलाई साथ दिने कोही न कोही स्टेप अप भएर आउनुपर्छ ।

सुदूरसँग ५१ रनमा अलआउट भएको दिनमै पनि अनिलले भनिरहेका थिए ब्याटरहरू गलत शटहरू खेलेर आउट भइरहेका छन् भनेर । जनकपुरले त्यति एउटा कुरामा सुधार गरे मात्र पनि धेरै राम्रो हुनेछ ।

टप अर्डरको राम्रो साथ पाउन सकेमा जनकपुरका लागि मिडल अर्डरमा ब्याटरहरूले दबाब नलिइकिन फ्रि शटहरू खेल्न पाउँछन् । लाइनअप बलियो देखिएको भएपनि जनकपुरले लय गुमाउँदै गइरहेको छ ।

बिहीबारको खेलमा म्यान अफ दि म्याच भएका नीशमले पनि टप अर्डर ब्याटिङ पावरप्लेमा कमजोर देखिएको बताएका थिए । ‘हाम्रो ब्याटिङ पावरप्लेमा कमजोर देखिएको छ, त्यसलाई सुधार गर्नुपर्ने छ, हामीलाई समर्थन गर्न धेरै फ्यानहरू आएका छन् उनीहरूका लागि ट्रफी जित्न सकिन्छ भन्नेमा आशावादी छु’ उनले भनेका छन् ।

ब्याटिङ फितलो देखिएपनि बलिङमा जनकपुरको अवस्था ठीकठाक छ । ललित राजवंशीले निरन्तर रूपमा विकेट लिइरहेका छन् भने मोहमद मोहसिन र हर्श थाकरले पनि राम्रो बलिङ गरिरहँदा जिमी नीशम र पार्ट टाइमर शेर मल्लले सोचेभन्दा राम्रो बलिङ गरिरहेका छन् ।

सुदूरसँग तेस्रोपटक खेल्दै

फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको जनकपुरले तेस्रोपटक सुदूरसँग खेल्दै छ । लिग चरणमा लज्जास्पद हार व्यहोरेको जनकपुरले बुधबार मात्र पहिलो क्वालिफायरमा हार व्यहोरेको थियो ।

सुदूरसँग व्यहोरेका दुवै हारमा जनकपुरको ब्याटिङ फितलो देखिएको थियो । लिग चरणमा ५१ रनमा समेटिएको जनकपुरले बुधबार पनि १३९ रनको स्कोर खडा गरेको थियो जसलाई सुदूरले पूरा गर्दै फाइनलमा सोझै स्थान बनायो ।

सुदूरपश्चिम यस प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । सुदूरको फर्म हेर्दा जनकपुरले सुदूरलाई हराउन मेहेनत गर्नुपर्ने देखिन्छ । सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा बलियो देखिएको छ ।

सुदूर र जनकपुरबीच यसअघि भएका खेलहरूलाई ‘हाइ भोल्टेज’को रूपमा हेरिएपनि जनकपुरबाट त्यति चार्ज निस्किन सकेको थिएन । यद्यपी जनकपुरले आफ्नो कमजोरीहरूलाई सुधारेर चूनौति पेश गर्न सके अबको भेट भने साँच्चिकै ‘हाइ भोल्टेज’ हुन सक्छ ।

फाइनल खेलको टिकटहरू केही समयमा नै सोल्ड आउट भइसकेको खबर बाहिरिँदा शनिबारको दिन त्यसमाथि पनि सुदूर र जनकपुरको खेल हेर्न दर्शकको ओइरो लाग्ने निश्चित छ ।

जनकपुरका कप्तान आसिफ शेखले बुधबार पहिलो क्‍वालिफायरमा पराजित भएपनि फाइनलमा फेरि सुदूरपश्चिमलाई भेटेर पराजित गर्नेमा आशावादी रहेको बताएका थिए । त्यस्तै सुदूरका कप्तान दिपेन्द्रसिंह ऐरीले पनि सुरूवातदेखि नै फाइनल जित्ने माइन्डसेटले आएको बताएका थिए ।

जनकपुरले सुदूरसँगको पछिल्ला दुई हारबाट पाठ सिकेर कमजोर पक्ष सुधार्दै सुदूरलाई तेस्रोपटकमा स्तब्ध पार्नेछ वा सुदूर नै तेस्रोपटक हावी हुनेछ त्यो हेर्न भने अब धेरै समय कुर्नुपर्ने छैन ।

नीशमको भरमा जनकपुरको फाइनल यात्रा, ब्याटिङको चिन्ता कायमै

एन्फा यू-१८ युथ लिग पुस १२ देखि,

Leave a comment

Your email address will not be published. Required fields are marked *