किन फर्किंदैनन् विदेश गएका विद्यार्थी ? – Online Khabar
२ पुस, काठमाडौं । नेपाल फर्किने सोच बनाएर उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया उडेकी थिइन् काठमाडौंकी दिपिका जमकटेल । तर, अष्ट्रेलिया पुगेपछि उनको सोचाइ बदलियो ।
‘२० वर्षको उमेरमा अष्ट्रेलिया आएँ । जीवनको सुरुवात यहीँबाट गरेँ । अब नेपाल फर्किनु भनेको मेरो अर्को गलत निर्णय हुन्छ,’ उनले भनिन् ।
नेपालबाट नर्सिङ शिक्षा लिएकी जमकटेलले राम्रो अवसर नपाएपछि अष्ट्रेलिया रोजिन् । ‘नर्सिङ पढेँ । अवसर थिएन । २०–२५ हजारको तलबले के हुन्छ ? कमाउने रमाउने उमेर अष्ट्रेलियामै बिताइसके । अब नेपाल फर्किएर के गर्नु ?,’ उनी प्रश्न गर्छिन् ।
प्रणालीमाथि प्रश्न
गत वर्ष बिदामा उनी नेपाल आएकी थिइन् । तर उनले सम्भावानाको बाटोहरू देखिनन् । ‘नागरिकता बनाउन लाइन बस्नुपर्छ । राजनीतिक अस्तिरता उस्तै छ । सिस्टम सुधार भएको छैन,’ उनले भनिन्, ‘नेपाल फर्र्किएर जोखिम मोल्न चाहन्न ।’
अष्ट्रेलियामा सिकेको सीप लिएर नेपाल फर्किंदा जीवन सहज रूपमा चलाउन नसकिने निष्कर्ष उनको छ । ‘अष्ट्रेलियामा बाँचिरहे जस्तै जीवन नेपालमा बाँच्न सम्भव छैन,’ उनले भनिन्, ‘नेपाल क्षमताले भन्दा ‘पावर’ले चल्छ । नेपालको कमाइले आफ्नो इच्छा पूरा गर्न सकिन्न । बुबा आमाका कसरी पूरा गर्नू ?’
कतिपय विद्यार्थी अध्ययन सकेर फर्किएका पनि छन् । तर नेपालमा काम नपाएपछि फेरि उतै फर्किने गरेको तितो अनुभव सुनाउँछिन् उनी । ‘यहाँ पढ्दै, ५ दिन काम गरेर २ दिन रमाइलो गरौं भने पनि सकिन्छ । त्यो सुविधा नेपालमा छैन,’ उनी भन्छिन् ।
‘समयमै पढाइ र काम’
१० वर्ष भयो काभ्रेपलाञ्चोक पनौतीका निरञ्जन हुमागाईं अमेरिका गएको । तर उनी नेपाल फर्किने मनस्थितिमा छैनन् । ‘नेपालमा हाम्रो भ्यालु नै छैन । किन फर्किने ? जे काम गर्न पनि भनसुन चल्छ । हात जोडेर काम गर्नुपर्यो भन्नुपर्छ,’ उनी भन्छन् ।
अमेरिकामा आइटीमा काम गरिरहेका उनी नेपाल फर्किएर त्यस्तै काम पाउने सम्भावना देख्दैनन् । ‘सफ्टवेयर इन्जिनियरिङको राम्रो छ । अब नेपालमा गएर सेटअप गर्न सम्भव छैन,’ उनी भन्छन् । विद्यार्थीले विश्वविद्यालयमै पढ्दै कामको अवसर पाउने बताउँछन् उनी ।
‘विश्वविद्यालय बाहिर पनि क्यासमा काम गर्न सकिन्छ । कलेजमा पनि काम हुन्छ,’ उनी भन्छन् । उच्च शिक्षा सकेपछि २–३ वर्ष थप काम गर्ने अवसर विद्यार्थीले पाउँछन् । त्यो अवधिमा राम्रो क्षमता भएका जनशक्तिलाई अमेरिकाले उतै राख्छ ।
‘अमेरिकाको जीवनशैली नेपालमा छैन । पूरै सिस्टममा छ,’ उनी भन्छन्, ‘अहिले धेरैले आफ्नो परिवार नै अमेरिका ल्याउन थालेका छन् ।’
अमेरिकमा समयमै पढाइ र परीक्षा हुने भएकाले पनि विद्यार्थीको रोजाइ विदेश परेको उनको तर्क छ । ‘यहाँको विश्वविद्यालयमा बन्द हड्ताल हुँदैन । समयमै पढाइ, परीक्षा र नतिजा निस्कन्छ । कलेजको क्यालेन्डर तलमाथि हुँदैन,’ उनी भन्छन् ।
छैन सेवा सुविधा
काठमाडौं चाबहिलकी आयुष्मा कर्माचार्य १७ वर्षदेखि अमेरिकामै छिन् । उनी पनि गत वर्ष नेपाल आएकी थिइन् । नेपाल आएपछि उनको स्वास्थ्यमा समस्या आयो । अस्पतालबाट राम्रो सेवा पाउन नसकेको उनको गुनासो छ । ‘अस्पताल भर्ना भएको थिएँ । हेल्चेक्य्राईं हुने रहेछ । राम्रो स्वास्थ्य सेवा पनि छैन, किन नेपाल फर्किने ?,’ उनले प्रश्न गरिन् । त्यसपछि उनी अमेरिका नै फर्किइन् ।
यतिबेला उनको सबै परिवार अमेरिका पुगेको छ । ‘अब नेपाल बस्ने, काम गर्नेगरी फर्किने सम्भावना छैन,’ उनले भनिन्, ‘सबैलाई राम्रो ठाउँमा बस्न मन लाग्छ । त्यसैले फर्किन चाहँदैनन् ।’
नेपालमा काम पाउन कठिन भएकाले पनि फर्किन नचाहेको उनले बताइन् । ‘अमेरिकामा अनलाइनमा सर्च गरेर काम पाएँ । नेपालमा काम पाउन के–के गर्नुपर्छ । कति जनलाई भन्नुपर्छ,’ उनले भनिन् ।
*** ***
काठमाडौं जोरपाटीका दिननाथ अधिकारी १७ वर्षदेखि जापानमा छन् । उनी पनि उच्च शिक्षाको लागि विद्यार्थी भिसामा जापान गएका थिए । तर अध्ययन सकेपछि उनले ‘वर्किङ’ भिसा लिए । हाल जापानमा उनी व्यवसाय गरिरहेका छन् ।
‘सामान्य काम गरेपनि महिनाको डेढ दुई लाख कमाइ हुन्छ । तर खर्च पनि उत्तिकै हुन्छ । जीवन शैली यता राम्रो छ,’ उनी भन्छन्, ‘पढ्दै काम गर्न सकिन्छ ।’
अध्ययन सकेपछि वर्किङ भिसा लिन सकिने भएकाले विद्यार्थी फर्किन नचाहेको उनको अनुभव छ । ‘यता धेरै नेपाली भइसके । काम खोज्ने मिडियटर पनि हुन्छ । कति काम गर्ने भन्ने मात्र हो,’ उनी भन्छन्, ‘धैर्य गर्यो भने एक दुई वर्षमा राम्रो हुन्छ । राम्रो क्षमता भएकोलाई यता अवसर मिल्छ ।’
सरोकारवाला निकायका अधिकारीहरू नेपालमा भन्दा उतै अवसर भएकाले विद्यार्थी नफर्किएकोमा सहमत छन् । ‘उच्च शिक्षापछि ज्ञान र सीप लिएर पर्किनुपर्ने हो । तर पढाइसकेपछि दुई–तीन वर्ष काम गर्न पाइन्छ । त्यो अवधिमा अधिकांश विद्यार्थीले पीआरको प्रक्रिया अगाडि बढाउने गरेका छन् । ‘पीआर पाएपछि उतै बस्छन्,’ ‘द नेक्सट’ कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत शालिकराम भण्डारी भन्छन् ।
अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीका निर्देशक असीम मैनाली विद्यार्थीले पढ्दै काम पनि गर्न पाउने भएकाले नेपाल फर्किन नचाहेको बताउँछन् ।
‘कतिपय विश्वविद्यालयले विद्यार्थीलाई बिदाको समयमा काम गर्न दिने गरेको छ । काम पनि गरेका छन् । डिग्री पनि लिएका छन्,’ उनी भन्छन् ‘डिग्री हातमा परेपछि राम्रो ठाउँमा कामको अवसर विद्यार्थीले उतै पाउँछन्, नेपाल फर्किन चाहँदैनन् ।’
फर्काउन के गर्ने ?
ज्ञान र सीप लिन गएका विद्यार्थीलाई नेपाल फर्काउन जटिल रहेको विज्ञहरू बताउँछन् । ‘फिर्ता ल्याउन राज्यले अवसरको बाटो देखाउनुपर्छ । उताको भन्दा राम्रो अवसर भयो भने फिर्ता ल्याउन सम्भव छ,’ विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारी भन्छन् ।
राम्रो अवसर भएमा आफूहरू फर्किन तयार रहेको विद्यार्थीहरू बताउँछन् । ‘धेरै विद्यार्थी सीप लिएर फर्किन चाहन्छन् । आफ्नो परिवारसँग बस्न पाए को विदेश बस्छ,’ जापानमा रहेका अधिकारी भन्छन्, ‘श्रम अनुसारको मूल्य नेपालमा हुने हो भने आफ्नै देशमा फर्किन सकिन्छ ।’
विद्यार्थीसँगै पैसा पनि बाहिरियो
उच्च शिक्षा अध्ययनको लागि बाहिरने विद्यार्थीको संख्या बर्सेनी बढिरहेको छ । शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १२ हजार वटा अध्ययन अनुमति पत्र (एनओसी) विद्यार्थीले लिएका छन् ।
यही आर्थिक वर्षमा राष्ट्र बैंकका अनुसार उच्च शिक्षामा १ खर्ब २५ अर्ब बढी रकम बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षमा १ लाख १० हजार वटा एनओसी विद्यार्थीले लिएका थिए ।
सोही वर्ष १ खर्ब २२ करोड रकम बाहिरिएको थियो । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असोजम्म मात्र २७ हजार बढी एनओसी विद्यार्थीले लिएका छन् । यो अवधिमा राष्ट्र बैंकका अनुसार ३७ अर्ब ७२ करोड रकम बाहिरिएको छ । यसरी विद्यार्थीसँगै नेपालबाट मोटो बाहिरिएको छ ।
विदेशी देशहरूको आम्दानीको स्रोत नै अन्तर्राष्ट्रिय विद्यार्थी बनेको छ । ‘अष्ट्रेलिया धानेकै अन्तर्राष्ट्रिय विद्यार्थीले हो,’ दिपिका भन्छिन्, ‘कोभिडपछि धेरै विद्यार्थीको भिसा लाग्यो । अहिले कमलाई दिएको छ । ६–६ महिनामा नीति परिवर्तन हुन्छ । मापदण्ड पूरा भएपछि फेरि खुलाउँछ,’ उनी भन्छिन् ।
विद्यार्थी विदेशिनेक्रम बढ्दा नेपालका विश्वविद्यालयमा विद्यार्थीको संख्या न्यून हुने जोखिम बढेको छ । विद्यार्थीले उच्च शिक्षाको लागि नेपालमा भर्ना गर्ने र भिसा लागेपछि छोडेर जाने गरेको पाइएको छ ।
विश्वविद्यालय अनुदान आयोगको अनुसार नेपालमा उच्च शिक्षामा ६ लाख ३३ हजार विद्यार्थी अध्ययनरत छन् । समयमा कक्षा, परीक्षा र नतिजा निकाल्ने हो भने पनि विद्यार्थीलाई नेपालमै राख्न सकिने बताउँछन् आयोगका अध्यक्ष प्राडा अधिकारी ।
‘४ वर्षको कोर्सलाई ६ वर्ष लगाएको स्थिति छ । क्यालेन्डर बनाएर समयमा काम भयो भने विद्यार्थीलाई होल्ड गर्न सकिन्छ,’ उनले भने ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर