#समाचार

एनपीएलको उपाधिबाट सुदूरपश्चिम एक कदम टाढा – Online Khabar

३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि प्रतिस्पर्धा गर्ने एक टोलीको टुंगो लागेको छ । प्रतियोगितामा हालसम्म एक खेलमा मात्र पराजित टोली सुदूरपश्चिम रोएल्सले फाइनलको यात्रा तय गरेको छ ।

बुधबारको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुगेको सुदूरपश्चिम अब एनपीएलको उपाधिबाट अब मात्र एक कदम टाढा छ । पहिलो क्‍वालिफायर जितेसँगै सुदूरले अब फाइनलअघि २ दिनको ग्याप पनि पाएको छ ।

बुधबार दिउँसो भएको खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरले फाइनलमा स्थान पक्का गर्‍यो । जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरले ९ बल अगावै २ विकेटको क्षतिमा पूरा गर्यो । सुदूरका लागि ओपनर विनोद भण्डारीले अविजित रहँदै सर्वाधिक ५८ रन बनाउँदा अर्का ओपनर सेफ अली जैबले ३२ रन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले नटआउट २० रन बनाए ।

त्यसअघि टस हारेर पहिले बलिङ गरेको सुदूरले जनकपुरलाई १३९-९ मा रोकेको थियो । जनकपुरका लागि जिमी नीशमले सर्वाधिक ४५ रन बनाए भने शुभ कंसाकारले २६ रन बनाएका थिए । जनकपुरलाई ‘पार स्कोर’ भन्दा कममै रोक्न सुदूरका कप्तान दिपेन्द्रले ३ विकट तथा सेफ जैबले २ विकेट लिएका थिए ।

विनोदबाट आएको महत्वपूर्ण पारी

नेपालको ए टिमका कप्तान रहेका तथा राष्ट्रिय टिमबाट पनि खेलिसकेका विकेटकिपर विनोद भण्डारीले बुधबारको जितमा म्याच विनिङ पारी खेले । उनले सुरूवातदेखि नै बाउन्ड्रीदेखि सिङ्गल डबल खेल्दै सुदूरको रनगति सन्तुलित राखेका थिए ।

विनोदले हालसम्म एक-दुई खेलबाहेक ओपनिङमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले ८ खेलमा २३, ३५, १७, १०, ३३, १४, ४ र ५८* को स्कोरसहित कुल १९४ रन बनाएका छन् । उनले ओपनर सेफ अली जैबसँग मिलेर राम्रो ओपनिङ साझेदारी दिलाइरहेका छन् ‌।

केही खेलमा राम्रो सुरूवात पाएर पनि ठुलो रुप दिन नसकेका विनोदले आज भने आफ्नो इनिङलाई ठुलो इनिङमा कन्भर्ट गरे। उनकै अर्धशतकको मद्दतले सुदूरले जनकपुरलाई हराएर सिधै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

नेपाली ओपनर ब्याटरहरू संघर्ष गरिरहँदा विनोदको ब्याटबाट भने रन बनिरहेको छ । विशेषगरी अब टी२० विश्वकप छनोट पनि नजिकिँदै छ  राष्ट्रिय टिममा उनको पुनरागमन हुन पनि सक्छ । यसबारेमा उनीसँग कुर गर्दा भने उनी हाललाई अरू बाहिरी कुरा केही नसोचेको बताए । ‘मलाई चाहिँ अब भित्र गेम खेल्न जाँदा अरू केही सोचेको हुन्न, जति खेल्छु त्यसमै रमाइरहेको छु’ उनले भने ।

दिपेन्द्रको कप्तानीसँगै प्रदर्शन पनि राम्रो भएको विनोदले प्रतिक्रिया दिए । ‘दिपेन्द्र अहिलेको अवस्थामा नेपालको उत्कृष्ट खेलाडी हो । उसको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष राम्रो छ’ उनले भने, ‘कप्तानी त उसले पहिलेदेखि नै गरेको हो पुलिस क्लबतिर पनि, अहिले एनपीएल पनि भयो उसलाई अनुभव नि भइसकेको छ । उसले कप्तानी निरन्तरता नै दिन्छ जस्तो लाग्छ।’

प्रतियोगिता सुरूवात हुनुअघि टिम केही कमजोर भएजस्तो लागेपनि विदेशी खेलाडीको आगमनले टिम सन्तुलित देखिएको विनोदको भनाइ थियो । टिमको आवश्यकताअनुसार नै विदेशी खेलाडी फिट भएको बताउँदै उनले एनपीएल जित्न टिम सक्षम रहेको बताए ।

उता कर्णालीसँगको अन्तिम लिग खेलपछि दिपेन्द्रले पनि सुदूरपश्चिमको टिम राम्रो भएको बताउँदै सुरूवातदेखि नै उपाधि जित्ने लक्ष्य भएको बताएका थिए ।

जनकपुरलाई अर्को मौका

लिग चरणका सुरूवाती चार खेलमा लगातार जित निकालेको जनकपुरले त्यसपछि सुदूरसँगै ७२ रनको फराकिलो हार ब्यहोरेको थियो । उक्त हारपछि जनकपुरको फर्ममा धक्का लागेको देखिएको छ ।

जनकपुर शीर्ष दुईमा परेर प्लेअफ खेलेको भएपनि सुरूवातको कस्तो प्रदर्शन हुन सकिरहेको छैन । जनकपुरका टप अर्डर निरन्तर रूपमा संघर्ष गरिरहेका छन् ।

बुधबारको पहिलो क्वालिफायर खेलमा पनि जनकपुरको ओपनिङ राम्रो हुन सकेन । लाहिरु मिलान्था र कप्तान आसिफ शेख सस्तैमा आउट भएका थिए । शुभ कंसाकारले केहीबेर राम्रो इनिङ खेलेको भएपनि उनी आफ्नै गल्तीले रनआउट हुन पुगे ।

त्यसपछि जिमी नीशमले ठुला शटहरू खेल्दै टिमको स्कोर १३९ सम्म पुर्‍याउन भूमिका खेले । तर उक्त स्कोर जितका लागि भने पर्याप्त हुन सकेन । जनकपुर ब्याटिङ अर्डर मिलाउनमा चुकेको थियो ।

चोटका कारण कप्तान तथा ओपनर अनिल शाह टिमबाहिर रहेपछि नेपाली यू-१९ टिमका ओपनर आकाश त्रिपाठीले खेलमा मौका पाएका थिए तर उनलाई ओपनिङ गराइएको थिएन । त्यसैगरी अरनिको यादवलाई ३ विकेट डाउनमा ब्याटिङ गर्न पठाउनु पनि कहिँ न कहिँ गलत साबित भयो ।

खेलपछि कप्तान आसिफ शेखले पनि ब्याटिङमा मिडल अर्डरमा केही स्लो भएको बताएका थिए । ‘मिडल अर्डरमा एकजना कोहीले स्टेप अप गर्नुपर्थ्यो त्यो हुन सकेन । अरनिकोलाई माथि पठाउनुको कारण चाहिँ हामीले लेफ्ट/राइट कम्बिनेशन खोजेको भएर हो’ उनले भनेका थिए ।

जनकपुरले आकाश त्रिपाठी र आसिफलाई ओपन गराएर मिलान्थालाई १ डाउन, थाकरलाई २ डाउन र त्यसपछि शुभ, नीशम, मोहसिन र अरनिकोलाई अवस्थाअनुसार ब्याटिङ गराउन सक्छ ।

जनकपुरलाई पराजित भएपनि फाइनल पुग्ने अर्को मौका छ। बिहीबार हुने दोस्रो क्‍वालिफायर खेलमा कर्णाली याक्ससँग जनकपुरले खेल्ने छ । उक्त खेलको विजेताले शनिबार सुदूरपश्चिमसँग फाइनल खेल्ने छ । कप्तान आसिफ शेखले फाइनलमा फेरि सुदूरपश्चिमलाई भेटेर पराजित गर्नेमा आशावादी रहेको बताए ।

कर्णालीको लय, चितवन नकआउट

बुधबार नै भएको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै प्लेअफको दोस्रो क्‍वालिफायरमा स्थान बनाएको छ भने चितवन बाहिरिएको छ ।

कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सकेको थियो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले जयकिसन कोल्सावाला र विलियम बोसिस्टोको अर्धशतकमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले सर्वाधिक ५३ रन बनाए भने बोसिस्टोले ५२ रन बनाए । चाडविक वाल्टनले अविजित ४६ रन जोडे ।

विहानी समयमा १७६ रनको लक्ष्य पछ्याएको चितवनका लागि आज ब्याटिङमा बोपारालाई अन्यले भरपर्दो साथ दिएनन् । सुरूवातदेखि नै विकेट गुमाइरहेको अवस्थामा बोपाराले आश देखाएपनि अन्यबाट उल्लेख्य योगदान नहुँदा चितवनले हार व्यहोर्दै बाहिरियो ।

यता कोल्सावालाको आगमनले कर्णालीको ब्याटिङ मजबुत बनाएको छ । विशेषगरी उनले आजको खेलमा आउनेबित्तिकै अर्धशतक प्रहार गरे । उनलाई नेपालमा यसअघि पनि खेलेको अनुभव छ । उनले राम्रो सुरूवात दिलाउँदा मिडल अर्डरमा ब्याटरलाई दबाब कम हुन्छ ।

प्रतियोगिताका अन्य खेलमा कर्णालीको ब्याटिङ कमजोर देखिएपनि आजको खेलमा भने ब्याटिङ बलियो देखिएको थियो । यसले कर्णाली अब लयमा फर्किएको बुझ्न सकिन्छ । खेलपछि कर्णालीका कप्तान सोमपाल कामीले पनि अब प्लेअफका खेल आफूहरूका लागि नयाँ प्रतियोगिताजस्तो सोचेर खेलेको बताएका थिए । ‘हाम्रो लागि पछिल्लो २ हप्ता जस्तो खेलेको भएपनि अब चाहिँ एउटा नयाँ प्रतियोगिता जस्तो छ, त्यस्तै सोचेर खेलेका छौं’ उनले भने ।

कोल्सावालालाई प्लेअफका बेला अनुबन्ध गरेको बारेमा कुरा गर्दै उनले भने, ‘उहाँसँग हामी सम्पर्कमै थियौं र उहाँलाई बोलायौं, त्यसपछि लाई जुन भूमिकामा ल्याइएको थियो त्यसैअनुसार प्रदर्शन पनि भयो।’

फाइनलको सम्भावनाबारे प्रश्नमा सोमपालले सुरूवातदेखि नै आफूहरूले फाइनल खेल्ने सम्भावना भएको बताउँदै रमाइलो माहोल बनाएका थिए । ‘फाइनलको सम्भावना सुरूदेखि नै देखिरहेको थिएँ’ उनले भने, ‘यहाँसम्म आइपुग्दा एकदमै खुसी लागेको छ, बलरहरूले राम्रो प्रदर्शन गर्दै यहाँसम्म ल्याएका छन्, अब दुई खेल बाँकी छ त्यसमा राम्रो गर्छौं।’

यसैगरी पराजित टोली चितवनका प्रशिक्षक उमेश पटवालले लक्ष्य ठीकै भएपनि ब्याटिङ राम्रो नभएको बताएका थिए । उनले एनपीएलका कारण नेपाली क्रिकेटलाई नै धेरै सहयोग पुगेको बताउँदै भविष्यमा नेपालले टेस्ट मान्यता समेत पाउनेमा विश्वास व्यक्त गरेका थिए । उनले एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्न सक्ने अनुमान गरे ।

अब एनपीएलमा दोस्रो क्‍वालिफायर खेल बिहीबार दिउँसो कर्णाली र जनकपुरबीच हुनेछ । लिग चरणमा जनकपुरले जित हात पारेको थियो । अब कर्णालीको लयसामू जनकपुरको धर्मराउँदो फर्मलाई ब्यालेन्समा ल्याउनुपर्ने हुन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *