अबोध पशुको चीत्कार सुनेपछि तामसिक आहार त्यागें – Online Khabar
एक पटकको कुरो हो । घरमा कोही नभएको बेला बाकसभित्र लामो हात गर्ने क्रममा मैले एउटा पुस्तक फेला पारेको थिएँ । पुस्तकको पानाभित्र ठाउँ–ठाउँमा अत्यन्त सुन्दर चित्रहरू थिए । केही चित्र त विचित्रका थिए, देख्दै डरलाग्दा ।
अजङ्गको शरीर, शरीरभरि सिउँडीका जस्ता काँडा र अस्वाभाविक रूपमा उम्रेका भुत्लाहरू, अर्धनग्न, हातमा खुँडा, खुकुरी र तरबार लिएका, लामा–लामा दाह्री र जुँगा पालेका, हात्तीका जस्ता दाह्रा निस्केका, घाँटीमा अनेकौं आकृतिका डल्ला (खप्पर) र सर्पको माला भिरेका, पिंडालु जस्ता पिंडुला, अनि टाउकोमा सिङ उम्रिएका ।
तल आगोको लप्का, माथि ठूला–ठूला कराहीमा तेल भकभकी उम्लिएको, त्यही तेलमा जिउँदो मानिसलाई नाङ्गेझार पारेर चार हातखुट्टा झुण्ड्याउँदै–झ्याइँकुटी पार्दै चोपलेका, कसैलाई घोप्टो पारेर नाङ्गो छातीमा आरा र करौंतीले रेटेको, अश्लील शब्द प्रयोग गर्दै ललकार्दै कोर्रा बर्साइरहेका, चरम यातनाका कारण ‘लौन मरें नि’ भन्दै विलौना गर्दै रोएको र चिच्याएको दृश्यहरू किताबका पानाहरूमा प्रतिबिम्बित थियो । मानौं त्यहाँ जे भइरहेको थियो त्यो पटक्कै राम्रो भइरहेको थिएन ।
त्यति मात्र होइन ! अर्कोतिर, लामा लामा नङ पालेका, केश फिंजारिका, भद्दा शरीर जो मुख बाउँदै, आगो ओकल्दै, जिब्रो लपलपाउँदै दैत्य नृत्य प्रदर्शन गर्दै थिए । त्यहाँ स्त्रीदहरूको स्तन र भग क्षेत्रमा तिखा सुइरा र भाला रोपेका, करौंतीले रेटेका, छाला काढेर नून र खुर्सानी दल्दै गरेका दृश्यहरू समाहित थिए । कठोर यातना खप्न नसकेर अवला स्त्रीहरू अनेकौं विलाप गर्दै थिए । तर उनीहरूको विलौना सुन्ने त्यहाँ कोही थिएन ।
विधाताको नियम पनि कति कठोर ! शायद यो एउटा कठोर सजाय भोग्नकै लागि बनाइएको ‘यातनागृह’ थियो अर्थात् ‘नरक’ ।
मेरो बालसुलभ जिज्ञासालाई शान्त पार्ने क्रममा बाले भन्नुभएको थियो– ‘राम्रा र सुन्दर तस्वीरहरू देवी–देउताका हुन् भने अरू चाहिं भूत र राक्षसका ।’
मैले पुनः जिज्ञासा राखेको थिएँ– ‘बा ! यी देवीदेउता, भूत र राक्षसहरू कहाँ बस्छन्, के खान्छन् ? के यिनीहरूसँग हामीले भेट गर्न मिल्दैन ?’
बाले सम्झाउँदै भन्नुहुन्थ्यो– ‘तँ अहिले सानै छस्, ठूलो भएपछि विस्तारै बुझ्छस्÷बुझ्नेछस्, अहिले चुप लागेर सुत ।’
मैले त्यसबेला भनेको थिएँ रे– ‘ती राक्षसहरूलाई म अहिले नै लखेट्छु । नत्र त राति सपनामा आउन सक्दछन् !’
बा भन्नुहुन्थ्यो– ‘तँ अलि जिद्दी र निडर स्वभावको थिइस् । कहिलेकाहीं त ढोकाको आग्लो नै निकालेर राक्षस लखेट्न जान्थिस् । अन्याय पटक्कै सहन्थिनस् ।’
मलाई अहिले जस्तो लाग्छ त्यो क्षण । बालाई असाध्यै सम्झिएको थिएँ, भक्कानिएको थिएँ । यो विशाल मानव भीडमा मैले बाको नितान्त अभावको महसुस गरेको थिएँ । अनायासै आँखा रसाएका थिए, मेरा ।
…………….
झण्डै एक हजार बिघा बराबरको क्षेत्रफल, चारैतिर खुला फाँट, नाङ्गो खेत, साँघुरो सडक, एउटा पातलो बस्ती अर्थात् बारा जिल्ला वडा नं १ अन्तर्गत बरियारपुर । बरियारपुरको झण्डै मध्यभागमा अवस्थित होचो कदको पूर्वी मोहडा भएको एउटा सुन्दर आकृतियुक्त मन्दिर ‘गढीमाई’ जो करोडौं मानिसको आस्थाकी प्रतिमूर्ति थिइन् – छिन् । र, मन्दिरदेखि उत्तरपूर्व, करीब आधा कि.मी.को दूरी, चारैतिर इँटाले बनेको नाङ्गो पर्खाल र सोही पर्खालले घेरिएको एउटा निश्चित भूभाग अर्थात् ‘वधशाला’ जहाँ बलिका निम्ति दिनहुँ हजारौंको संख्यामा पशुहरू (राँगा र भैंसी) भित्र्याइँदै थियो ।
वाफ रे ! जता हे¥यो मान्छेको घुइँचो । मान्छेमाथि मान्छे । तोरीको गेडो अट्ने ठाउँ थिएन । खेतका नाङ्गा गराहरू समेत भरिभराउ थिए । मैले पहिलो पटक देखेको थिएँ यो विशाल मानव भीड । मानौं यो मान्छेहरूको समुद्र थियो अर्थात् मानव सागर ।
अचानक ! मानिसहरूको एक हूल उत्तरतर्फ सोहोरियो, सलह झैं । म पनि भीडको पछि लागें ।
एम्बुलेन्स हुइँहुइँ । चारैतिर कोकोहोलो । कोलाहल । उथुलपुथुल । चीत्कार । खैलाबैला । भागदौड । अस्तव्यस्त । मानौं त्यहाँ कुनै अप्रत्याशित दुर्घटना भएको हुनुपर्दछ ।
भएको के थियो भन्दा वधशालामा पशुवध गर्दै गर्दा ‘रणवीर’ नामक राँगोले एक जना वधिकको छातीमा सिङले उधिनेर पर्खालको भित्तामा टाँसिदिएछ, पानीटेप झैं । जसले गर्दा वधशालामा ठूलै भूकम्प गएको थियो । परकम्पनको त के कुरो !
पशुवधको रमिता हेर्न पर्खालको चारैतिर जम्मा भएका मानिसको बाक्लो उपस्थिति एकै छिनमा छिन्नभिन्न भएको थियो ।
म वधशालाको एउटा कुनामा लुकेर रमिता हेर्न थालें, जुन मेरो गढीमाई दर्शनको मुख्य लक्ष्य थियो ।
झण्डै एक हजार जनाको संख्यामा नियुक्त वधिकहरू पशुवधको लागि आतुर थिए । प्रत्येकको हातमा धारिलो खुँडा, खुकुरी र तरबार थियो । उनीहरूको वलिष्ठ शरीर, बोली र व्यवहार पनि माथि दन्त्यकथामा वर्णित हाउभाउसँग ठ्याक्कै मेल खाने खालको थियो ।
ठण्डी मौसम । धमिलो वातावरण । धुम्म परेको आकाश । शीतलहर । चारैतिर हुस्सु र कुहिरोको सन्नाटा । आकाशबाट विस्तारै घामका किरणहरू धर्तीमा स्पर्शको सङ्केत ।
वधशालाभित्र महाभारतकालीन युद्धको झझल्को दिने गरी एकसुरे शङ्ख बज्यो, सुन्दै नमीठो-कर्कशयुक्त ।
शङ्ख बज्नासाथ वधिकहरू निकै स्फूर्तिका साथ हातमा आफूलाई तोकिएका हतियार लिएर वधशालामा प्रवेश गरे । लगत्तै उनीहरूले पशुहरूको वध गर्न शुरू गरे । सामुन्नेमा जुन जुन पशु भेटिन्थ्यो उही पशुको गर्धन छिनाल्न थाले ।
कोभन्दा को कम ? गर्धन छिनाल्न त्यति सजिलो थिएन । जब उनीहरूले गर्धनमा निशाना ताक्न शुरू गर्दथे तब केही पशुहरू चलमलाउँथे जसले गर्दा निशाना चुक्थ्यो । उनीहरूले फेरि निशाना सोझ्याउँथे । पशु एक चित्त भई भुईंको पराल थुतुनोले टिप्न लाग्दालाग्दै वधिकहरूले धारिलो हतियार प्रहार गरिसकेका हुन्थे ।
कहिलेकाहीं गलत ठाउँमा निशाना परेको कारण पशु अर्धचोटको रन्थनाहाले भुईंमा डङ्ग्रङ्ग ढल्थे, पछारिन्थे, बजारिन्थे । कैयौं पशु असह्य वेदनाले ‘ब्वाँ ब्वाँ’ गरेर कराउँथे, छट्पटाउँथे, रुन्थे । थप चोटको प्रहार सेलाउन झण्डै आधा घन्टा लाग्दथ्यो । त्यति बेलासम्म अर्को पशुको शरीर एकातिर र धड अर्कैतिर भइसकेको हुन्थ्यो । कुनै पशुहरू तनक्क खुट्टा तन्काउँथे र अन्तिम एक मुठ्ठी सास भुईंमा विसर्जन गर्दथे ।
आखिर जीवन फगत एक मुठ्ठी सास न रहेछ । संसार भन्नु एक मुठ्ठी सासको लीला न रहेछ । मैले जीवनमा पहिलो पटक पशुको आँखामा आँशु यहीं देखेको थिएँ । मेरो पनि आँखमा आँशु बगिरहेको थियो । तर म विवश र लाचार थिएँ ।
मनमा नमीठो वैराग्य उत्पन्न भयो । हे भगवान् ! आखिर तिमीले यो कस्तो प्राणीको रचना ग¥यौ ? नजिकैको साथी भुईंमा डङ्ग्रङ्ग पछारिंदा पनि ‘अब मेरो पनि पालो आउँदैछ’ भन्ने कुराको समेत कुनै हेक्का एवं महसुस नहुने कति सुधो प्राणी ! जसको नाम नै ‘पशु’ !
बचेखुचेका पशुहरू ट्वाँ परेर उभिइरहेका थिए । त्यही मौकाको फाइदा उठाएर वधिकहरू पशुको गर्धन छिनाल्थे र आफैंले आफूलाई अब्बल निशानबाज घोषित गर्दथे ।
म लुकेर त्यहाँको सम्पूर्ण दृश्य नियालिरहेको थिएँ आँखा झिमिक्क नगरिकन । हजारौं संख्यामा अबोध प्राणीहरूको वध भइसकेको थियो । वधशाला रगतको आहालले चुर्लुम्म डुबेको थियो । अब थोरै संख्या मात्र थियो जसलाई वध गर्न बाँकी नै थियो ।
एक जना वधिक (वधिकहरूको नाइके) ‘जंगे’ नाम गरेको एउटा खाइलाग्दो राँगोमाथि जाइलाग्यो । उसले जंगेको गर्धनमाथि ताकेको निशाना अचानक चुक्न गयो जसले गर्दा निशाना सिङमा गएर अल्झियो । राँगोले उसलाई लखेट्दै पर्खालको कुनातिर पु¥याउन के लागेको थियो ऊ अकस्मात् राँगाको पञ्जाबाट बचेर म भएतिरै आइपुग्यो ।
मलाई त्यहाँ लुकेको देख्ने बित्तिकै उसले टाढाबाटै खुँडाको झटारो हान्यो । रगत लत्पतिएको खुँडा मेरो घुँडाभन्दा तल भुईंमा गएर बज्रियो । खुकुरी प्रहार गरेको भए मेरो कुरीमा लाग्दथ्यो जसले गर्दा म ठाउँको ठाउँ खुत्रुक्क भइसकेको हुनेथिएँ । म वाल वाल बचें । आफूमाथि सांघातिक आक्रमण भएकोले म त्यहाँबाट कुलेलम् ठोकें ।
म ज्यान जोगाउन गढीमाई मन्दिरभित्र प्रवेश गरें र तत्काल गढीमाईको शरण परें ।
…………………
मैले त्यसै बखत गढीमाई साक्षी कठोर सङ्कल्प गरें– ‘हे देवी ! तिम्रो आँगन अगाडि मानिसहरूले निरीह पशुमाथि क्रूरतापूर्वक शस्त्र चलाएका छन्, चलाउन् । तर म निरस्त्र आध्यात्मिक ज्ञानरूपी अस्त्र ‘कलम’ चलाउनेछु र आर्तहरूका घाउमा मल्हम लगाउनेछु । पशुका भावी सन्ततिहरूको कल्याणको निम्ति यथाशक्य प्रयत्न गर्नेछु । र, म आजैबाट मांसहार प्रवृत्तिलाई त्यागेर शाकहारी जीवन ग्रहण गर्दछु ।’
मैले मांसहार त्यागें अर्थात् मांसहार जीवनबाट सन्न्यास ग्रहण गरें, सदाको लागि । हठात् मैले राति एउटा डरलाग्दो सपना देखें ।
सपनामा एउटा वधिक आयो मलाई आक्रमण गर्न । ऊ छद्म भेषमा आएको थियो । ऊ त्यही वधिकहरूको ‘नाइके’ थियो जसले मलाई वधशालामा खुँडा प्रहार गरेको थियो । एकाएक हाम्रो कुस्ती चल्यो ।
म पनि के कम ? मेरो कुस्तीको अगाडि उसको चुस्तीको केही सीप लागेन । वधशालाभित्र सुर्ती खाँदै फुर्ती प्रदर्शन गरेको उसको स्फुर्ती सबै सेलायो, क्षणभरमै । म उसको हातबाट खुँडा खोस्न सफल भएँ । ऊ भाग्न थाल्यो । ऊ अघि अघि, म पछि पछि । म उसलाई लखेट्दै गएँ । ऊ गढीमाई मन्दिरभित्र गएर लुक्यो । म बाहिर बसेर उसलाई ढुक्न थालें ।
ठीक त्यही समय ! अकस्मात् एउटा आकाशवाणी भयो– ‘हे मनुष्यहरू हो ! तिमीहरूले मेरो घोर अपमान ग¥यौं । कञ्चटमा रगत लत्पतिएको एउटा मानिस मेरो मन्दिरभित्र लुकेर बसेको छ जसले गर्दा मलाई असह्य भइरहेको छ । उसलाई यहाँबाट तुरून्त निकाल । मलाई कुनै पनि प्राणीको बलि स्वीकार्य छैन । सबै प्राणी मेरा सन्तति हुन् । पशुबलि चाँडोभन्दा चाँडो अन्त्य गर । अन्यथा म श्राप दिन बाध्य हुनेछु ।’
त्यो व्यक्ति फुत्त बाहिर निस्कियो । मानिसहरू ‘चोर चोर’ भन्दै उसलाई लखेट्न थाले । ऊ कतै लुक्ने ठाउँ नपाएपछि बाध्य भएर वधशालाभित्र छि¥यो । वधिकहरूको नाइके अचानक वधशालाभित्र प्रवेश गरेको जंगेले देख्यो जसलाई उसले घाइते बनाएको थियो । जंगे उसलाई देख्ने बित्तिकै जुरुक्क उठ्यो, मुर्मुरिंदै । नाइकेलाई खेद्दै लगेर वधशालाको मध्यभागमा सिङले घोची–घोची मा¥यो । आफू पनि म¥यो ।
अन्ततः दुवै प्राणीले शहादत प्राप्त गरे । म झसङ्ग ब्युँझिएँ निद्राबाट । भोलिपल्ट ! गढीमाईको मेला समापन भयो ।
भनियो– ‘यसपालि मेला शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो । कुनै पनि अप्रिय तथा अनिष्ट घटना भएन अर्थात् हुन पाएन ।’
मानिसहरू लाखापाखा लागिसकेका थिए । वधशालाभित्र पशुका लासहरू यत्रतत्र छरपस्ट थिए । मानिसहरूको एउटा जत्था वधशालामा केही चीज हराए झैं खोजी गरिरहेका थिए । स्याल र ब्वाँसोहरूले मरेका केही पशुहरूको पिठ्युँ लुछिरहेका थिए । त्योभन्दा अलि पर एक हूल मानिसहरू एउटा पशुको शवलाई जबरजस्ती घिसार्दै थिए । सयौंको संख्यामा गिद्ध र कागहरू मानिसमाथि झम्टिरहेका थिए, हाम्रो आहारा खोस्यो भनेर । सबभन्दा आश्चर्य त यही थियो कि मृत पशुलाई तीनतिरबाट तीन वटा समूह एकैसाथ हस्तक्षेप गरिरहेका थिए– मानिस, गिद्ध र काग ।
बस्तीमा महामारी फैलन सक्ने सम्भावना भएकोले आधा दर्जन स्काभेटर र डोजर मगाएको थियो । पशुका सम्पूर्ण लाशहरू खाल्डोमा पुरिए ।
वधशालाको पर्खाल भने यथावत् थियो । पशुवध-बलिप्रथाको दृढ समर्थनमा उभिएको वधशालाको पर्खाल भत्काउने विषयमा कसैले सोचेनन् । निरीह पशुहरूको आँशु, पशुबलिको रगत र पापले मुछिएको पर्खाल सधैंको लागि भत्काउने हिम्मत गर्न कसैले सकेन । सबै जना तैं चुप मै चुप !
म थाकेर, पाकेर घर आइपुगें । मलाई पशुको रगतले डुबेको वधशालाले पछ्याइरहेको थियो । म रातभर निदाउन सकिरहेको थिइनँ । म बिस्तरामा पल्टिएर सोच्न थालें– पशुवध तथा बलि प्रथालाई मुक्ति गर्ने जुक्ति के होला, जसले मांसहार प्रवृत्तिको थुतुनो सदाका लागि बन्द गर्न सकियोस् ?’ के यो सम्भव छ ?
मांसहार त्याग्नु पनि कलियुगको लागि एउटा कठिन तपस्या हो । मानिसले चाहेमा एकै झट्कामा फड्को मार्न सक्दछ । छलाङ मार्न सक्छ । तर सबैले जँघार तर्न सक्दैनन् । यो जँघार तर्नको लागि पहिले आफ्नो मांसहारजन्य इच्छाको वध गर्न सक्नुपर्दछ जुन आध्यात्मिक ज्ञान (ज्ञान र वैराग्य) बाट मात्र सम्भव छ ।
म गीताको स्मृतिमा हराउन थालें । गढीमाई मन्दिर परिसरमा पढेका कुराहरू मेरो मनमस्तिष्कमा भुमरी पर्न थाल्यो ।
हो, गीता ‘श्रीमद्भगवद्गीता यथारूप’ (प्रभुपादजीद्वारा भाष्य गरिएको) वेदपछिको पाँचौं वेद तथा संसारभरि आधिकारिक एवं प्रामाणिक वैदिक ग्रन्थको रूपमा विश्व प्रसिद्ध छ) मा मद्यपान, वेश्यावृत्ति, जुवातास र मांसहार यी चार कुराहरू पूर्णतया निषेध गरिएको छ । गीताले कुनै पनि प्रकारका बलि प्रथा वा पशुबलिलाई समर्थन गरेको छैन, गर्दैन पनि ।
गीतामा स्पष्ट भनिएको छ– ‘विनम्र साधु पुरुष आफ्नो वास्तविक ज्ञानबाट प्राप्त गुणका कारणले एउटा विद्वान् तथा विनीत ब्राह्मण, गाई, हात्ती, कुकुर तथा चाण्डाललाई पनि समान दृष्टिले हेर्दछन् ।’ – ५.१८ (कर्मयोग–कृष्णभावनामय कर्म)
अतः आत्मा तथा रक्त सम्बन्धका दृष्टिकोणले सृष्टिका सबै प्राणीहरू समान छन् । कुनै पनि प्राणीमाथि हिंसा गर्नु अपराध (पाप) हो चाहे त्यो शारीरिक रूपमा होस् वा मानसिक । अर्को कुरा ! प्रकृतिको आफ्नै विशिष्ट कानून छ । सबै प्राणीलाई आ–आफ्नो अनुशासन र आचरण (मर्यादा)मा रहन निर्देशन गरेको छ ।
प्रकृतिको कानूनले स्पष्ट तोकेको छः मान्छेको लागि अन्न, दूध र फलफूल, पशुहरूका लागि घाँस, मांसहार प्राणीको लागि मासु, सर्पको लागि भ्यागुतो, माछाको लागि लेउ, चराहरूको लागि कीरा–फट्यांग्रा, भँवरोको लागि फूलको रस, गिद्धको लागि सिनो…
शास्त्र (गीता) मा स्पष्ट भनिएको छः
– प्रत्येक प्राणी परमेश्वरको सन्तति हो र उहाँले एउटा कमिलाको हत्या भएको पनि सहनुहुन्न । यसको लागि मानिसले उपयुक्त सजाय भोग्नै पर्दछ । त्यसैले जिब्रोको स्वादको लागि पशुको हत्या गर्न रुचाउनेहरू घोर अज्ञानी हुन् । मानिसलाई पशुको हत्या गर्नुपर्ने कुनै आवश्यकता छैन किनभने उसलाई परमेश्वरले प्रशस्त राम्रा राम्रा खाद्य वस्तुहरू उपलब्ध गराउनुभएको छ । कुनै पनि कारणले यदि कोही मांसहारमा प्रवृत्त भएको छ भने सम्झिनुपर्दछ उसले अज्ञानवश यसो गरिरहेछ र आफ्नो भविष्यलाई घोर अन्धकारमय बनाइरहेछ । – पृष्ठ ५७६, श्रीमद्भगवत गीता यथारूप
तर दुर्भाग्य ! यो स्वतन्त्रताको चरम दुरुपयोग गरेर मानिस आफ्नो घुँडामा आफैं बञ्चरो प्रहार गरिरहेको छ । जबकि हामी अहिंसाका प्रवर्तक भगवान् बुद्धको देश भनेर गर्व गर्दछौं । देशले बलि प्रथालाई न पूर्ण रूपमा निषेध गर्न सकेको छ न त बुद्धपथलाई अँगाल्न ।
शायद कलियुगको प्रभावले होला आजकल प्रायः मानिसहरूमा काग प्रवृत्ति बढ्दो छ, हरेक कुरामा । काग न पूर्णतया मांसहार प्राणी हो न त शाकाहारी ।
म एउटा दृढ निष्कर्षमा आएर टुङ्गिएँ– यो संसार एउटा विशाल वधशाला हो । गढीमाईको बलि प्रथा एउटा सानो किस्सा मात्र हो । यसमा गढीमाईको के दोष ? बलि प्रथाको के दोष ? दोष त केवल ‘जिब्रो’ को हो जहाँ आफ्नो स्वादे जिब्रोलाई अघि सारेर मानिसहरू भाकल तथा बलि पूजाको बहानामा दिनदहाडै निरीह पशुपक्षीहरूको वध गर्न अभिशप्त छन् । कथित बलि पूजाको नाममा मुसो, खरायो, हाँस, परेवा र राँगोभैंसी लगायतका निरीह प्राणीहरूको वध गरेर देवीदेउता खुसी हुन्छन् भन्ने मान्यता राख्नु संसारकै सबभन्दा ठूलो धार्मिक ढोंग, भ्रम तथा अन्धविश्वासको पराकाष्ठा हो । अवोध पशुपक्षीहरूको आलो रगतमा डुबेको गढीमाईको वधशाला यसैको ज्वलन्त उदाहरण हो । यसको अन्त्य हुन जरूरी छ ।
मलाई लाग्दछ– यदि वधिकहरूको हातमा जबर्जस्त थमाइएका धारिला हतियारहरू उसकै (जसले पशुवधका लागि नियुक्ति गर्दछ-गरेको हुन्छ) गर्धनमा तेस्र्याउने हो भने संसारका कुनै पनि पशुबलि वा बलिप्रथा एकै झट्कामा समाप्त हुनेछन् । साथै, मानिसहरूको मांसहार थुतुनो पनि सदाका लागि बन्द हुनेछ । अरू कुराको किन टनटन !
अन्त्यमा, वधशाला पशु हिंसाको कालो मुटु हो । मानव शरीर स्वयं एउटा वधशाला हो । प्रत्येक मानिस शरीररूपी वधशालाका वधिक हुन् जो मद्यपान र मांसहार वृत्तिको आहालमा चुर्लुम्म डुबेका छन् । उनीहरूको छियाछिया परेको चिसो हृदयमा आध्यात्मिक एवं शाकाहाररूपी स्वस्थ मुटु प्रत्यारोपण गर्न जरूरी छ । मलाई पूर्णविश्वास छ कि एक दिन संसारका सबै प्रकारका पशुवध तथा बलिप्रथा स्वतः अन्त्य हुनेछ जब मानिसहरूले वैदिक ज्ञानलाई गम्भीरतापूर्वक आत्मसात् एवं कार्यान्वयन गर्नेछन् ।
कसैले पनि पशुवधका निम्ति पुनः धारिलो हतियार उठाउने हिम्मत कहिल्यै गर्ने छैनन्, बरू त्याग्ने छन् । जसरी महाभारतको युद्धमा अत्यन्त क्षोभ, दया, प्रेम, मानवता र करुणाले अभिभूत भएर अर्जुनको हातबाट गाण्डीव धनु अनायासै भुईंमा खसेको थियो । श्री गढीमाईकी जय !