विप्लव नेतृत्वको नेकपाले भन्यो- माओवादी उदासीन हुँदा एकता अनिश्चित बन्यो
२ पुस, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माओवादी केन्द्रको उदासीनताका कारण दुई पार्टीबीचको एकता अनिश्चित बनेको निष्कर्ष निकालेको छ ।
कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक सातासम्म बसेको बैठकले माओवादीको उदासीनतालाई कारण देखाउँदै दुई दलबीचको ध्रुवीकरण अनिश्चित बनेको ठहर गरेको हो ।
गत २७ मंसिरमा सुरु भएको केन्द्रीय समिति बैठक आज (पुस २) सकिएको छ ।
बैठकका निर्णयबारे जानकारी गराउँदै सो पार्टीका नेता अनिल शर्मा ‘विरही’ ले भने, ‘माओवादी केन्द्रको उदासीनताले नेकपा र माओवादीबीचको ध्रुवीकरण –एकता) अनिश्चित बनेको ठहर बैठकले गरेको छ ।’
त्यस्तै, बैठकले पार्टीले लिने कार्यदिशाबाट विचार संश्लेषण गर्ने निर्णय पनि गरेको छ । नेपाली मौलिकताको समाजवादलाई थप स्पष्ट पारेर चाँडै सार्वजनिक गर्ने पनि उनले बताए ।
पछिल्लो पटक माओवादीले विभिन्न वाम घटकसँग पार्टी एकताको पहल भइरहेको बताएको छ । गत २२ मंसिरमा अध्यक्ष प्रचण्डले नै एक सार्वजनिक कार्यक्रममा तीन वामपन्थी पार्टीसँग एकता पहल भइरहेको बताएका थिए ।
नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता पहल गरिरहेको छ ।
यद्यपि, एकीकृत समाजवादीको पछिल्लो बैठकले भने अहिले कुनै दलसँग एकताको पक्षमा नरहको निष्कर्ष निकालेको छ ।