त्रिविको जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीको छानबिन अख्तियार र सीआईबीले गर्ने
२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीमाथि अख्तियार र सीआईबीबाट छानबिन गर्न सिफारिस गरिएको छ ।
छानबिन समितिले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।
उक्त प्रतिवेदनमा विभिन्न समयमा बाँडफाँट भएकाले कुन पदाधिकारीले बाँडेको हो त्यसको यकिन अख्तियार र सीआईबीबाट गर्न समितिले सिफारिस गरेको हो ।
‘कुन कुन पदाधिकारीले कुन कुन समयमा बाँडेको हो अख्तियार र सीआईबीले छानबिन गर्नुपर्छ भनेको छ । यसलाई उसलाई कारबाही गर्ने भनेको छैनौं । हाम्रो प्रारम्भिक छानबिन हो,’ समितिका सदस्य जानकीबल्लभ अधिकारीले भने । उनका अनुसार त्रिविको उपत्यका बाहिर पनि थप जग्गा खोजबिन गर्नुपर्ने छ ।
समितिले सिफारिस गरेको विषय कार्यान्वयनमा लैजाने शिक्षामन्त्री विद्या भट्टराईले बताएकी छिन् । ‘अब विश्वविद्यालय, मन्त्रालय र प्रधानमन्त्री बसेर सल्लाह गर्छौं । प्रतिवेदनको कार्यान्वयन गर्छौं,’ उनले भनिन् ।
यो सँगै अख्तियार र सीआईबीलाई अनुसन्धानको बाटो खुलेको छ ।