उमेर बढेसँगै किन बदलिन्छ शरीरको गन्ध ? – Online Khabar
काठमाडौं । के तपाईंले आफ्नो नजिकै बसेको कुनै मानिसको शरीरको गन्ध सुँघेर उक्त व्यक्तिको उमेर पत्ता लगाउन सक्नुहुन्छ ?
चाहे त्यो व्यक्तिले कुनै परफ्युम नलगाएको होस्, तर उसको शरीरबाट विशेष खालको गन्ध आउँछ, जसबाट तपाईंले उसको उमेर थाहा पाउन सक्नुहुन्छ ।
यो कुनै टिकटक च्यालेन्ज होइन । एउटा यस्तो शोध गरिएको छ जसबाट सावित हुन्छ कि कुनै व्यक्तिको शरीरको प्राकृतिक गन्धको सहायताले उसको उमेर पत्ता लगाउन सकिन्छ ।
हाम्रो शरीरबाट आउने सुगन्ध सधैं एउटै हुँदैन । यो हाम्रो जीवनको विभिन्न समयमा बदलिइरहन्छ र यसमा जुन परिवर्तन आउँछ त्यसले केवल हाम्रो प्राकृतिक जीवनका बारेमा बताउने मात्र होइन सामाजिक तथा विकासात्मक झुकावका बारेमा पनि बताउँछ ।
आमाबुवाको मायालाई बलियो बनाउने बच्चाको सुगन्ध
बाल्यकालमा हाम्रो शरीरबाट आउने गन्ध आमरुपमा पसिनाको ग्रन्थी कम सक्रिय हुँदा तथा छालाका सुक्ष्म जिवाणु(माइक्रोबायोम) का कारणले गर्दा हल्का हुन्छ ।
यसका बाबजुत आमाबुवाले उक्त गन्धलाई राम्रोसँग पहिचान गर्दछन् जुन अन्य बच्चाको तुलनामा फरक हुन्छ ।
उक्त सुगन्धले आमाबुवामा सुखद तथा परिचित भावनात्मक लगाव पैदा गर्दछ र बच्चासँग खुसी तथा प्रेमको भावनालाई सक्रिय बनाएर आमाबुवामा रहेको तनावलाई कम गर्नमा पनि सहयोग पुर्याउँछ ।
तर प्रसव पश्चात् डिप्रेसनमा जाने आमाहरुले बच्चाको शरीरबाट आउने प्रभावशाली सुगन्धको प्रभावबाट बञ्चित रहन्छन् ।
पूर्णरुपमा व्यवहारिक विकासात्मक दृष्टिकोणबाट हेर्दा बच्चाबाट आउने उक्त विशेष सुगन्ध यति धेरै प्रभावशाली हुन्छ कि आमाबुवालाई आफ्ना सन्तानमाथि पैसा खर्च गर्न प्रेरित गर्दछ ।
जवान हुँदाको मानिसको गन्ध
जवानीको सुरुवातमा मानिसको शरीरमा सुगन्धमा महत्व परिवर्तन आउँछ । उक्त परिवर्तन सेक्स हार्मोन उत्पादनका कारणले गर्दा हुन्छ । जसले पसिना निकाल्ने एक्राइन ग्रन्थी र छालाको महत्वपूर्ण ग्रन्थी सेबेसियसलाई सक्रिय बनाउँछ ।
पसिना निकाल्ने अधिकांश ग्रन्थीहरुले पानी तथा नुन उत्सर्जन गर्दछन् । जबकि एपोक्राइन ग्रन्थीले प्रोटिन तथा अन्य बोसोमा आधारित बाफ बाहिर निकाल्छ ।
त्यसमध्ये हरेक ग्रन्थीले मानव शरीरभित्र एउटा सुगन्ध पैदा गर्दछ । हाम्रो शरीरभित्र रहेका चिल्लो पदार्थ तथा सेबम जस्ता पदार्थहरु तिनै ग्रन्थीबाट बाहिर आउँछन् ।
तर ब्याक्टेरियासँग मिलेर हाम्रो शरीरबाट निस्किने बासना दुर्गन्धमा बदलिन्छ । र, त्यही प्रकारले कतिपय युवाहरुको पसिना उनीहरुको शरीरको आफ्नो बासना मिलेर छुट्टै गन्ध बनाउँछ ।
शरीरको गन्धबाट बालबालिकालाई पहिचान गर्ने क्षमता आमा र बुवा दुबैमा त्यस समय कम हुन्छ जब उनीहरुका सन्तानको बाल्यकाल समाप्त हुन्छ र बच्चा पूर्णरुपमा जवानीमा प्रवेश गर्दछ ।
पहिचानमा सहयोगी
चिल्लो पदार्थ निकाल्ने सेबेसियस ग्रन्थीबाट हुने श्राव युवा अवस्थामा चरम अवस्थामा पुग्दछ । यद्यपि युवावस्थाको तुलनामा अधवैँशे उमेर हुँदासम्म त्यसको तीव्रतामा कमी आउँछ । तथापि हरेक मानिसमा उसको शरीरको विशेष दुर्गन्ध कायमै रहन्छ ।
यो भोजन, तनाव, हर्मोन तथा छालाका सुक्ष्मजीव जस्ता विभिन्न चिजमा निर्भर हुन्छ । तर जीवनभर बदलिरहने गन्धलाई यदि हामीले महसुस गर्न सकेनौँ भने त्यसको कुनै अर्थ रहँदैन ।
वास्तवमा मानिसको सुगन्ध उसका बारेमा जानकारी हासिल गर्नमा निकै उपयोगी हुन्छ, अँध्यारो र हल्लाखल्लायुक्त ठाउँमा वा प्रष्टसँग देख्न नसकिने ठाउँमा । अन्य जीवनहरुजस्तै सरीको दुर्गन्धले साथीको छनोट, नातेदारको पहिचान वा लंैगिक अन्तर थाहा पाउन सहयोग गर्दछ ।
पाको उमेरमा शरीरको गन्ध कस्तो हुन्छ ?
उमेर बढेसँगै हाम्रो छालाको लचिलोपन तथा कोलाजेनको कमीले गर्दा पसिना तथा सेबासियस ग्रन्थीको सक्रियता कम हुन्छ । त्यसको कमीका कारणले गर्दा वृद्धावस्थामा मानिसको शरीरको तापमान कायम राख्न कठीन हुन्छ ।
जहाँसम्म सेबासियस ग्रन्थीको सम्बन्ध छ, उमेर बढेसँगै यसबाट श्राव कम हुनेमात्र होइन यसको बनावटमा पनि परिवर्तन आउँछ । जसका कारण एन्टी अक्सिडेन्ट यौगिक, जस्तै भिटामिन ई वा स्कोलिनको मात्रामा कमी आउँछ ।
छालाका कोशिकाहरुबाट एन्टी अक्सिडेन्टको उत्पादनमा कमी आउँदा अक्सिडेसनको प्रक्रिया तिव्र बन्दछ । यसबाट बुढो उमेरका मानिसमा त्यस्तो गन्ध पैदा हुन्छ, जसलाई जापानी केरिशो भनिन्छ ।
त्यसप्रकारले ४० वर्षको उमेरपछि छालामा कतिपय फ्याटी अम्ल जस्तै ओमेगा सेभेन तथा पलमाइटोलिक एसिडको कामको प्रक्रियामा परिवर्तन आउँछ, जसले शरीरको गन्धलाई बदलिदिन्छ ।
कतिपय मानिसलाई यस्तो गन्ध मन नपर्न सक्दछ । तर यसले अर्कोतर्फ हामीलाई आफ्ना मातापिता वा हजुरबा हजुरआमाका यादहरुसँग जोड्दछ । बाल्यकाल जस्तै वृद्धहरुको हेरचाहमा पनि यसले सहयोग गर्दछ ।