‘रुकुम मैकोट’ फेम्ड संगीतकर्मीको अव्यक्त कथा – Online Khabar
एकफेर हल्का रमाइलो भएछ । उनी एउटा स्टुडियो पुगेका थिए, आफूले कम्पोज गरेको गीतको डेमो बोकेर । त्यहाँ गायकलाई उनले डेमो सुनाए । डेमो सुनेर गायकले केही क्षण अभ्यास गरे । त्यसपछि रेकर्डिङ सुरु भयो । डेमो सुन्दै गीत रेकर्ड गर्ने क्रम चलिरहेको थियो । अनायस रेकर्डिस्ट झसङ्ग भए जसरी सोधे, ‘खै त एसडी दाइ आएनन् ?’
उनले जवाफ फर्काए, ‘उहाँ आउनुभएन । म म्यानेजर हुँ, टेक लिन आएको ।’
रेकर्डिङ सिध्याएर उनी त्यहाँबाट हिंडे । रेकर्डिस्टले पत्तै पाएनन्, उनी नै हुन् एसडी योगी भनेर । यो कुनै दुर्लभ घटना होइन, एसडी योगीको जिन्दगानीमा । उनले पटक-पटक यस्तो स्थिति झेलेका छन् । किनभने ‘कोर टिम’ बाहेकले हम्मेसी उनलाई चिन्दैनन् । किन चिन्दैनन् ?
यसको छरितो जवाफ छ, ‘किनभने उनले आफूलाई चिनाउन चाहँदैनन् ।’ किन चिनाउन चाहँदैनन् ? यो प्रश्नले चाहिँ उनको जीवनवृत्तमा फन्को लगाउँछ ।
एसडी योगी, जसको सक्कल तपाईंले न फेसबुकमा सहजै फेला पार्नुहुन्छ, न युट्युबहरुमा । न उनी औपचारिक कार्यक्रममा देखिन्छन्, न स्टेजमा । अन्तर्वार्ता र व्यक्ति प्रचारका लागि पनि उनी चाम्रो मान्छे । हत्तपत्त ‘हुन्छ’ भन्दैनन् ।
त्यसैले त ‘रुकुम मैकोट’ फेम्ड गायक शहरको भिडमा सहजै फेला पार्न सकिंदैन । उनी भिडबाट अलग छैनन् । तर, भिडभित्रै उनी यसरी हराएका छन्, जसरी पोखराको भूगर्भभित्र जलाशय विलुप्त छन् ।
*****
हालैको एक मध्याह्न उनले अलि बेवास्तापूर्वक ‘भेटौं न त’ भन्ने जवाफ दिएका थिए । भेटघाटको टुंगो लागेपछि निर्धारित समयमा हामी उनलाई खोज्दै बानेश्वर पुग्यौं । उनले बानेश्वरका एउटा सामान्य चिया नास्ता पसलमा बोलाए ।
म:म-चाउमिन र चिया-चुरोट खानेहरुको त्यहाँ सानोतिनो घुँइचो थियो । त्यसमध्ये हामीले खोजेका पात्र को हुन् ? पहिचान गर्न सकिएन । किनभने हामीलाई उनको हुलिया थाहा थिएन । अलि कुनातर्फ एउटा टेबलमा दुई युवा कालो चिया पिउँदै थिए, त्यहीमध्ये एक जना थिए एसडी । तर, दुईमध्ये एक को हुन् ? ठम्याउन सकिएन । हामी द्विविधामा थियौं ।
हाम्रो जस्तै दशामा रहेछन् उनी पनि ।
द एक्स ब्यान्डका गायक शिव मुखियाले सोही दिन, सोही समय र सोही स्थानमा भेट्ने मेसो मिलाएका रहेछन् । उनी कन्फ्युज्ड थिए, आफूलाई फोन गर्ने उस्तै नामधारी व्यक्तिमध्ये पहिलो चरणमा भेट्न लागिएको व्यक्ति को हुन् ?
अन्यौलकै बीच हामीले एउटा औपचारिक तर असान्दर्भिक प्रश्न सोध्यौं, ‘तपाईंले आर्टमान्डुसँग पनि काम गर्नुभएछ है, दुई वटा गीतमा ?’
यो प्रश्नको एउटै आशय के थियो भने, हामीले खोजेको पात्र उनै हुन् वा होइनन् ?
उनले सहज जवाफ फर्काए, ‘दुई होइन, तीन वटा हो ।’ उनले फटाफट ती गीतको बोल सुनाए । हामी ढुक्क भयौं, उनै हुन् एसडी योगी ।
******
औसत कदका, खिरिलो ज्यानका, सुस्त–सुस्त बात मार्ने एसडीको यतिबेला सरस्वती दाहिना छन् । अक्सर उनले भाका र धुन भरेका गीतहरु जनजीब्रोमा झुन्डिएको छ । फेसबुक रिल्सदेखि टिकटकसम्म जताततै उनको गीत छाएको छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा (रुकुम मैकोट गीत) समेत उक्लिएको छ । खासगरी चलचित्रका गीतहरु उनलाई बेफुर्सदिला बनाएको छ । उनी भन्छन्, ‘चलचित्रमा एउटा गीत कम्पोज गरेको दुई लाख रुपैयाँसम्म लिने गर्छु ।’ जबकि झोंक चलेको बेला उनी एकै दिनमा एउटा गीत कम्पोज गरिदिन सक्छन् ।
कति गीतका शब्द बनौट यस्ता हुन्छन्, जसमाथि एकसरो नजर डुलाउनसाथ उनलाई भाका फुरिहाल्छ ।
उनी गीतका हरफहरुमा धुन भर्छन् र आफै गाउँछन् पनि । जबकि कुनैबेला कसैलाई थाहा थिएन कि, एसडीले गीत गाउँछ ।
न घर-परिवारलाई थाहा थियो, न छिमेकका हितैषी । न विद्यालयका सहपाठीलाई थाहा थियो, न शिक्षकलाई । कसैलाई पत्तो नदिइ उनी गुपचुप गुपचुप संगीतमा लागेका थिए । विद्यालयका प्रिन्सिपल तथा गणितका शिक्षक उनका बुवा चाहन्थे, ‘मेरो छोरो इन्जिनियर बनोस् ।’
पढाइमा तेज थिए । इमानी थिए । मिहिनेती थिए । स्वभाविक हो, पढाइमा माझिएका केटाकेटीले ‘भविष्यमा डाक्टर, इन्जिनियर’ रोज्नुपर्छ भन्ने आम मनोविज्ञान छ ।
तर, उनलाई इन्जिनियर बन्नु थिएन । किनभने संगीतले उनलाई सम्मोहित गरिसकेको थियो । धीरतापूर्वक रेडियोमा बज्ने गीत सुन्थे । मनमनै त्यसलाई दोहोर्याउँथे । यसरी दोहोर्याउँथे कि, जुन भित्ताले पनि नसुनोस् । उनलाई अरुको अगाडि गीत गाउन लाज लाग्थ्यो ।
घर नजिक जंगल थियो । जंगलमा कोही छैनन् भने धित् मरुञ्जेल गीत गाउँथे । कहिले साइकलमा एकसुरले बत्तिन्थे र मन खोलेर गीत गाउथे । कहिले गाडीको पछि-पछि दौडन्थे र गीत गाउँथे । उनलाई पक्का थियो कि, यसरी गीत गाउँदा अरुले सुन्ने छैनन् । अरुले नसुनेपछि आफ्नो ढंगले गाउन सकिन्छ । धक खोलेर ।
‘मेरो सबैभन्दा मिल्ने साथीलाई पनि थाहा थिएन कि म गाउँछु भनेर’ एसडी सुनाउँछन्, ‘जुन दिन मैले खुलेर गीत गाए, सबैजना चकित होइन छक्क परे ।’
त्यसबेलासम्म कसैले कुनै भेउ पाएका थिएनन्, एसडी संगीत रुचाउँछ । ध्यानपूर्वक रेडियो सुन्छ । जंगल गएर गीत गाउँछ । कुनै गायकको शोक तिथिमा एक छाक खाना छाड्छ ।
हो, उनलाई विख्यात भारतीय संगीतकर्मी मोहम्मद रफी औधी मनपर्थ्यो । रफीको जादुयी गायकीले उनलाई कतिसम्म लठ्ठ बनाएको थियो भने रफीको हरेक वार्षिक पूण्यतिथिमा उनी खानेकुरा खाँदैनथे । र, श्रद्धा प्रकट गर्थे । यो कुरा पनि कसैलाई थाहा थिएन ।
हजुरबुवाको एउटा रेडियो थियो । त्यसमा आकाशबाणीबाट बज्ने हिन्दी गीतहरु सुन्थे । यसरी बज्ने गीतहरुमध्ये मोहम्मद रफीको गीतले उनको हृदयमा झंकार बजाइदिन्थ्यो । उनी गीत सुनिरहँदा त्यसबाट आनन्द मात्र अनुभूत गर्दैनथे । बरु, त्यहाँ कसरी भाका हालिएको छ, के कस्ता वाद्ययन्त्र बजाइएको छ, कसरी बजाइएको छ ? मिहिन ढंगले केलाउँथे । यो एक किसिमको अभ्यास र अध्ययन रहेछ, जुन अहिले उनलाई काम लागेको छ ।
दाङको घोराहीमा जब उनी एसएलसी सकाएर विज्ञान संकायको पढाइ सुरु गर्दै थिए, त्यसबेला बल्ल साथीभाइलाई थाहा भयो ‘एसडीले गजब गाउँछ ।’
उनका दुई हितैषी थिए । उनीहरु टेबल ठट्याउथे, तालमा ताल मिलाउँदै । उनी भाका हाल्थे । साथीहरु भन्थे, ‘तँ राम्रो गाउँछस् ।’ तर, उनलाई गायक बन्नु थिएन । संगीतमा लाग्नु त थियो तर कुन विधाबाट ? उनी स्पष्ट थिएनन् । कुनै वाद्ययन्त्र बजाउन नआउने । बरु, गीत गाउथे । उनलाई गायकीबाटै संगीतको फेरो समात्ने जोश चढ्यो ।
उनले प्लस टु पछि विज्ञानको पढाइ चटक्कै छाडे । बुवाको अपेक्षामा पूर्ण विराम लगाइदिए । अनि घर लमही फर्केर यत्तिकै दिन कटाउन थाले । बुवाको इच्छा शिरोपर गर्ने कि आफ्नो मर्जीको बाटो रोज्ने ? यो दोधारे मनोदशामा तीन महिना बित्यो । अन्त्तः एक बिहान आमासँग बाटो खर्च मागेर उनले घर छाडे । भारतको लखनउ पुगे ।
‘लखनऊमा संगीतको पढाइ हुन्छ । त्यहाँ गीत-संगीत पढाउने विश्वविद्यालय नै छ’ भनेर उनले रेडियो आकाशबाणीको विज्ञापनमा सुनेका थिए । त्यही विज्ञापन पछ्याउँदै उनी कसैलाई नसोधी लखनऊ पुगेका थिए । गोजीमा आमाले दिएका १० हजार रुपैयाँ थियो । र, हृदयमा संगीतको झंकार थियो ।
संयोगले लखनऊ पुगेर जुन होटलमा उनले थकाइ मारेका थिए, त्यसको नजिकै संगीत विद्यालय थियो । एक भलाद्मी संगीत गुरुले उनलाई त्यहाँ अरु नेपालीसँग चिनापर्ची गराइदिए । तिनै नेपाली साथीसँग होस्टल बसेर उनले संगीतको पढाइ सुरु गरे ।
त्यहाँ उनले शास्त्रिय संगीत सिके । प्रत्येक दिन ८ घण्टा व्यक्तिगत संगीत अभ्यास गर्नुपर्थ्यो, बिहान र बेलुका । त्यसबाहेक कलेजमा अतिरिक्त चार घण्टा अभ्यास गर्नुपर्थ्यो। यस्तो उपक्रम तीन बर्षसम्म चल्यो ।
*****
सन् २०१४ मा उनी घर फर्किए । एक वर्ष यत्तिकै बित्यो । त्यसपछि उनी काठमाडौं आए र भारतीय दूतावासमा संगीत सिकाउन थाले । वर्षदिन पछि उनले त्यहाँको जागिर छाडे र सूत्र स्टुडियोमा आबद्ध भए । त्यहाँ उनका नाताले हजुरबुवा पर्ने गायक शिशिर योगी थिए । उनै मार्फत एसडी रेकर्डिस्टको रुपमा प्रवेश गरे । संगीतको प्राविधिक कुरा जान्नका लागि यो एउटा मौकाभन्दा बढी जरुरत थियो ।
सोही बेला गोविन्द शाही, मिलन चाम्सले आफ्नो फिल्मको लागि नयाँ संगीतकार खोजिरहेका रहेछन् । गायक सुरज थापाले एसडीको नाम सिफारिस गरिदिए । एसडीलाई उनीहरुले बोलाए र फिल्मको अवधारणा सुनाए ।
एसडीले पनि उनीहरुको सामुन्ने ‘हावासरी’ र ‘घुम्न जाउँ इन्जिन गाडीमा’ गीतको कम्पोज सुनाइदिए, जुन उनले पहिले नै तयार गरिसकेका थिए । ‘हावासरी’ गीत उनले २००९ मा कम्पोज गरेका थिए । त्यसको ८ वर्षपछि बल्ल त्यो गीत रेकर्ड भयो ।
सुरुमा त यो गीत सुरज थापाले गाउने कुरा थियो । उनीसँग के कुरा मिलेन । पछि कालिप्रसाद बास्कोटाले गाउने तय भयो । त्यहाँ पनि केही कुरा मिलेन । अन्ततः फिल्मका निर्देशक मिलन चाम्सले भने, ‘हामीलाई त्यो डेमो भोकल नै चाहिन्छ, यो अलि नयाँ लाग्यो ।’ यही विन्दुबाट एसडीको गायन यात्रा सुरु भयो ।
पहिलो गीतबाटै उनी ‘नोटिस’ भए । त्यसपछि उनले दयाहाङ राई स्टारर ‘आप्पा’, अनमोल केसी स्टारर ‘क्याप्टेन’मा काम गरे । ‘म कहिले पनि निर्माता-निर्देशककहाँ मेरो यस्तो गीत छ राखिदिनु न भनेर कहिले पनि गइँन’, एसडी सुनाउँछन्, ‘अक्सर उनीहरुले नै मलाई खोज्दै आए ।’
जतिबेला उनी संगीत सिक्न भारत जाँदै थिए त्यसबेला मनमनै कल्पन्थे, ‘एकदिन म राम्रो संगीतकर्मी बन्नेछु ।’ उनको इच्छा र प्राप्तिको दूरी खासै लामो रहेन । छोटो अवधिमै एसडी यस्ता संगीतकर्मी बने, जसमाथि फिल्मकर्मीको पूर्ण आशा र भरोसा छ ।
‘संगीत सिक्छु’ भन्दा उनले बाहिर त्यति संघर्ष गर्नु परेन, जति घरभित्रै गर्नुपर्यो । खासगरी उनको यो दृढताले बुवालाई नराम्ररी चिढ्याएको थियो । इन्जिनियरिङको लक्ष्य छाडेर संगीतकर्मी बन्न लागिरहँदा उनको र पिताको सम्बन्ध चिसिंदै थियो । तर पिता-पुत्र सम्बन्धको यो चिसोपन आज उस्तै छैन । छोराको गीतले मेलापातदेखि शहर-बजार घन्काइरहँदा पितालाई लाग्न थालेको छ, ‘छोरोले जे गर्यो, ठीकै गर्यो ।’
*****
संगीतमा छुटै ख्याती र खोजी छ, एसडी योगीको । उनलाई चाहिँ के लाग्छ भने ‘म केवल माध्याम हुँ’ । जसरी उनी कुनै पनि शब्दहरुमा भाका र धुन सिर्जना गर्छन्, त्यो स्वत् कतैबाट स्वचालित रुपमा भइरहेको छ । जस्तो उनी हिँड्दा-हिँड्दै, गफ गर्दागर्दै, काम गर्दा गर्दै पनि नयाँ-नयाँ धुन फुरिरहेका हुन्छन् । जसै कुनै धुन फुर्छ, उनी त्यसलाई मोबाइलमा रेकर्ड गर्छन् । यसरी रेकर्ड गरेका लगभग दश हजार धुन उनीसँग सुरक्षित छन् । कतिको स्थायी तयार भएका छन्, कतिको अन्तरा ।
अनौठो के भने उनी आफूलाई ‘म नै एसडी योगी’ भनी खुलस्त चिनाउन चाहँदैनन् । उनलाई यसैमा रमाइलो लाग्छ कि मान्छेहरुले उनलाई नचिनुन् । मास्क लगाएर मुख छोप्न नपरोस् । वा मामुली जीवन बिताउन असहज नहोस् ।
आफ्ना गीत गुनगुनाउँदै हिँड्नेहरुले आफैंलाई नचिनेको निको लाग्छ उनलाई । किनभने यसमा पनि एउटा छुट्टै आनन्द छ ।