केपी ओलीले मेरो बदनाम गर्ने कोसिस गर्नुहोला भन्ने लागेको थिएन – Online Khabar
१ पुस, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोशिस गरेको आरोप लगाएका छन् । उनले आज विज्ञप्ति जारी गरी सो आरोप लगाएका हुन् ।
गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले बामदेव गौतमले आफ्नो राजीनामा मागेको प्रसंग सुनाएका थिए । मदन भण्डारीको हत्यासँग सम्बन्धित एक भिडियो हेरेर गौतमले आफ्नो राजीनामा मागेको ओलीले बताएका थिए ।
ओलीले सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो । तर म चुप लागें । अब म बुढो पनि भइसकें, जेसुकै भए पनि मलाई केही छैन । त्यसकारण म कुरा भन्दैछु भनेर मेरै (ओलीकै) स्वरमा छ, अब केपी ओलीले प्रधानमन्त्रीबाट र पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ भन्दैऊ तिम्रो ठूलोबालाई भनेर । कुराचाहिँ मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश ठानेर कुरा गर्दै हुनुहुन्थ्यो।’
ओलीले थप भनेका थिए, ‘कमरेड के छ हालखबर भनें । ठिकै छ भन्नुभयो । कुरा गर्दै गइयो । अन्तिममा त तिम्रो ठूलोबालाई भन्देऊ– प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भनेर । यस्तो अपराध गरेर बस्न पाइन्छ भनेर वामदेवजी एकछिन पड्किनुभयो । हस् हजुर भनेर भनें मैले । के बहस गरिराख्नु, उहाँलाई समेत भ्रम पर्ने गरी कसैले भिडिओ बनाएछ ।’
राजेश बज्राचार्य ओलीको स्वकीय सचिव हुन् ।
यही प्रसंगमा बामदेव गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले राजेश बज्राचार्यसँगै कुरा गरेको तर ओलीले बदनाम गर्न खोजेको आरोप लगाएका हुन् ।
ओलीको फोन नलागेपछि आफूले राजेशलाई फोन गरेको भन्दै बामदेवले लेखेका छन्, ‘…त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरें, उहाँले कल रिसिभ गर्नुभयो र सदाझैं नमस्कार कमरेड भन्नुभयो । त्यसपछि मैले उहाँलाई भनें– एउटा सिरियस लिंक मेरोमा आयो केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु, तु उहाँलाई पठाइदिनुस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ ।’
योभन्दा बढी आफूले एक शब्द पनि नबोलेको भन्दै बामदेवले लेखेका छन्, ‘फोन नम्बर राजेशकै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।’
बामदेवले आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती समेत दिएका छन् । उनले लेखेका छन्, ‘क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।’