#समाचार

नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ । अस्पतालका सिनियर कन्सल्टेन्ट न्युरोसर्जन प्रा. डा. राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक गरेको हो ।

मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएकोजस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया सुरु गरेको हो । यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रे मार्फत शल्यक्रिया गरिन्छ ।

यो प्रविधिअनुसार शल्यक्रिया गर्दा चिरफार गर्नु नपर्ने, समय कम लाग्ने, रगत निकै न्यून मात्रामा बग्ने र भोलिपल्टैदेखि बिरामी हिंड्डुल गर्न सक्ने डा. झाले बताए । चिरफार गर्दा बिरामी नियमित काममा फर्किन कम्तीमा तीन साता लाग्ने गरेकोमा मिनिमल इन्भेजिभ स्पाइन सर्जरी गर्दा बिरामी १०-१२ दिनमै नियमित काममा फर्किन सक्ने उनको भनाइ छ ।

मेरुदण्डको समस्या औषधि खाँदा पनि कम नहुने र प्यारालाइसिस हुन थाल्यो भने यो विधिबाट शल्यक्रिया गर्न सकिने डा. झाले बताए ।  ‘यो नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा संक्रमण पनि हुँदैन र अस्पताल पनि दुई दिनभन्दा बढी बस्नु पर्दैन,’ उनले भने ।

Leave a comment

Your email address will not be published. Required fields are marked *