#समाचार

विद्यालय खेलकुद महासंघको अध्यक्षमा श्रेष्ठ – Online Khabar

२९ मंसिर, काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघको साधारण सभा तथा निर्वाचनले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

शनिवार काठमाडौंमा भएको साधारण सभाबाट माधव सापकोटा वरिष्ठ उपाध्यक्ष, गोपीबहादुर सार्की अछामी, मोहनकुमार कार्की र सीता लामाले उपाध्यक्ष तथा राजकुमार कार्की महासचिवमा चयन भए ।

सुवास न्यौपाने, आरबी कट्वाल, खडकबहादुर थापा, डिके ढुंगाना, मोहनराज भट्ट, विलय गौतम, सुमन श्रेष्ठ, पदम राना, सोविनराज रेग्मी, नविन महर्जन र रञ्जना प्रधान सदस्यमा चयन भए ।

सभामुख देवराज घिमिरेले  उद्घाटन गरेको साधारण सभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

साधारण सभामा केन्द्रीय कार्यसमितिका १७, सातै प्रदेशबाट १७ र ५७ जिल्लाबाट ५७ प्रतिनिधिको उपस्थिति रहेको महासंघका महासचिव कार्कीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *