डरलाग्दो सपना किन देखिन्छ ? – Online Khabar
मीठो सपना देखिरहेको बेला मन र तन दुवै शान्त अनुभव गर्दै गर्दा कुनै अवरोधले निद्रा खुल्छ । त्यसपछि लाख कोसिस गर्दा पनि त्यो मीठो सपना पूरा हुँदैन ।
कहिले सपना ठीक विपरित भयानक हुन्छ । डरले छटपटिएर निद्रा खुल्छ । दिनभर सपनाको कुराले बेचैन हुन्छ । कैयौं पटक त त्यो नमीठो सपना पटक-पटक दोहोरिन्छ । कैयौं सपना बिर्सिन्छ । कैयौं नमीठो सपना पटक-पटक आइरहन्छन् ।
किन यी सपना देख्छौं ? के यी सपनाले हाम्रो स्वास्थ्यमा कुनै प्रभाव पार्छ ? यी सपना किन सधैं सम्झिन सकिंदैन ?
सपना एउटा काल्पनिक कथा जस्तै हो, जुन वास्तविक संसारमा हुँदैन । यसलाई हामीले अहिलेसम्म मूर्तरुपमा नबनेको उत्कृष्ट सिनेमाको रूपमा लिन सक्छौं ।
सपना सबैले देख्छन् । फरक यति हो, कसैलाई याद हुन्छ । कसैलाई हुँदैन । सामान्यतया निद्राको एक विशेष चरण हुन्छ । जसमा एउटा चरण र्यापिड आई मुमेन्टको हुन्छ । यो दौरान बढी सपना देखिन्छ । सपनामा चेतन र अचेतन मनबीचको उथलपुथल देख्न सकिन्छ ।
भनिन्छ, डेढ घण्टामा करिब पाँवटा सपना आउँछन् । यी सपनामा अवचेतन मनमा बसेको, चेतन रुपले पोख्न नसकेको इच्छा वा कुनै कुराको भय देख्न सकिन्छ । किनकि यी कुरा बाहिरबाट लुकाए पनि दिमागले टिपिरहेको हुनसक्छ ।
सपनामा देखिने जति पनि दृश्य छन् ती यादको श्रृंखलाको विद्युतीय सक्रियतामा आधारित हुन्छ । जुन निद्राको समयमा ती श्रृंखलाको संयोजन बनाउँछ र हामी सपना देख्छौं । जहाँसम्म सपनामा देखिने भाव छन् । ती भावको अर्थ निकाल्न कठिन छ । तर हामीले अधुरो राखेको काम, तनाव, बोल्न नसकेको भाव, कुनै कुराको डर, बिछोडको याद, कामना गरेको तर पूरा नभएको कुरा सपनामा पक्कै देखिन्छ ।
सपनाको पछाडि कुनै विशेष अर्थ छैन । निद्राको बेला हाम्रो मस्तिष्कको तार्किक भागको सट्टा हाम्रो मस्तिष्कको भावनात्मक भागले काम गर्ने भएकाले यस्तो भएको हुनसक्छ । यद्यपि यसको पछाडि कुनै ठोस अझै प्रमाण छैन, हाम्रा सपना प्रायः कुनै न कुनै रूपमा हालको जीवनका अनुभव, कुराकानी वा जीवनका समस्यासँग सम्बन्धित हुन्छन् ।
हरेक सपना किन याद हुँदैनन् ?
निद्राको एक विशेष चरण हुन्छ । जसमा एउटा चरण र्यापिड आई मुमेन्टको हुन्छ । यो चरणमा हाम्रो मुटुको धड्कन छिटो गतिमा बढ्छ । श्वासप्रश्वास पनि छिटो लिइरहेका हुन्छौं । शरीर चलिरहेको हुन्छ तर स्मरणशक्ति सिर्जना गर्ने मस्तिष्कको भाग सक्रिय हुँदैन । त्यसैले हामीले धेरैजसो सपना याद गर्दैनौं ।
जीवनमा सपनाको भूमिका
सपनाहरू हाम्रो जीवनको महत्त्वपूर्ण भाग हुन् । यो विगतको विश्लेषण वा भविष्यको पूर्वाभ्यास हो । जब हामी सपना देख्छौं, हाम्रो मस्तिष्कको एक विशेष भाग एमिग्डाला सक्रिय हुन्छ । यो मस्तिष्कको भाग हो जसले हामीलाई बाँच्न, लड्न र परिस्थिति प्रतिकूल हुँदा सामना गर्न उत्प्रेरित गर्छ । हाम्रो मस्तिष्कको एमिग्डाला भाग सुत्ने समयमा बढी सक्रिय हुन्छ ।
सपनासँग सम्बन्धित एउटा सिद्धान्त छ । सपनाले हाम्रो रचनात्मकताका लागि सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्छ । संसारका धेरै ठूला कलाकारहरुले उनीहरूको सबैभन्दा रचनात्मक कामका लागि सपनाबाट प्रेरणा पाएका छन् ।
यो सिद्धान्तलाई हामी आफ्नो जीवनमा पनि प्रयोग गर्न सक्छौं । जब हामी सुतिरहेका हुन्छौं, हाम्रो रचनात्मकताको बाटोमा कुनै बाधा आउँदैन ।
नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार सपनाले हामीलाई महत्त्वपूर्ण सम्झनाहरू लामो समयसम्म सम्झन मद्दत गर्छ । यदि कुनै जानकारी वा तथ्य महत्त्वपूर्ण छैन भने दिमागले मेटाउँछ । यस बाहेक सपनाले हामीलाई सबै भ्रमको बीचमा पनि कठिन निर्णय लिन मद्दत गर्छ ।
दुःस्वप्न पटक–पटक देख्नुको कारण
कहिलेकाहीं दुःस्वप्न अर्थात् नराम्रो सपना पनि आउँछ, जसले हामीलाई विचलित बनाउँछ । यो केही तनाव, चिन्ता, खराब स्मरणशक्ति वा औषधिको प्रभावले हुनसक्छ ।
तर हरेक दिन दुःस्वप्न देखिन्छ भने यो निद्रा सम्बन्धी रोग पनि हुनसक्छ । बाइपोलर डिसअर्डर, डिप्रेसन वा सिजोफ्रेनिया जस्ता समस्याबाट ग्रसित व्यक्तिले नराम्रो सपना देख्ने सम्भावना बढी हुन्छ । शारीरिक दुर्व्यवहार, यौन दुर्व्यवहार वा दुर्घटना, जीवनमा भएको ठूलो परिवर्तन, डिप्रेसन र सुल्झाउन नसकेको भावनात्मक कुरा मनमा चलिरहँदा पनि यस्तो सपना देखिन्छ । यी कुरा सपनामा छविको रुपमा प्रकट हुनसक्छ ।
तुलनात्मक रुपमा स्कुल वा कामको बारेमा बढी चिन्तित व्यक्तिलाई धेरै नराम्रो सपना आउने गर्छ । जीवनमा धेरै ठूला परिवर्तन, प्रियजनको मृत्यु जस्ता नराम्रो सपना आउन सक्छन् । यदि लगातार धेरै दिनसम्म कम सुतिरहेका छौं भने हाम्रो मस्तिष्कका केही भाग बढी सक्रिय हुन्छन् । ती सक्रिय भागले सम्झनालाई ट्रिगर गर्न सक्छ, जुन हाम्रो दिमागले बेवास्ता गर्न खोज्छ ।
यी ट्रिगरहरू नै डरलाग्दो सपनाको रुपमा आउन सक्छन् ।
दु:स्वप्न कम गर्न सकिन्छ ?
यस्ता सपना आउनबाट रोक्ने ठोस औषधि त छैन । तर जीवनशैली परिवर्तनले नराम्रो सपना आउने समस्यालाई कम गर्न सकिन्छ ।
– सुत्नुअघि तनावको स्तर व्यवस्थापन गर्न ध्यान, गहिरो सास फेर्ने अभ्यास गर्ने, मांसपेशी आराम गर्ने अभ्यास गर्नुपर्छ । यसरी दिमाग शान्त रहन्छ भने दुःस्वप्न आउँदैन ।
– नियमित व्यायाम, स्वस्थ आहार र स्वस्थ निद्रालाई प्राथमिकता दिएमा तनाव कम हुने, चिन्ता र डिप्रेसनको भावना नियन्त्रणमा रहन्छ ।
– हरेक दिन एउटै समयमा सुत्ने र बिहान एउटै समयमा उठ्ने तालिका बनाएर सोही अनुसार सुत्ने हो भने दुःस्वप्न नआउन सक्छ ।
– क्याफिन जस्ता उत्तेजक पदार्थ, ओछ्यानभन्दा भारी खानेकुरा खानु हुँदैन ।
– कोठा अँध्यारो, शान्त र चिसो वा न्यानो बनाउनाले राम्रो गुणस्तरको निद्रा प्राप्त गर्न मद्दत गर्नेछ ।
– अनिद्रा र नराम्रो सपनाले यी उपाय अपनाउँदा पनि सताउन छाडेन भने चिकित्सकलाई भेटेर मनोपरामर्श लिनुपर्ने हुन्छ ।
– तनाव व्यवस्थापन गर्न आफूलाई व्यस्त राख्ने प्रयास गरेमा पनि दिमाग नकरात्मकतातिर ढल्न पाउँदैन ।