सेयर किनबेचमा लाग्ने कमिसन र करको दर – Online Khabar
२२ मंसिर, काठमाडौं । सेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य छ । व्यक्ति तथा कम्पनीले सेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर तिर्छन् । किनेको भन्दा बढी मूल्यमा बेचेपछिको लाभमा कर तिर्नुपर्छ ।
व्यक्तिगत लगानीकर्ताका हकमा डिम्याट खातामा होल्डिङ भएको अवधिमा कर निर्भर हुन्छ । सेयरको बिक्रीबाट प्राप्त हुने पूँजीगत लाभमा व्यक्तिलाई दीर्घकालीन वा अल्पकालीन गरी दुई भिन्न दरमा कर लगाइन्छ ।
दीर्घकालीन पूँजीगत लाभमा ५ प्रतिशत कर लाग्छ । दीर्घकालीन भन्नाले लगानीकर्ताले ३६५ दिनभन्दा बढी सेयर होल्ड गरी राखेको हुनुपर्छ ।
त्यसैगरी छोटो अवधिको पूँजीगत लाभमा ७.५ प्रतिशत कर तिर्नुपर्छ । छोटो अवधि वा अल्पकालीन भन्नाले लगानीकर्ताले ३६५ दिनभित्र आफ्नो स्टकहरू बिक्री गर्ने लगानी भन्ने बुझिन्छ ।
सेयरको बिक्रीबाट हुने पूँजीगत लाभमा लाग्ने करको दर संस्थागत लगानीकर्ताको हकमा १० प्रतिशत रहेको छ । संस्थागत लगानीकर्ताले यसरी भुक्तान गरेको पूँजीगत लाभकरलाई एड्भान्स करको रूपमा लिई वर्षको अन्तिममा समायोजन गर्न पाउँछन् ।
यो त भयो, बेचेपछि नाफामा लाग्ने पूँजीगत लाभकर । त्यसका अलवा सेयर किन्ने र बेच्ने दुबैले ब्रोकर कमिसन तिर्नुपर्छ । ब्रोकर कमिसन किनबेच गरेको रकममा निर्भर हुन्छ । ठूलो रकममा कम र सानो रकममा बढी कमिसन लाग्दै आएको छ ।
यदि एक पटकमा १ करोडमाथिको सेयर खरिद वा बिक्री गर्ने हो भने सोही रकमको ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
त्यस्तै प्रति कारोबार २० लाखदेखि १ करोडसम्मको हुँदा ०.२७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्म हुँदा ०.३१ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ र ५० हजारभन्दा कमको कारोबारमा ०.३६ प्रतिशत कमिसन खर्च लाग्छ ।
कारोबार रकम | ब्रोकर कमिसन दर |
५० हजारसम्म | ०.३६ % |
५० हजारदेखि ५ लाखसम्म | ०.३३ % |
५ लाखदेखि २० लाखसम्म | ०.३१ % |
२० लाखदेखि १ करोडसम्म | ०.२७ % |
१ करोडमाथि | ०.२४ % |
त्यसबाहेक धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत कमिसन शुल्क लाग्छ ।
सेयर खरिद वा बेचेपछि सबै कमिसन र कर कटौतीपछि आफूले पाउने वा तिर्नुपर्ने रकम कति हुन्छ भनेर हिसाव गर्नका लागि क्याल्कुलेटर पनि उपलब्ध छन् । यहीं क्याल्कुलेटरमार्फत पनि आफ्नो हिसाव निकाल्न सकिन्छ ।