दुई धारमा निजी क्षेत्र, फकाउँदै मुख्यमन्त्री – Online Khabar
२१ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने तयारी गरेको पहिलो लगानी सम्मेलनलाई लिएर विराटनगरको निजी क्षेत्र विभाजित भएको छ ।
लगानी सम्मेलनका लागि स्थानीय व्यवस्थापन जिम्मा उद्योग संगठन मोरङलाई दिने सहमति भएपछि निजी क्षेत्र विभाजित भएको हो । अहिले एउटा पक्ष लगानी सम्मेलन गर्ने र अर्को स्थानीय व्यवस्थापक परिवर्तन गर्ने दौडमा छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ११, १२ र १३ माघमा विराटनगरमा लगानी सम्मेलन आयोजना जिम्मा उद्योग संगठनलाई दिने मौखिक बचन दिएका छन् । संगठनले ११ देखि २० माघसम्म विराट एक्स्पो पनि गर्दैछ ।
मुख्यमन्त्रीले बचन दिएपछि संगठनले विराट एक्स्पो स्थलमै लगानी सम्मेलनका लागि छुट्टै स्टल राख्ने तयारी गरेको छ । तर, कोशी प्रदेश मुख्यमन्त्रीले जिल्ला तहको संस्थालाई जिम्मेवारी दिएको भन्दै नेपाल उद्योग परिसंघ विरोधमा उत्रिएको छ । उद्योग वाणिज्य महासंघले भने उद्योग संगठनलाई व्यवस्थापन गर्ने जिम्मा दिने तयारीको स्वागत गरेको छ ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडाले मेलामा लगानी सम्मेलन गर्दा गलत सन्देश जाने बताउँछन् । उनले सम्मेलन आयोजना गर्ने जिम्मेवारी पनि प्रदेश स्तरीय संस्थाले पाउनुपर्ने बताए । उद्योग संगठन मोरङ जिल्ला तहको उद्योगीको संस्था हो ।
‘टम्बुभित्र त्यो मेलामा विदेशीलाई त के नेपाली उद्योगीलाई बोलाउँदा पनि लाजमर्दो स्थिति बन्छ, त्यो टेन्टमा बोलायो भने अपमान गरेजस्तो हुन्छ कि हुँदैन ?,’ उनले भने, ‘मेलामा नाचगान हुन्छ, स्टल हुन्छ, हो-हल्ला हुन्छ, त्यस्तो ठाउँमा लगानी सम्मेलन गर्ने कि पाँचतारे होटलमा गर्ने ?’
प्रदेश स्तरीय लगानी सम्मेलनको जिल्ला स्तरीय संघलाई जिम्मेवारी दिएका कारण विवाद बढेको उनले बताए ।
‘एउटा संस्थालाई दिएर उसले गर्दिन्छ भन्ने ? यसको पछाडि के रहस्य छ, स्वार्थ के छ बुझ्न सकिएन ?,’ उनले भने, ‘विराटनगरमा त्यो (उद्योग संगठन मोरङ) भन्दा ठुल्ठूला संस्था छ ।’
उद्योग संगठनलाई आयोजना गर्न दिने निर्णय सच्याउनुपर्ने उनको माग छ । ‘सबैलाई नाराज गर्ने एक जनालाई खुस पार्ने काम गर्यो भने लिडरसिप देखिँदैन,’ उनले भने, ‘यो त कुनै पार्टीको कार्यक्रम होइन, राज्यको कार्यक्रम हो ।’
अर्को संस्थाको स्वागत
विराटनगरमा निजी क्षेत्रमा दुई धार छ । एउटा धार नेपाल उद्योग परिसंघ मार्फत राजनीति गर्छ, यो धारमा भीम घिमिरे, पवन सारडा, महेश जाजु लगायत छ । अर्को धार उद्योग वाणिज्य महासंघ मार्फत सक्रिय छ । यो धारमा राजेन्द्र राउत, अभिनाश बोहोरा, सुयस प्याकुरेल लगायत छन् ।
परिसंघले सरकारको तयारीको विरोध गरे पनि उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भने उद्योग संगठनले आयोजना गर्ने सम्मेलनको स्वागत गरेको छ ।
विराट एक्स्पोसँगै आयोजना हुने लगानी सम्मेलनले निजी क्षेत्रको प्रतिष्ठा बढ्ने महासंघ प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए ।
‘प्रदेश सरकारले विराट एक्स्पोकै आयोजना स्थल परिसरमा ११ माघदेखि १३ माघसम्म पहिलो पटक लगानी सम्मेलन २०८१ को आयोजना गर्न गइरहेको छ ।
प्रदेश सरकारले सबै निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त सम्मेलनको व्यवस्थापनको जिम्मेवारी उद्योग संगठन मोरङले गर्ने गरि कार्य अघि बढाउनुलाई हामीले निजी क्षेत्रप्रतिको गौरव र प्रतिष्ठाका रूपमा लिएका छौं,’ अध्यक्ष राजेन्द्र राउतले भने, ‘निजी क्षेत्रप्रति अटुट विश्वास राखी प्रदेश सरकारले सुम्पिएको उक्त जिम्मेवारी बोध गर्दै भव्यतासाथ सम्पन्न गर्न अमूल्य साथ, सहयोग, समर्थन र समन्वयका लागि अनुरोध गर्दछु ।’
निजी क्षेत्र दुई धारमा विभाजित भएपछि मुख्यमन्त्री कार्की अप्ठ्यारोमा परेका छन् । उद्योग संगठनलाई आयोजना गर्ने जिम्मेवारी दिने बचन दिइसकेका उनले असन्तुष्ट बनेको उद्योग परिसंघलाई पनि समेटेर लैजाने आश्वासन दिइरहेका छन् । उनले केही दिनअघि असन्तुष्ट बनेको उद्योग परिसंघको टोली बोलाएर सहयोग गर्न आग्रह गरेका थिए ।
१ खर्ब जुटाउने लक्ष्य
कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्न लागेको लगानी सम्मेलनमा १ खर्ब लगानीको स्रोत सुनिश्चित गर्ने सरकारको लक्ष्य छ ।
कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाका अनुसार ६० वटा आयोजनालाई सोकेसमा प्रस्तुत गरिने छ । जसमा २५ आयोजनामा लगानी जुटाउने लक्ष्य राखिएको उनले बताए ।
कृषि, पर्यटन, उद्योग, ऊर्जा, आईटी र पूर्वाधार क्षेत्रका परियोजना सम्मेलनमा राखिने छ । ‘सम्मेलनमा देश–विदेशबाट लगानीकर्तालाई निम्ता गर्ने तयारी छ,’ उनले भने, ‘२०–२५ आयोजनामा १ खर्ब लगानी जुट्ने अनुमान छ ।’ लगानी सम्मेलनका लागि पाँच वटा समिति बनेको छ ।
मुख्यमन्त्री सहभागी रहेको मूल आयोजक समिति गठन भएको छ । उक्त समितिमा उद्योग, वाणिज्य क्षेत्रका १० निजी संघसंस्था सहसंयोजक छन् ।