#समाचार

महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन : गृहमन्त्री – Online Khabar

२० मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा २६ नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए ।

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको बताउँदै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिए ।

‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियाबाट पनि महिलाहरू प्रताडित छन्,’ गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढंगबाट गर्नुपर्छ ।’

उनले डिभिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताए ।

त्यसैगरी संविधानको भावना अनुरूप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकीकृत निर्वाचन विधयेक आगामी संघीय संसदमा पेस हुने गरी गृहमन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाइ थियो ।

गृहमन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृति महिला महासंघ लगायतका २६ वटा संस्थाका प्रतिनिधि गृहमन्त्रालय पुगेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *