#समाचार

चीनबाट ल्याइएको १५ सय टन मल डेढ वर्षदेखि तातोपानी भन्सारमै

२० मंसिर, लार्चा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ लार्चास्थित तातोपानी भन्सारमा करिब १ हजार ५ सय टन मल थुप्रिएको डेढ वर्ष भइसकेको छ ।

कृषि सामग्री केन्द्र लिमिटेडले ठेक्का दिएको मल सिल्क मार्केट जेभीले भन्सारबाट ल्याउन नसक्दा गोदाममा थुप्रेको हो ।

ठेक्का रद्द भएपछि थुप्रियो

कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट २५ हजार टन युरिया मल ल्याउन टेन्डर आह्वान गरेपछि सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र बिध कम्पनीले २०७८ सालमा टेन्डर हालेको थिए । तर, कम्पनीले तोकिएको समयमा मल नल्याइदिएको भन्दै जेठ २०८० मा टेन्डर रद्द गरेको थियो ।

ठेक्का सम्झौता अनुसार कम्पनीहरूले १५ चैत २०७८ भित्र मल ल्याइसक्नुपर्ने थियो । तर, पटक–पटक म्याद थप्दा पनि मल समयमा ल्याउन सकेन । त्यसपछि सरकारले ठेक्का रद्द गर्दा कम्पनीहरूले चीनबाट मल ल्याइसकेका थिए ।

तर, ढिलो गरी मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले ती कम्पनीको ठेक्का रद्द गरेको थियो । सरकारले ठेक्का रद्द गरेपछि नेपाल भित्रिएको मल भन्सारमै अलपत्र छ ।

मल ल्याउने ठेकेदारले वैशाख २०८० मा लार्चेस्थित भन्सार कार्यालयमा मल अनलोड गरेको थियो । ‘हाम्रो यहाँ डेढ वर्षदेखि मल अत्रपत्र छ । हामीले पोर्ट व्यवस्थापन गरिरहेका छौं । हामी यहाँको स्पेसको भाडा मात्रै उठाउने हो, अब मलको विषयमा हामीलाई थाहा हुँदैन,’ तातोपानी भन्सार हेर्ने लार्चास्थित भन्सार कार्यालयको व्यवस्थापन ठेक्का लिएको सिल्क ट्रान्सका कार्यालय प्रमुख अनिरुद्र थापा भन्छन् ।

गोदाममा आएको मलबारे थाहा हुँदैन : केन्द्र

कृषि सामग्री केन्द्रले रासायनिक मलको ठेक्का गोदाम डेलिभरीको हुने भन्दै बाटोमा मल अलपत्र भएको कुरा  केन्द्रलाई थाहा नहुने जनाएको छ ।

‘हामीलाई मल ल्याएको, नल्याएको विषयमा थाहा हुँदैन । तोकिएको मितिमा गोदाममा मल आयो, आएन मात्रै हेर्छौं,’ केन्द्रका प्रवक्ता पुण्यप्रसाद उपाध्यायले भने, ‘हाम्रो काम भनेको बजेट अनुसार ठेक्का आह्वान गरेर मल ल्याउने हो र मल सरकारको सहयोगमा किसानलार्ई पुर्‍याउने हो । गोदाममा नआएसम्म हामीलाई थाहा हुँदैन ।’

मल कुनै ठेकेदारले गोदाममा ल्याएपछि पनि ल्याब परीक्षण गरेर मात्रै स्वीकृत हुने उपाध्यायले बताए ।

 

चीनबाट ल्याइएको १५ सय टन मल डेढ वर्षदेखि तातोपानी भन्सारमै

पोखरामा करार कर्मचारीको विषयमा सधैं लफडा –

Leave a comment

Your email address will not be published. Required fields are marked *