एसिया कपबाट फर्किएको भोलिपल्टै पाँच विकेट लिएर सनसनी !
२० मंसिर, काठमाडौं । एनपीएल टिम सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद एक दिनअघिसम्म यूएईमा थिए । एसिसी यू-१९ एसिया कप खेल्न यूएईमा रहेका उनी नेपाल समूह चरणबाटै बाहिरिएपछि टिमसँगै फर्कदै थिए ।
सुदूरपश्चिमले बिहीबार एनपीएलको आफ्नो दोस्रो खेलमा काठमाण्डु गुर्खाजसँग खेल्ने तालिका थियो । त्यसका लागि उनी यूएईबाट फर्किएर खेल्ने/नखेल्ने बारेमा पक्का थिएन । अघिल्लो साँझ मात्र एसिया कपबाट फर्किएका उनलाई आज आराम दिइनेछ भन्ने धेरैको अनुमान थियो । तर नरेनलाई काठमाण्डुसँगको खेलमा पहिलो रोजाईमा खेलाइयो ।
त्यति मात्र नभएर उनले ४ ओभरकै बलिङ पाए र त्योभन्दा पनि ठुलो कुरा उनले पहिलो खेलमा नै ५ विकेट लिए । सो क्रममा उनले जेरार्ड एरास्मस र सेट ब्याटर स्टेफन एस्किनाजीसहित आक्रामक फिनिसर करण केसीको समेत विकेट लिएका थिए ।
एनपीएलमा पाँच विकेट लिने उनी दोस्रो बलर हुन् । यसअघि काठमाण्डुसँगकै खेलमा चितवन राइनोजका बलर सोहेल तनविरले ५ विकेट लिएका थिए । एनपीएलको डेब्यूमै ५ विकेट लिएका नरेन म्यान अफ दि म्याच समेत भए ।
नेपाल फर्किएको भोलिपल्टै मैदानमा उत्रिएका बाँयाहाते स्पीन बलर नरेनले भने आफू आजको खेलमा खेल्छु नै जस्तो लागेको बताए । ‘मलाई त लागेको थियो आज मलाई पक्कै खेलाउनुहुन्छ भनेर । अझ म त म्यान अफ दि म्याच हुने गरेर नै प्रदर्शन गर्छु भन्ने सोचमा नै थिएँ’, उनले खेलपछि कुरा गर्दै भनेका थिए ।
आजको खेलमा नरेनलाई कप्तान दिपेन्द्र सिंह ऐरीले छैटौं ओभरमा बलिङमा ल्याएका थिए । उनले सुरूआती ओभरमा दुई चौका व्यहोरेका थिए । तर दिपेन्द्रले उनलाई फेरि आठौं ओभर दिए । सोही ओभरमा उनलाई छक्का प्रहार गरेका जेरार्ड एरास्मसलाई लगत्तै अर्को बलमा एलबीडब्लु आउट पार्दै उनले एनपीएलमा पहिलो विकेट लिए । एरासमसलाई आउट गरेपछि उनले जोडदार सेलेब्रेसन समेत गरेका थिए ।
त्यसपछि उनलाई १४औं ओभर दिइयो । यस ओभरमा उनले पहिलो बलमै क्रिजमा टिकिरहेका स्टेफेन एस्किनाजीको विकेट लिए । एस्किनाजी सेट ब्याटर थिए र काठमाण्डुको जितको आशा बनेर खेलिरहेका थिए । तर अफमा ग्यापमा खेल्ने धुनमा उनी क्याचआउट भए । यही ओभरमा उनले राशिद खानको विकेट पनि लिए । लगातार डट बल खेलेपछि दबाबमा आएका राशिदले लङ्गअनमाथिबाट प्रहार गर्न खोजेको बल रोहन मुस्तफाको हातमा गएको थियो ।
नरेनले एकै ओभरमा दुई विकेट लिएपछि काठमाण्डु हारतर्फ उन्मुख भइरहेको थियो । उनलाई १६औं ओभर दिए दीपेन्द्रले । काठमाण्डु ९२-८ को अवस्थामा थियो । १६औं ओभरको पहिलो बलमा उनले करण केसीलाई आउट गरे । ठुलो शट खेल्ने क्रममा करणले पनि विकेट गुमाए ।
त्यसपछि शाहब आलमलाई पनि क्याचआउट गराउँदै नरेनले ५ विकेट पूरा गर्दै सुदूरपश्चिमलाई खेल नै जिताए । यही प्रदर्शनले उनलाई म्यान अफ दि म्याचको अवार्ड पनि दिलायो ।
‘सुरूमा दुई चौका खाएपनि दिपेन्द्र दाईले ओभरको बीचमा आएर सम्झाइराख्नुभएको थियो, मोटिभेट गरिरहनुभएको थियो । तिमी लायनमा फालिराख विकेट आउँछ भन्नुभएको थियो । राम्रो पनि भयो’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो लागि यो लिगमा खेल्न पाउनु एकदमै ठुलो कुरा हो । त्यसमाथि पनि दिपी दाई र जगत गुरूले धेरै मोटिभेट गरिराख्नुभएको थियो, धेरै नै खुसी छु।’
धनगढीका १८ वर्षीय नरेनको यो एनपीएलको डेब्यू खेल भएपनि उनले सुदूरपश्चिमको घरेलु टोलीबाट भने खेल्दै आएका छन् । नेपालका पूर्वप्रशिक्षक रहिसकेका सुदूरपश्चिम टिमका प्रशिक्षक जगत टमाटाको नजरमा उनी १६ वर्षमूनिको घरेलु प्रतियोगिताहरूबाटै परिरहेका थिए । नरेन यू-१९ विश्वकप छनौटको क्याम्पमा समेत परेका थिए जहाँ उनले धेरै राम्रो गरेको टमाटा बताउँछन् ।
‘सानैदेखि राम्रो खेल्ने केटा हो, यू-१९ विश्वकपको क्याम्पमा पनि परेको हो विकेट पनि लियो । यसो हेर्दा ब्याटिङ पनि ठीकठाक नै थियो’ जगतले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘परिवारका सदस्यको पनि राम्रो साथ थियो । घरेलु क्रिकेटमा पनि राम्रो प्रदर्शन गरेको देखेर नै हामीले टिममा पनि राखेका हौं ।’
नरेनले एसिया कपमा खेल्दै गर्दा पनि टिमले उनलाई खेलाउने बारेमा सोचिरहेको उनले बताए । ‘आजको खेलमा उनीमाथि क्याप्टेनको पनि विश्वास थियो, हामीले पनि बाहिरबाट सन्देश दिइरहेका थियौं’ उनले भने, ‘सुदूरको खेलाडीहरूमा एउटा किसिमको जुनून् छ क्रिकेट भनेपछि, उनको कन्फिडेन्स पनि हाई छ अनि सबैको साथ पाएर राम्रो पनि गरेका छन्, राम्रो भयो ।
नरेनले गत महिना भएको नरेश श्रेष्ठ स्मृति यू-१९ क्रिकेट प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरेका थिए । प्रतियोगिताभर उनले ७ खेलमा १६ विकेट लिएका थिए जसमा उनले मधेशविरुद्ध ४ रन दिएर ४ विकेट, कर्णालीविरुद्ध ९ रन दिएर ५ विकेट तथा कोशीविरुद्ध १० रन दिएर ४ विकेट लिनेजस्ता प्रदर्शन गरेका थिए । प्रतियोगिताको उपाधि पनि सुदूरपश्चिमले नै जितेको थियो ।
त्यसैगरी प्रधानमन्त्री कप क्रिकेटमा पनि उनले ९ खेलमा ९ विकेट लिएका थिए । एसिया कप खेल्न जानुअघि भएको कर्नाटकसँगको अभ्यास खेलमा पनि उनले एकै खेलमा चार विकेट पनि लिएका थिए ।
त्यसैगरी यूएईमा भएको एसिया कपमा उनले श्रीलंकाविरुद्ध एक विकेट हात पारेका थिए । उनले ब्याटबाट पनि केही सहयोग गर्न सक्छन् । एसिया कपको अन्तिम खेलमा अफगानिस्तानलाई हराउने क्रममा उनले सर्वाधिक २६ रन बनाएका थिए ।
प्रशिक्षक टमाटा साउदले राम्रो गर्दै गए भविष्यमा नेपालको सिनियर टिमसम्मै पुग्न सक्ने खेलाडी भएको बताए । ‘अहिल्यै त नहोला किनकि सिनियर टिममा जान पनि एउटा सिस्टम छ । सिस्टमा आएर आफूले काम गर्नुपर्यो’ उनले भने ।
नरेनले आजको सुदूरपश्चिमसँगको खेलमा आफ्नो लागि एरासमसको विकेट स्पेशल भएको उल्लेख गरे । नरेनलाई छक्का प्रहार गरेलगत्तै उनले एरासमसलाई आउट गरेका थिए । आगामी खेलमा अझै राम्रो गर्दै जाने नरेनको विश्वास छ ।
आजको खेलबारे कुरा गर्दा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै १६७ रन बनाएको थियो । ब्रान्डन माकमुलेनले अर्धशतकीय पारी खेलेका थिए भने विनोद भण्डारी र दीपेन्द्रसिंह ऐरीले पनि राम्रो पारी खेलेका थिए ।
जवाफमा काठमाण्डु ९४ रनमा अलआउट भयो । सुदूरपश्चिमका नरेनले ५ विकेट तथा अविनाश बोहराले २ लिँदा ब्रान्डन माकमुलेन, सेफ अली जैबले एक-एक विकेट लिए ।
जितबारे बोल्दै जगत टमाटाले २ मा २ जित निकाल्दा उत्साहित रहेको बताए । ‘सबैजनालाई एउटा रोल दिएका थियौं, उनीहरूले त्यो रोलमा राम्रो काम गरिरहेका छन्’ उनले भने, ‘हामीसँग अलराउण्डरहरू पनि छन् राम्रो भइरहेको छ । कमजोर कुनै पनि टिम छैन, जसले राम्रो खेल्यो उसले जित्ने हो’
सुदूरपश्चिमले अब आफ्नो तेस्रो खेलमा शनिबार विहान लुम्बिनीसँग खेल्ने छ । काठमाडौंले भने अब पाँच दिनको ब्रेकपछि लुम्बिनीसँग बुधबार खेल्ने छ ।