विद्यार्थीको उत्कृष्ट गन्तव्य बनेको अष्ट्रेलियाको पछिल्लो नीति के छ ?
१९ मंसिर, काठमाडौं । अष्ट्रेलियाको भिसा लागेका काठमाडौं नयाँबानेश्वरका सोरोज शाक्य उच्च शिक्षाका लागि आगामी जनवरीमा उड्दैछन् । नेपालबाट बीबीए गरेका उनले मास्टर्समा ‘खोजेजस्तो’ कोर्स नपाएको भन्दै अष्ट्रेलिया जान लागेको बताए ।
उनले अष्ट्रेलिया जाने निर्णय गर्नुको अर्को कारण पनि सुनाए । ‘पढ्दै काम गर्दा यहाँ कति कमाइ हुन्छ ? लाखौं खर्च गरेर पढेको हुन्छ तलब २०–२५ हजार हुन्छ । अष्ट्रेलियामा कमाइ पनि त राम्रो हुन्छ,’ उनले भने ।
उनी मात्र होइन नेपाली धेरै विद्यार्थीका लागि अष्ट्रेलिया आकर्षक गन्तव्य बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत तीन महिनाको अवधिमा अष्ट्रेलियाका लागि २ हजार २ सय ६२ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) विद्यार्थीले लिएका छन् । यो तथ्यांक गत साउनदेखि असोजसम्मको हो ।
आर्थिक वर्ष २०८० साउन १ देखि ०८१ असार ३१ सम्म १ लाख १२ हजार ५९३ वटा एनओसीमा अष्ट्रेलियाका लागि मात्र १४ हजार ३७२ वटा एनओसी विद्यार्थीले लिएका छन् । पछिल्लो समय अष्ट्रेलियाले भिसा दिन कडाइ गरेकोसमेत खबर आए । यसको वास्तविकता के हो ? अष्ट्रेलियाको नीति के छ ?
जुन नीति लागू भएन
अष्ट्रेलिया सरकारले २०२५ मा अन्तर्राष्ट्रिय विद्यार्थी कति ल्याउने भनेर विश्वविद्यालय अनुसार संख्या निर्धारण गर्ने नीति लिन खोजेको थियो । तर यो नीति पास भएन । संख्या निर्धारणको बहस उठेपछि केही विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना लिन कम गरेका थिए । यसैको असर नेपालसम्म परेको थियो ।
तर अहिले यो समस्या नरहेको बताउँछन् परामर्श दातृ संस्था ‘द नेक्सट’ कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत शालिकराम भण्डारी । ‘क्याप सिस्टम लागू गर्न खोजेको थियो । जस्तै– कुनै विश्वविद्यालयले ३ हजार, कुनैले ५ हजार, कुनैले १० हजार अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन पाउने भनेर आयो । यो सिस्टम आउने भनेपछि केही विश्वविद्यालयले भर्ना रोकेका थिए । सिस्टम लागू नभएपछि भिसा लागिरहेको छ,’ उनले भने ।
उनका अनुसार नेपालबाट प्रक्रिया गर्दा हाल ९० प्रतिशत विद्यार्थीको भिसा लागिरहेको छ । अष्ट्रेलियाबाट भिसा थपको प्रक्रिया गर्दा ७३ प्रतिशतको भिसा लागेको छ ।
अष्ट्रेलिया पुगेपछि भिसा थप गर्दा भने कम भिसा लाग्ने गरेको छ । ‘उता गएर विद्यार्थीले विश्वविद्यालय, कलेज, कोर्स परिवर्तन गरेको हुन्छ । त्यसोगर्दा भिसा नथप्ने जोखिम हुन्छ,’ उनले भने, ‘नेपालबाटै बढी भिसा लाग्ने गरेको तथ्यांकले देखाउँछ ।’ धेरैलाई अष्ट्रेलिया जान गाह्रो छ भन्ने भाष्य छ तर त्यो गलत रहेको बताउँछन् भण्डारी ।
किन अष्ट्रेलिया जान चाहन्छन् नेपाली ?
नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया पर्नुमा राम्रो डिग्री रहेको बताउँछन् भण्डारी । ‘राम्रो डिग्री लिएर राम्रो करिअर बनाउन विद्यार्थी अष्ट्रेलिया जान चाहन्छन् । अष्ट्रेलियामा धेरै विद्यार्थी पुगेका छन् । त्यता पढ्दै काम गर्ने अवसर छ । कोर्स पूरा भएपछि पनि काम गर्ने पाइन्छ,’ भण्डारीले भने ।
उनका अनुसार अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुले दुई हप्तामा ४८ घण्टा काम गर्न पाउँछन् । ‘यो अवधिमा काम गर्दा राम्रो कमाइ हुन्छ । बिदाको समय पुरै काम गर्न पाइन्छ । त्यसैले विद्यार्थी अष्ट्रेलिया जान इच्छुक हुन्छन्,’ उनले भने, ‘पढाइ सकेपछि कामको अवसर मिल्छ त्यो बेला गएको खर्च उठाउने अवसर छ ।’ तर विद्यार्थीको पहिलो प्राथमिकता कमाइभन्दा पनि पढाइ हो । ‘डिग्री लिएपछिको करिअर सुरक्षित हुन्छ । पहिलो फोकस डिग्री हो त्यसपछि कमाइ हो,’ उनले भने ।
आईएलटीएस र पीटीई
अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्नका लागि तयारी कक्षा महत्त्वपूर्ण हुन्छ । यसका लागि दुई महिनाको आईएलटीएस वा पीटीई गर्नुपर्छ । प्लस टुपछि १ वर्षको ग्याप भयो भने पनि प्रक्रिया अगाडि बढाउन मिल्छ । स्नातकको हकमा भने पढाइको ग्याप ५ वर्ष भए पनि हुन्छ । तर यो अवधिमा आफूले काम गरेको प्रमाण भने आवश्यक पर्छ । योसँगै विश्वविद्यालय, कलेज र कोर्स छनौट पनि विद्यार्थीले हेर्नुपर्ने हुन्छ ।
‘कुन विश्वविद्यालय जाने हो ? कलेज कस्तो छ ? आफ्नो आर्थिक क्षमता कति छ ? छात्रवृत्ति पाइन्छ पाइँदैन भनेर विद्यार्थीले हेर्नुपर्छ । यसका लागि सही परामर्श लिनुपर्छ,’ भण्डारीले भने । सही परामर्श लियो भने अष्ट्रेलिया सही गन्तव्य रहेको उनी बताउँछन् । ‘कन्सल्टेन्सी धेरै छन् । तर सही परामर्श दिने परामर्शदाताकोमा गयो भने सहज हुन्छ,’ उनले भने ।
कति लाग्छ खर्च ?
अष्ट्रेलियामा महँगो र कम खर्च लाग्ने दुवैखाले विश्वविद्यालयहरु छन् । १ वर्षको नेपाली रू. १३ लाखदेखि ३५ लाखसम्म लाग्ने विश्वविद्यालय रहेको बताउँछन् भण्डारी ।
‘आफ्नो आर्थिक क्षमताको आधारमा कलेज रोज्न सकिन्छ । शुल्क कम भएको कलेजमा अप्लाइ गर्दा पनि हुन्छ,’ उनले भने ।
विश्वविद्यालयहरूले छात्रवृृत्ति दिने भएकाले विद्यार्थीलाई राहत मिल्ने उनी बताउँछन् । तर छात्रवृत्ति विश्वविद्यालय अनुसार फरक–फरक हुन्छ । ‘कोहीले थोरैलाई दिन्छ तर शतप्रतिशत दिएको हुन्छ । कोहीले २० देखि ५० प्रतिशतसम्म छात्रवृत्ति दिएको हुन्छ,’ भण्डारीले भने ।
प्लस टुपछि जाने धेरै
१२ कक्षा उत्तीर्ण भएपछि अष्ट्रेलिया जाने नेपालीहरु धेरै छन् । अधिकांश कन्सल्टेन्सीमा परामर्श लिन जानेहरु पनि १२ उत्तीर्ण गरेका विद्यार्थी नै धेरै हुन्छन् । ‘मास्टर्सको लागिभन्दा प्लस टुपछि अष्ट्रेलिया जानेको संख्या धेरै हुन्छ,’ भण्डारीले भने, ‘तर मास्टर्समा जाँदा कम खर्च लाग्छ ।’
‘स्नातक ३ देखि ४ वर्षको हुन्छ । खर्च पनि बढी हुन्छ । मास्टर्सका लागि जाँदा कम खर्च र काम छिटो गर्न पाइन्छ,’ उनले भने ।
‘मास्टर्स लेभल २ वर्षको मात्र हुने भएकाले छिटो काम गर्न पाउँछन् । मास्टर्समा पढ्ने परिपक्व पनि भएको हुन्छ,’ भण्डारीले थपे ।
विद्यार्थी भन्छन्– बाध्यता छ
विदेश जानु रहर नभइ बाध्यता भएको विद्यार्थीहरूको गुनासो छ । नेपालमा राम्रो कोर्स र काम गर्ने वातावरण नभएकाले विदेशिनु परेको उनीहरू बताउँछन् ।
‘देश छोड्ने रहर कसलाई हुन्छ र ? यहाँ राम्रो भएको भए अर्काको देशमा जानुपर्ने थिएन । यता भनेजस्तो नभएकाले अष्ट्रेलिया जान लागेको हुँ,’ अष्ट्रेलिया जाने तयारीमा रहेका नयाँबानेश्वरका सोरोज शाक्यले भने ।
विद्यार्थी बाहिर पठाउन आफूहरूले पनि नचाहेको बताउँछन् भण्डारी । ‘आफ्नो देश राम्रो हुन्छ भने हामी किन बाहिर विद्यार्थी पठाउँछौं । हाम्रा छोराछोरी परिवारसँग बसेर पढ्न पाउनु त खुसीको कुरा हो,’ भण्डारीले भने । त्यो अवसर नेपालमा नभएको भन्दै विदेश जान चाहनेहरुलाई आफूहरुले परामर्श दिने गरेको भण्डारी बताउँछन् ।
अनि फर्किन चाहँदैनन्
नेपालबाट जाँदा उच्च शिक्षापछि ज्ञान र सिप लिएर फर्किने सोच विद्यार्थीको हुन्छ । तर उता पुगेपछि पाउने अवसरले उतै राख्छ । मुख्यतः पढाइसकेपछि दुई-तीन वर्ष काम गर्न पाइन्छ । त्यो अवधिमा अधिकांश विद्यार्थीले पीआरको प्रक्रिया अगाडि बढाउने गरेका छन् । ‘पीआर पाएपछि उतै बस्छन्,’ भण्डारीले भने, ‘नेपालमा फर्किए पनि श्रम अनुसारको मूल्य पाइँदैन भन्ने लागेर विद्यार्थीहरु फर्किन नचाहेका हुनसक्छन् ।’
‘विद्यार्थीले विदेशमा डिग्री पाएपछि सिप लिएर आउनुपर्ने हो । कति फर्किएका पनि छन् । फर्किएका पनि फेरि उतै गएका छन् । यहाँ अवसर नपाएपछि उतै फर्किन्छन्,’ भण्डारीले भने ।