एनपीएल खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द – Online Khabar
१८ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतीय मुलका उन्मुक्त चन्द नेपाल आइपुगेका छन् । मंगलबार राति काठमाडौं आइपुगेका उनलाई विमानस्थलमा टिमका सदस्यहरूले स्वागत गरेका थिए ।
भारतबाट सन् २०१२ को यू-१९ विश्वकपमा कप्तानी गरेका उनले टोलीलाई उपाधि नै दिलाएका थिए । राष्ट्रिय टोलीबाट मौका नपाएका उनले अमेरिका गएर खेल्न थालेका थिए भने अमेरिकी टोलीमा पनि मौका पाउन सकेका छैनन् ।
चन्दले फर्स्ट क्लास क्रिकेटमा ६७ खेल खेल्दा ३३०० भन्दा धेरै रन बनाएका छन् भने लिस्ट ए मा १२० खेल खेल्दा ४५०० भन्दा धेरै रन बनाएका छन् । सबैखाले टी२० मा गरेर ९० खेल खेल्दा १७९५ रन बनाएका छन् ।
उनले अहिले अमेरिकाको मेजर लिग क्रिकेट खेल्नुअघि आइपीएल पनि खेलिसकेका छन् भने बिग ब्यास लिगमा पनि केही खेलहरू खेलेका छन् ।
लुम्बिनीका अन्य विदेशी खेलाडीमा अस्ट्रेलियाका स्टार अलराउण्डर बेन कटिङ, क्यानडाका कीर्तिमानी अलराउण्डर साद बिन जफर, इंग्ल्याण्डका टम मुर्स र वेस्ट इन्डिजका रामोन सिमण्ड्स छन् ।
लुम्बिनीले आफ्नो पहिलो खेलमा बुधबार विराटनगर किंग्ससँग खेल्ने छ ।