‘योर्कर किङ’ जितेन्द्र मुखिया
१२ मंसिर, काठमाडौं । नेपाली क्रिकेट बिरलै त्यस्ता खेलाडी छन् जसले आफ्नो प्रदर्शन र विशेषतामार्फत क्रिकेटिङ उपनान पाएका हुन् । त्यस्तै उपनाम पाउने मध्ये एक हुन् जितेन्द्र मुखिया अर्थात योर्कर किङ ।
कसले बिर्सेको होला र उनले सन् २०१४ को टी२० विश्वकपमा गरेको बलिङ अझ विश्वकप अघि अभ्यास खेलमा उनले आयरल्याण्ड् विरुद्ध बलिङ गर्दा स्टम्प नै भाँचिएको थियो ।
तर पेस बलर जितेन्द्रको क्रिकेट करियर भने सधैँ उस्तै रहेन । उनले बंगलादेशमा नेपालले खेलेको पहिलो टी२० वशिवकप खेले । उत्कृष्ट बलिङ गरे । चर्चा कमाए । त्यसपछि चोटले उनलाई पिडा दियो ।
चोटलाई जितेर फेरि क्रिकेट मैदानमा त फर्किए तर उनको प्रदर्शन पुरानो भने रहेन । उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्थे ।
पछिल्लो समय भने उनी नेपाल छाडेर अष्ट्रिया गए । उनी उतै बस्ने उतै क्रिकेट खेल्ने गर्छन् । जितेन्द्र मात्र होइन आर्मीका सुशन भारी, विक्रम सोब देखि अन्य टिमका क्रिकेट खेलाडीहरुको पनि पछिल्लो समय गन्तव्य अष्ट्रेलिया नै बनेको छ ।
तर उनीहरु नेपाली क्रिकेटबाट टाढिन भने सकेका छैन ।
यही मंसिर १५ गतेदेखि नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण खेल्न जितेन्द्र पनि नेपाल आउँदैछन् । उनलाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ । अब जितेन्द्र सन्दीप लामिछाने, न्युजिल्याण्डका मार्टिन गप्टिल, स्कटल्याण्डका क्रिस सोल, ओमानका आकिब इल्यास जस्ता विदेशी खेलाडीहरुसँगै एनपीएल खेल्नेछन् ।
जितेन्द्रले अष्ट्रेलियाको सट्राथफिल्ड क्रिकेट क्लबबाट त्यहाँ स्थानिय क्रिकेट खेल्न थालेका छन् । उनले जर्जेज रिभर विरुद्ध पहिलो चरणमा पहिलो खेलमै ४ विकेट लिएरका थिए । जहाँ उनले आफ्नो शक्ति योर्करबाट स्टम्प उडाउने काम गरेका थिए ।
जितेन्द्रको क्रिकेट करियर
२०४९ सालमा रौतहट जिल्लाको राजपुर तुल्सीमा जन्मिएका जितेन्द्रले १२ वर्षको उमेरदेखि ब्याट र बल समाएका हुन् । उनका काका हित्ला मुखियाले नै गाउँमा क्रिकेट खेल भित्र्याएका थिए ।
पढ्न भारत गएका हित्लाले सन् १९९६ मा पाकिस्तान, भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको विश्वकप क्रिकेट मैदानमै पुगेर हेरेका थिए । उनी स्वदेश फर्किएपछि ब्याट र बल किनेर गाउँमै युवाहरुलाई खेलाउन थाले ।
काकाकै सहयोग र प्रेरणामा उनले स्कुल पढ्दा नै क्रिकेटसँग रमाउने मौका पाए । एसएलसीपछि क्रिकेट सिक्न भारत जाने भए । यो प्रस्ताव पनि काकाकै थियो । घरमा बाबु-आमालाई मनाउने जिम्मा पनि हित्लाले नै लिए । घर सल्लाहपछि काकासँगै उनी क्रिकेट करिअरलाई अघि बढाउन भारत जाने भए । उनी सिक्नका लागि चेन्नाई गएँ ।
सुरुमा चेन्नाईका लागि पटनाबाट गाडी चढ्ने योजनासहित हिँडेका काका-भतिज पटनाबाटै घर फर्किए ।
पछि १७ वर्षीय जितेन्द्रलाई काका हित्लाले दिल्लीतर्फ लागे । त्यहाँ आरपी क्रिकेट एकेडेमीमा अब्दुल सतारलाई भेटे । उनले जितेन्द्रलाई के गर्छौ भनेर सोध्दा जितेन्द्रले ब्याटिङ, बलिङ दुवै गर्छु भनेर क्रिकेट सिक्न थाले ।
सुरुमा उनी ब्याटिङ अलराउण्डर थिए । प्रशिक्षकलाई बलिङबाट प्रभावित पारे । त्यसपछि उनले बलिङ गर्न थाले ।
एकेडेमीमा उनले सबैलाई प्रभावित पारे अनी सिनियर टिममा बढुवा भए । त्यसपछि उनले विरेन्द्र सेहवागलाई पनि एक घण्टा बलिङ गर्ने अवसर पाए । आरपी एकेडेमीमा उनलाई सबैले चिन्थे । त्यसबेला उनलाई धेरै मालिंगा समेत भन्थे ।
भारतमा अढाई वर्ष क्रिकेट सिकेर उनी नेपाल फर्किए । त्यसपछि उनले नेपालबाट खेल्ने सपना देखे ।
जिल्लाबाट खेल्न थाले । सन् २०११ मा क्षेत्र नम्बर दुईमा टिममा पर्दै काठमाडौं आए । त्यसबेला एकदिवसीय र टी-२० का चार-चार खेल भएका थिए । वान डेमा राम्रो प्रदर्शन गर्न नसके पनि टी-२० मा दोस्रो सर्वाधिक विकेट टेकर बने । त्यही प्रदर्शनका कारण पटक यू-१९ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे । तर अन्तिम १४ मा पर्न सकेनन् ।
संयोग कस्तो भने ठिक त्यही बेला पुबुदु दासानायके नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक भएर नेपाल आए । राष्ट्रिय टिममा एकपछि अर्को अनुहारलाई भित्र्याएका उनको नजरमा जितेन्द्र पनि परे । सन् २०१२ मा पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याम्पमा परे । टिममा नपरेपनि क्याम्पमा रेगुलर पर्न थाले । टिममा पर्न असफल भए । तर उनी क्लोज क्याम्पमा चाहिँ निरन्तर पर्न थाले ।
राष्ट्रिय टिममा डेब्यु देखि विश्वकपसम्म
दुई वर्षदेखि टिममा नपरेपछि निराश पनि भए तर हिम्मत हारेनन् । जितेन्द्रको पालो पनि आइछाड्यो । सन् २०१३ मा युएईमा भएको आईसीसी टी२० विश्वकप छनोटमा जितेन्द्र टिममा परे । उनले डेनमार्कविरुद्ध डेब्यू गर्दै १ विकेट लिए ।
नेपालले २०१४ मा बंगलादेशमा भएको विश्वकपमा स्थान बनाउँदा उनी सर्वाधिक विकेट लिने दोस्रो नेपाली खेलाडी बने । बसन्त रेग्मीले १४ विकेट लिँदा उनले ११ विकेट हात पारे । त्यसपछि उनी टी-२० विश्वकप खेल्न बंगलादेश गए ।
उनले सन् २०१३ मा डेनमार्क विरुद्ध विश्वकप छनोट खेल्दै नेपालका लागि डेब्यु गरेका थिए । त्यसबेला नेपालले टी२० र ओडिआई दुवै मान्यता पाएको थिएन । जसले गर्दा त्यो गणना भएन । सन् २०१४ को टी२० विश्वकपमा नेपालले खेलेको खेलले टी२० आई मान्यता पाउँदा त्यसपछि भने नेपालको टी२० मान्यता थियो ।
डेब्यू विश्वकपमा नेपालले दमदार प्रदर्शन गर्दा जितेन्द्रले पनि त्यहीअनुसार खेल देखाए । पहिलो खेलमा हङकङ विरुद्ध ठिकटाक बलिङ गर्दै १ विकेट लिएका थिए । नेपालको अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दा भने जितेन्द्र मुखिया नै नायक बने । उनले ४ ओभर बलिङ गर्दा १८ रन खर्चेर ३ विकेट लिए । उक्त प्रदर्शनका कारण उनी प्लेअर अफ दि म्याच बने । त्यो उनको लागि स्मरणिय पल बन्न पुग्यो ।
टी२० विश्वकपमा नेपालले दुई खेल जित्दा जितेन्द्रको पनि धेरै चर्चा भएको थियो । त्यसपछि उनले सन् २०१५ मा एक खेल खेल्न पाए । त्यसपछि भने चोटका कारण उनी राष्ट्रिय टिमबाट टाढिए ।
टी-२० विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका जितेन्द्र अर्को वर्ष नेपालले आयरल्यान्ड र स्कटल्यान्डमा ग्लोबल छनोट खेल्दासम्म टिममा थिए । तर, त्यसपछि एकाएक हराए । त्यसको कारण खुलाउँदै जितेन्द्र भन्छन्, ‘सुरुमा टाइफाइड भयो । त्यसपछि एपेन्डिक्स । एकपछि अर्को समस्या आउँदै गर्दा म पछाडि धकेलिँदै गएँ ।’ मुखियाले अनलाइनखबरसँग भनेका थिए ।
उनले नेपालका लागि १० ओडिआई, ३ लिस्ट ए र २१ टी२० खेल खेलेका छन् । नेपालले सन् २०१८ मा पहिलो पटक ओडिआईको मान्तया त पायो तर जितेन्द्रले भने अझै नेपालका लागि ओडिआई खेल्न पाएका छैनन् ।
चोटका कारण लामो समय मैदान बाहिर हुँदा उनलाई पुनरागमन गर्न नै चुनौती बन्यो । राष्ट्रिय टिममा पुनरागमन गर्दा पनि उनले टी२० आई खेल त खेल्न पाए तर अझै पनि ओडिआई टिममा भने स्थान बनाउन सकेनन् ।
राष्ट्रिय टिममा उनीसँगै विश्वकप खेलेका पेस बलर सोमपाल कामी देखि करण केसीले निरन्तर खेल्दा अन्य पेस बलरको लागि टिममा पर्न कठिन भइरहेको छ । पछिल्लो समय गुल्सन झा पेस बलिङ अलराउण्डरको रुपमा टिममा छन् । यस्तै अन् यनयाँ युवा पेस बलर पनि टिममा आइरहँदा जितेन्द्रका लागि अझ चुनौती थपिएको हो ।
उनले पछिल्लो पटक ओमानमा भएको टी२० विश्वकप छनोटमा नेपालका लागि खेलेका थिए ।
उनले १० ओडिआईआईमा १० विकेट लिएका छन् । लिस्ट ए मा ३ खेलमा २ विकेट लिएङ्का उनले २१ टी२० खेलमा २१ विकेट नै लिएका छन् ।
उनले पछिल्लो पटक २०२४ फेब्रुअरीमा प्रधानमन्त्री कप आर्मी टिमबाट खेलेका थिए । त्यसयता उनी अष्ट्रेलिया गए र उतै खेल्न थालेका छन् । अहिले एनपीएलको मौका पारेर नेपाल आएका जितेन्द्रले कस्तो प्रदर्शन गर्छन् त्यो भने हेर्न बाँकी छ ।