सामाजिक सुरक्षा कोषको अर्बौं रकम पूर्वाधारमा लगानी गरौं : निजी क्षेत्र
११ मंसिर, काठमाडौं । निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा रहेको अर्बौं रकम पूर्वाधारमा लगानी गर्न माग गरेको छ ।
सामाजिक सुरक्षा कोषले सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका छाता संगठनका नेताहरूले कोषको रकम पूर्वाधार र उत्पादनशील क्षेत्रमा लगानी गर्न माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषमा अहिले निष्क्रिय बसेको रकम उत्पादनशील र पूर्वाधार क्षेत्रमा लगानी गर्न माग गरे । यसले स्वदेशमै रोजगारी सिर्जनाको वातावरण बन्ने र युवा पलायन रोक्न मद्दत गर्ने उनको भनाइ छ ।
सामाजिक सुरक्षा कोषले छोटो समयमै धेरै रोजगारदाता र श्रमिकलाई समेट्न सक्नुमा निजी क्षेत्रले अपनत्व लिनु एक मुख्य कारण रहेको भन्दै उनले कोषमा निजी क्षेत्रको योगदान अधिक रहेको समेत बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले समेत कोषको रकम उत्पादनशील क्षेत्रमा लगाउन माग गरे । यसले अर्थतन्त्र विस्तारमा समेत योगदान पुग्ने उनको भनाइ छ ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेश अग्रवालले अझै पनि कतिपय संगठित संस्था, बैंक तथा वित्तीय संस्थालाई समेट्न नसकिएको भन्दै त्यसमा काम गर्न सुझाव दिए । यसका लागि कोषमा कानुनी सुधार आवश्यक रहेको उनको भनाइ छ ।
कोषको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म १९ हजार ७ सय ६९ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका छन् । वैदेशिक रोजगारीमा गएका समेत १७ लाख ९७ हजार ६ सय ४० श्रमिक कोषमा आबद्ध छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान भइसकेको छ ।